‘एउटा बूढो रूख’सँग संवाद

Bimala-jiडेढ दशकदेखि कविता लेखिरहेकी मोरङ पथरीकी विमला तुम्खेवा कवितामा आफूलाई बोल्ड रूपमा उभ्याउँछिन् । हालसम्म उनका ‘संस्मरण एउटा बूढो रूखको’, ‘नदी, छाल र तरङ्गहरू’, ‘विमला तुम्खेवाका कविताहरू’ गरी तीन थान कवितासंग्रह प्रकाशित छन् । सपनाको बाटोमा हिँड्दाहिँड्दै काठमान्डुका चिसा र ओसिला गल्लीहरूले उनका कवितालाई एउटा धार दियो, कविताका लयजस्तै उनलाई काठमान्डुले जीवनको लय दियो । बितेका १० वर्षदेखि उनी काठमान्डुमा एक्लै बाँचिन् (भारतमा बस्ने लिम्बू श्रीमान्सँग बेलाबेला भेट हुन्छ र उनलाई छुट दिएका छन् स्वतन्त्र भएर कविताको संसारमा विचरण गर्न) । एक्लै र मात्रै एक्लै हिँड्दाहिँड्दै उनलाई प्रेम गर्न सिकायो काठमान्डुले । त्यही प्रेमलाई उनी लेख्छिन् कवितामा उनेर । जीवन र कवितामा अलि अराजक देखिने तुम्खेवासँग गरिएको वार्ता–

कविता लेखनका पुराना दिन कस्ता थिए ?
मेरो बुबा ब्रिटिस आर्मर्ी हुनुहुन्थ्यो । घरमा पनि कडा वातावरण थियो । त्यसले मलाई विस्तारै स्वतन्त्र र अराजक बनाउँदै लाग्यो । ०५१/५२ सालतिर पूर्वमा धरान, विराटनगर, इटहरी र विर्तामोडवरिपरिका सबै ठाउँमा उतिबेला कविताको माहोल निकै राम्रो थियो । कविता सुन्न, सुनाउन म पथरीदेखि इलामको देवानछापको लामो उकालो जंगलमा एक्लै हिँडेर जान्थेँ । ती दिन अब त मलाई मेरा कविताजत्तिकै पुराना लाग्छन् र मिथकजस्तै लाग्छ सोचिल्याउँदा । साँझ पथरी खोलाको किनारमा पश्चिममा डुब्दै गएको घाम हेर्नु र बगेर गएको पानी नियाल्नुजस्तो सुन्दर अनुभूति त्यसयता मैले भोग्न पाइनँ । त्यसबेला सोच्थेँ, साँझ कहिल्यै नसकियोस् । तर, अहिले त पथरी खोला सुकिगएछ । उतिबेला साँझ झमक्क परिसक्दा मात्रै घर पुग्थेँ । राति अबेलासम्म कवि/साहित्यकारलाई पढ्नु, पढिरहनु । अहा † कम्ती सुन्दर थिएनन् ती समय । तर, ०५५ सालमा हाम्रो घर जल्दा मेरा सबै कविता जलेर खरानी भए । नोस्टाल्जियाले चिमोट्दा म जलिगएका पुराना कविता सम्झन्छु । सोचिल्याउँदा लाग्छ, म एउटा बूढो रूख हुँ जसले भोगेको छ लामा बसन्त, घाम, वर्षा, शीत र तुषारो । त्यसैले मैले कविता लेखेको छु, ‘संस्मरण एउटा बूढो रूखको’ । त्यो कविताकृति मेरो जीवनकै एउटा प्रतिविम्ब हो ।
तपाईंलाई ‘फुल टाइमर’ कवि भनेर केही समयअघि मिडियामा चर्चा गरियो । तर, तपाईं एउटा एनजिओसँग आबद्घ हुनुहुन्छ होइन र ?
–हो चर्चा भएको थियो । एउटा दैनिक पत्रिकाले त्यस्तै लेखेको थियो । अहिले म सञ्चारिका समूहको कोषाअध्यक्ष छु । त्यो महिला पत्रकारहरूको संस्था हो । तर, त्यो मेरो जागिर होइन ।
अरूले तपाईंलाई जनजाति कविहरूको मात्र चर्चा गर्नुहुन्छ भन्छन् । नेपालमा जनजातिबाहेक कवि नै छैनन् ?
भन्छन् होला, मलाई थाहा छैन । तर पहिलो कुरा कविता जातले लेखिने विषय नै होइन, यसमा स्पष्ट हुनुपर्‍यो । मैले आधिकारिक रूपमा त्यसो भनेको छैन । यो देशमा राम्रा र सुन्दर कविता गोपालप्रसाद रिमालले लेखे, शंकर लामिछाने पनि उति नै मन पर्छ । लेखक जातले होइन, उसले लेखेका साहित्यले बाँच्ने हो । मेरो विमति नेपालमा ऐजेरुजसरी हुर्किरहेको साहित्यिक गुटबन्दीप्रति हो । नेपालका लेखक/कविहरू आत्मरतिबाट माथि नउठ्ने हो भने यहाँ स्तरीय साहित्यको ढोका बन्द हुन्छ । गुट/उपगुटले कहिलेसम्म टिक्ने ? छक्क पर्छु म † यो मेरो जवाफ तिनीहरूलाई जसले मेरोबारे आलोचना गरे । म स्पष्ट हुँदाहँुदै जनजाति कविको मात्र किन चर्चा गर्छु ? कविता राम्रो हुन त कविको मन, विचार र सोच राम्रो हुनुपर्‍यो । संसारमै अत्यन्त कम सुन्दर संरचनामध्ये कविता पर्छ । यसले तपाईंलाई प्रेम, आत्मीयता, मानवीयता मात्र सिकाउँछ । म आºनो जात र संस्कारलाई सम्मान गर्छु । तर, म अतिवादी होइन  ।
अहिले संसारभर गद्यको लहर चलिरहेको छ । कविताको भविष्य कस्तो होला ?
संसारमै कविता अत्यन्त बौद्घिक र प्रेमिल मानिसले मन पराउने विधा हो । मलाई यस्तो लाग्दै छ, तपार्इंले नै कविताको शक्तिलाई बुझ्न सक्नुभएन । यो संसारमा जहिलेसम्म प्रेम र विचारबीच द्वन्द्व रहिरहन्छ, कविता पनि रहन्छ । कविता बहस होइन, यो त मुन्धुमजस्तै हो ।
कविता र गद्यको विषयवस्तुमा कुनचाहिँ बढी पुरातन छ ?
जतिबेला मान्छेसँग भाषा थिएन, आºनो माया, घृणा, प्रेम, रिसलाई  त्यतिबेलाको मान्छेले खुट्टा बजारेर, ठूला ढुंगा फोरेर त्यहाँबाट आएको आवाजकै माध्यमले आफूलाई व्यक्त गर्थे भनेर विद्वान् र दार्शनिकले उल्लेख गरेका छन् । संसारकै पुरातन र प्रसिद्घ ग्रन्थ कवितात्मक शैलीमा लेखिएको छ, जस्तै गीता, महाभारत, रामायण, मुन्धुम । सायद कविता र मान्छे सँगसँगै जन्मिए यस संसारमा ।
माटो र साहित्यको सम्बन्ध के छ ?
नीलो सागरजस्तै गहिरो छ कविता र माटोको सम्बन्ध । बुद्घिसागर र राजन मुकारुङले माटोको साहित्य लेखेर नेपाली साहित्यको ट्रेन्ड भत्काइदिए । लेखक बाँच्नका लागि उसको लेखनमा आºनोपन हुनु जरुरी छ । फेरि अहिलेका पाठक निकै चलाख छन्, पाठकलाई छक्याउन कसैले सक्दैन, लेखकभन्दा पाठक सचेत छन् भन्ठान्छु म ।
अहिलेको नेपाली कवितामा देशको राजनीति कहाँनेर अटाएको छ ?
कवितामा प्रमुख भूमिका राजनीतिले नै खेलेको छ । पोलिटिक्स र कविता सँगैसँगै हिँडिरहेका छन् । जसरी दोसं्रो जनआन्दोलनमा श्रवण मुकारुङ कविताबाटै हिट भए । यति हुँदाहुँदै पनि ती कविताको लामो आयुप्रति मलाई शंका छ । सचेत कविले बुझिहाल्छ कविताको आयु ।
अहिले कविता लेखनको धार कता गइरहेको पाउनुभएको छ ?
फेरि मलाई जातिवादी भन्नुहोला भन्ने समस्या । तर, नयाँ चिन्तन, नयाँ शैली र नयाँ धारका कविता जसरी पछिल्लो समय नेपाली कवितामा स्थापित हँुदै छन् । यसको मूल स्रोत विभिन्न जनजातीय मिथक र विम्बहरू नै हुन् ।
नेपाली साहित्यमा महिला लेखिकाको स्थान कहाँनिर छ ?
सन् १८८१ म ललित त्रिपुरासुन्दरी साहित्यमा आइन्, त्यसबेलादेखि अहिलेसम्म महिलाहरूको लेखकीय उपस्थितिलाई हेर्ने हो भने विद्रोहबाटै सुरु भएको देखिन्छ । योगमायाको इतिहास संसारकै महिलाका लागि साहसको प्रतीक हो । तर, अब पारिजातकै मात्र नाम लिएर नेपाली लेखिका कहिलेसम्म बाँच्ने ? अब वैचारिक र लेखकीय रूपमा आफूलाई ननिखारी अरू उपाय छैन । लेखिकाहरूले अब पनि चुलोचौको र कोठाभित्रको साँघुरो परिवेश, पारिवारिक गनगन मात्र लेख्ने हो भने नलेखे हुन्छ ।
सुन्दर ‘प्रेम–कविता’ प्रेम सफल भएपछि लेखिन्छ कि असफल भएपछि ?
सायद दुईवटा पक्षलाई अनुभव गरेपछि एउटा राम्रो कविले अझ सुन्दर कविता लेख्न सक्छ । तर, राम्रो लेख्न प्रेम र विचार दुवैको बलियो समिश्रण हुनु जरुरी छ ।
एकताका खुब मदिरा पिउनुहुन्थ्यो रे ! तपाईंलाई मदिरा र कवितामा कसले बढी लठ्याउँछ ?
हो एकताका खुब मदिरा पिउँथेँ । तर, तपाईंले भनेझैँ होइन । मदिरा मेरो जरुरत होइन, जसरी कविता मेरो कमजोरी हो । म त लिम्बूकी छोरी ! जन्मिँदा, बिहे हँुदा र मर्दा सबै विशेष अवसरमा रक्सी चाहिन्छ । लिम्बूहरूको घरमा पाहुना आइपुगे सम्मान गरेर तोङ्बा र रक्सी अनिवार्य रूपमा राख्नुपर्छ नत्र ठूलो अपमान ठहरिन्छ । फेरि म मेरो संस्कारलाई माया गर्ने मान्छे, लिम्बू समाज फराकिलो र उदार छ । अरू समुदायका निम्ति छोरी मान्छेले रक्सी खानु भनेको पतित नै भैजानुजस्तै हो । तर, हाम्रो संस्कारमा चेली, माइती, छोरी, ज्वाइँ सबै एकैठाउँ बसेर उत्सव मनाउँछन् । लिम्बू समाजमा छोरी मान्छेलाई इज्जत र सम्मान दिन्छन् । रक्सी त हाम्रो समाजको सुन्दर विम्ब हो ।
आफ्ना कवितामा समकालीन कवि साथीहरूको प्रभाव कत्तिको परेको अनुभव गर्नुभएको छ ?
फुत्किएर लेख्न कम्ती मुस्किल छैन, त्यो पाठकलाई नै सोध्नुहोस् ।

प्रतिक्रिया