चुनावको तयारीबारे रेग्मीसँग बुझ्ने

काठमाडौं, ११ जेठ । उच्चस्तरीय राजनीतिक समितिले आइतबार संविधानसभा चुनावको तयारीका विषयमा अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग बुझ्ने भएको छ । निर्वाचन ऐनलाई लिएर आपैँm विवादमा अल्झिएको उच्चस्तरीय समितिले त्यसको प्रगति तथा अन्य राजनीतिक दलसँगको छलफलबारे आइतबार अध्यक्ष रेग्मी र सरकारी वार्ता टोलीसँग जानकारी लिन लागेको हो ।
शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकले चुनावसम्बन्धी कानुनी मस्यौदाका विषयमा सरकारका तर्फबाट भएको वार्ता र प्रगतिबारे जानकारी लिन अध्यक्ष रेग्मीसँग छलफल गर्ने निर्णय गरेको हो । नयाँ बानेश्वरमा शुक्रबार साँझ समितिको बैठक बसेको थियो ।
सरकारले निर्वाचन ऐनको प्रस्तावित मस्यौदामा देखिएका थ्रेसहोल्ड, निर्वाचन क्षेत्र, उम्मेदवारको योग्यतालगायतका विषयमा समितिमा सहभागी तथा सरकारविरोधी दलका शीर्ष नेताहरूसँग छलफल गरिसकेको छ । विभिन्न दलका नेताहरूसँग बेग्लाबेग्लै भएको छलफलबारे रेग्मीले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूलाई जानकारीसमेत गराइसकेका छन् । नेताहरूसँगको छलफलमा रेग्मीले निर्वाचन ऐनमा देखिएको विवाद समाधानका लागि सरकारभन्दा पनि दलका नेताहरू नै अग्रसर हुनुपर्नेमा जोड दिँदै ऐनमा सहमति जनाई चुनावी माहोल बनाउन आग्रह गरेका थिए ।
शुक्रबार समितिको बैठकमा दलका नेताहरूसँग रेग्मीले गरेको आग्रहबारे पनि छलफल भएको थियो । बैठकमा सहभागी नेताहरूका अनुसार निर्वाचन ऐनमा देखिएका विवादित विषय तथा त्यसबारे सरकार प्रमुखले गरेको परामर्शबारे छलफल भएको थियो । सरकारले सबै पक्षसँग छलफल गरेकाले सहमतिका लागि के कति प्रगति भयो त्यसबारे जानकारी लिन आइतबार सरकारसँग छलफल गर्ने निर्णय भएको कांग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिए ।
नेता रिजालका अनुसार समितिका सदस्यले अध्यक्ष रेग्मी र सरकारी वार्ता टोलीसँगको बैठकपछि साँझ पुन: समितिको बैठक बसी विवादित सबै मुद्दालाई कसरी सम्बोधन गर्नेबारे छलफल हुनेछ । ‘संविधानसभा चुनावका विषयमा सरकारले वार्ता टोली नै गठन गरेर विभिन्न दलसँग छलफल गरिरहेको छ । समितिका तर्फबाट शीर्ष नेताले पनि दलसँग छलफल गरिरहनुभएको छ,’ नेता रिजालले बैठकपछि भने, ‘ती छलफलमा भएको प्रगतिबारे जानकारी आदान–प्रदान गर्नाका साथै चार दलबीचको छलफलबारे पनि मन्त्रिपरिषद्का अध्यक्षलाई भेटेर जानकारी दिने निर्णय गरेका छौँ ।’
निर्वाचन ऐनमा उल्लेख गरिने विभिन्न विषयमा समितिमै रहेका नेताहरूबीच विवाद भएका कारण यसले निकास पाउन सकेको छैन । समितिमा एमाले र कांग्रेस एकातिर तथा एकीकृत माओवादी र मधेसी मोर्चा अर्कोतिर छन् । सरकारले दुवै पक्षका नेताहरूलाई अडान त्याग्न लगाई बीचको बाटो खोज्ने प्रयास गरिरहेको जनाएको छ । निर्वाचन ऐनमा दलहरूबीच सहमति हुन नसक्दा सरकारले चुनावको मिति घोषणा गर्न सकेको छैन भने निर्वाचन आयोगले पनि चुनावसम्बन्धी कामलाई अघि बढाउन सकेको छैन ।
निर्वाचन क्षेत्र निर्धारणका विषयमा पनि समितिमै रहेका दलहरूबीच कुरा मिल्न सकेको छैन । सरकारले यी सबै विषयमा दलहरूबीच सहमतिमा पुग्न बारम्बार आग्रह गर्दै आएको छ । समिति बैठकमा सहभागी एक नेताले भने, ‘ती सबै विवादित विषयमा आइतबार छलफल गरेर समितिमा रहेका सबै दलको साझा धारणा बनाउन पहल गरिनेछ ।’
यसैगरी बैठकले चुनावको मिति घोषणा गर्नुपर्नेलगायतका माग राखी आमरण अनसन बसेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई अनशन फिर्ता लिन आग्रह गरेको एमाले नेता रघुजी पन्तले जानकारी दिए । दलहरू चुनावको मिति घोषणाका लागि नै छलफलमा रहेकाले अनशन फिर्ता लिएर वार्तामा बस्न महतोलाई बैठकले आग्रह गरेको नेता पन्तले बताए । उनका अनुसार चुनावको मिति घोषणालगायतका विषयमा निर्णय गर्न समितिले सरकारसँग छलफल गर्ने भएकाले पनि अनशन फिर्ता लिएर वार्तामा आउन आग्रह गरिएको हो ।
एमाले अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा बसेको बैठकमा खनालले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । उनले समितिमा रहेको सबै दलबीच एक मत नरहेको समस्या देखिएको भन्दै विवादित विषयलाई तत्काल समाधान गरी चुनावको मिति घोषणा गर्नका लागि सरकारलाई आग्रह गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया