अवैध पैसा असुल्दै ट्राफिक

trafficधनगढी, ९ जेठ । दिन प्रतिदिन सवारी दुर्घटना हुन थालेपछि लागू गरेको टाइम कार्ड पछिल्लो समय स्वयं ट्राफिक प्रहरीलाई कमाई खाने भरपर्दो माध्यम बनेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका रूटमा तीव्र गतिका कारण विशेषगरी यात्रुबाहक बस बढी दुर्घटना हुनेगरेका थिए ।
सबैतिरबाट तीव्र गतिका कारण सवारी दुर्घटना हुनेगरेको जनगुनासो आएपछि सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले १ वैशाखदेखि भीमदत्त राजमार्गअन्तर्गत कैलालीको अत्तरियादेखि डडेलधुराको स्याउलेसम्म निश्चित समय तोकेर टाइमकार्ड लागूगरेको थियो ।
सुरुका केही दिन टाइमकार्ड प्रभावकारी रूपमा लागू गरिए पनि पछिल्लो समयमा भने स्वयं ड्युटीमा खटिएका ट्राफिक प्रहरीले समय थपघट गरी बसबाट पैसा लिएर छोड्ने गरेको यात्रुले बताएका छन् । ट्राफिक प्रहरीले प्रति बस न्यूनतम एक सयदेखि पाँच सयसम्म लिएर बसको टाइम थपघट गरिदिने गरेको बस व्यवसायीले बताए ।
क्षेत्रीय ट्राफिक कार्यालयले अत्तरियादेखि स्याउँलेसम्म कम्तिमा ६ घन्टाको समय तोकेको छ । यसअन्तर्गत अत्तरियादेखि स्याउँलेसम्मको ६० किलोमिटरमा न्यूनतम तीन घन्टा र स्याउँलेदेखि बुडरसम्मको ६० किलोमिटरमा पनि न्यूनत्तम तीन घन्टा अनिवार्य लगाउनुपर्ने गरी ६ घन्टा तोकेर ट्राफिक प्रहरीले टाइमकार्ड दिने गरेको छ । यो रूटमा दिनहुँ दर्जनौँको संख्यामा बस आवतजावत गर्छन् ।
बस व्यवसायी, नागरिक समाजका प्रतिनिधि र अन्य सरोकारवालाको छलफल तथा समन्वयमा ट्राफिक प्रहरीले उक्त समयसीमा तोकी टाइम कार्डको व्यवस्था गरेको थियो । पहाडी रूट त्यसैमा घुमाउरो र साघुँरो बाटो त्यसैमा तीव्र गतिसँग सवारी हाक्नाले दुर्घटना बढी हुने हुनाले टाइम कार्डको व्यवस्था गरिएको ट्राफिक प्रहरीको भनाइ छ । तर, बस चालकले छोटो दूरीमा बढी समय तोकेको र बाटोमा समय कटाउन अप्ठ्यारो हुने गरेको भन्दै डयुटीमा रहेका ट्राफिक प्रहरीलाई पैसा दिएर समय बढाई माग्ने गरेपछि आफूहरूले पनि बाध्य भएर त्यसो गर्नुपरेको नाम नखुलाउने सर्तमा एक ट्राफिक प्रहरीले बताए ।
‘माथिल्लो तहकाले आफूहरूले मात्र चाहेर केही नहुने भन्दै पैसा लिएर टाइम कार्डमा चालकले भनेअनुसार समय लेख्न मौखिक रूपमा भनेपछि ड्युटीमा खटिने प्रहरीले पनि पैसा लिएर समय बढाई दिनेगरेको हो,’ उनले भने, ‘समय बढाएर लिएको पैसा ड्युटीमा खटिएका सबैले ड्युटी सकिएपछि सिधै उपल्लो दर्जाका अधिकृतसमक्ष बुझाउने गर्छौँ ।’
न्यूनतम ६ घन्टा अनिवार्य समयसीमा तोकेको यो रूटमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई पैसा दिएपछि बढीमा चार घन्टामै बस पार हुने गरेका छन् । यसले गर्दा आफूहरूलाई दुर्घटनाको त्रासले सताउने गरेको बझाङबाट धनगढी आएका हिमालय जोशीले बताए ।
सबै पक्षसँगको छलफल र समन्वयमा लागू गरेको नियम चालक र राजमार्गमा रहेका ट्राफिक प्रहरीको मिलेमतोमा उल्लंघन भइरहेको छ । यसले गर्दा यात्रुहरूले यात्रामा झन् खतरा महसुस गरेको जोशीले गुनासो गरे । ड्युटीमा खटिएका ट्राफिकले आधा घन्टा समय बढाएको दुई सय र एक घन्टा बढाएको पाँच सय रुपियाँ आधा घन्टाभन्दा तलको एक सय लिने गरेको एक बस चालकले बताए । उनका अनुसार २ बजे ट्राफिक पोस्टमा बस पुग्यो भने १ बजे पुगेको भनेर टाइमकार्ड दिने गरिएको छ । ट्राफिकले पहाडी रूटबाट आउँदा स्याउँले र बुडर तथा तराईबाट जाँदा अत्तरिया र बुडरमा समय थपघट गर्ने गरेको छ ।
ट्राफिकले तोकेको ६ घन्टाको समयका कारण दुई घन्टा ढिलो हुने र बीचमा छिटो गए अन्य यात्रुहरू पनि पाइने तथा अरू काममा पनि प्रभाव पर्ने भएकोले पैसा दिएर भए पनि समय थपघट गरी माग्ने गरेको गरेको बस चालकले बताए । यसले गर्दा बसमा बढी यात्रु र व्यापारिक सामान भए पनि ट्राफिक प्रहरीले केही नगर्ने भएपछि पैसा दिएर निर्बाध रूपमा आफ्नो गन्तव्यतिर जान सहज भएको उनीहरूको भनाइ छ । यसबारे अत्तरियास्थित सुदूरपश्चिम ट्राफिक प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले दुर्घटना रोक्न आफूहरूले अनिवार्य टाइमकार्डको व्यवस्था गरेपछि केही बस चालकले फैलाएको हल्ला मात्र हो भने । उनले चालकलाई तीन घन्टामा पुगिने ठाउँमा ६ घन्टा लाग्ने भएपछि रिसले ट्राफिक प्रहरीलाई पैसा खाएर समय थपघट गर्ने गरेको हल्ला फैलाएको बताए । आफूले टाइमकार्ड लागूगरेपछि वैशाख यता बस दुर्घटनामा उल्लेख्य कमी आएको र कसैबाट पनि टाइमकार्डको दुरूपयोग नहोस् भनेर बेलाबेलामा सम्बन्धित ट्राफिक पोस्टमा सादा पौसाकमै गएर अनुगमन तथा मूल्यांकन गर्नेगरेको बस्यालको भनाइ छ ।

प्रतिक्रिया