जो बेचिरहेछन् सौभाग्य

Gulam-Husenउनी सौभाग्य बेचिरहेका छन् । झट्ट सुन्दा असहज लाग्न सक्छ । सौभाग्य पनि बिक्ने कुरा हो ? तर, उनको व्यवसाय नै त्यही हो । सौभाग्यको विनिमय नगदमा गरेरै उनको परिवार धानिएको छ । खासमा उनी हिन्दू परम्पराले सौभाग्यको प्रतीक मान्ने चुरापोते बेचिरहेछन् । ४५ वर्षको व्यापारिक यात्राका क्रममा बेहुलीको शृंगार खोज्दै उनको पसलमा आइपुगेका नारीमध्ये कतिको सिउँदो पुछियो होला । सौभाग्यस्वरूप पतिको देहावसानसँगै त्यहाँबाट बेचिएका काँचका चुरा कति फुटाइए होलान् ? कति नारीले ‘अभागिनी’ बन्नुपर्‍यो होला ? यस्ता कुराको लेखाजोखा गरेर भावनामा डुब्यो भने उनले व्यवसाय अघि बढाउन सक्दैनन् । गोलाकार चुराझैँ उनको व्यवसाय पनि नियमित उही वृत्तमा घुमिरहेछ, वर्षौंदेखि । हिन्दू संस्कारका तिनै सौभाग्य सामग्रीहरूभित्रबाट जीविका सुरक्षित गरिरहेछन्, मुस्लिम नागरिक गुलाम हुसेन ।
इन्द्रचोक, मुख्य व्यापारिक केन्द्रमध्ये एक । मिलेसम्म सबै ग्राहकलाई आफ्नो मात्रै पेवा बनाउँ झैँ गरी प्रतिस्पर्धामा व्यस्त रहेका व्यापारिक भीड । यो भीडमा गुलाम हुसेन भने निकै ढुक्क देखिन्थे । न त कुनै हतारो नै थियो उनलाई । सोमबार आफ्नो चुरापसलभित्र चुरोट तान्दै अर्का एक व्यवसायीसँग गफिँदै थिए । मनभित्र हजारौँ तर्कना हुँदा हुन् । ग्राहक बढेघटेको लेखाजोखा पक्कै गर्दा हुन् । तर, पनि मनभित्रको उकुसमुकुस हत्तपत्त खोल्न चाहेनन् उनले ।
४५ वर्षयताको जीविकाको आधार त्यही चुरा व्यवसाय हो, उनको । मुस्लिम समुदायका हुसेन, त्यसमाथि पुरुष । तर, पनि हिन्दू महिलाले लगाउने चुराको फेसन, बनावट र डिजाइनबारे खारिएका छन् । कुन हातलाई कत्रो साइज र कलर म्याच हुन्छ, ठ्याक्कै मिलाइदिन्छन् । वर्षौंदेखिको अनुभवले दिएको दक्षता । सोकेस चुराको खातले भरिएको छ । मुख्य व्यवसाय चुरा भए पनि हिन्दू धार्मिक संस्कारमा प्रयोग गरिने सोह्र शृंगारका सबै वस्तुहरू उनको पसलमा छन् । सुरुआत चुराबाट गरे पनि विस्तारै सदुवा महिलाका लागि चाहिने सम्पूर्ण सौभाग्य प्रतीक समेटेर व्यावसायिक प्रतिस्पर्धामा उत्रिएका रहेछन् उनी ।
‘नारीको सुहागको चिज चुरापोते हो । मेरो पसलबाट सबैभन्दा धेरै रातो चुरा बिक्छन्’, दैनिक बिक्रीको लेखाजोखा छोटकरीमा गर्दै उनले भने, ‘बीस रुपियाँ दर्जनमा पाइनेदेखि महँगासम्म चुरा छन् अहिले ।’ अनि, पहिले ? ‘पहिलेको कुरै नगरौँ, एक मोहरमा दर्जन चुरा मेरै हातले बेचेको हो’, ठमेलमा सानो चुरा पसल राखेर व्यवसाय सुरु गर्दाताकाका दिनमा फर्किए, ‘मेरो बुबा पहिलेदेखि चुरा व्यापारी हुनुहुन्थ्यो । ठमेलमा सानो चुरा पसल थियो हाम्रो । मैले पढ्न पाइनँ । बाल्यकालदेखि नै बुबाकै काम सिक्न थालेँ । हामी बिहान छ बजेअघि नै पसल खोल्थ्यौँ त्यतिबेला । गाउँगाउँमा गाडी आउजाउ गर्ने सुविधा पनि थिएन । मान्छेहरू भारी बोकेर सहर आउँथे । बिहान सबेरै आउने आइमाईलाई चुरा बेच्न पसल पनि बिहानै खोल्नुपथ्र्यो । अहिलेजस्तो दश बज्दैनथ्यो पसल खोल्दा । काठमाडौंमा धेरै पसल थिएनन् । मुस्किलले छवटा जति चुरापसल थिए होलान् ।’
अहिले त जमाना फेरियो । ठमेलबाट इन्द्रचोकमा व्यापार सारे हुसेनले । ४५ वर्षको अन्तरालमा एक व्यापारीको आँखाबाट उनी नेपाली समाजको फेसन प्रवृत्तिमा आएको परिवर्तन नियालिरहेका छन् । भलै सिद्धान्तमा आधारित भएर हुसेनले यो परिवर्तनलाई विश्लेषण गर्न नसक्लान् । तर, आफ्नै अनुभवलाई सिधा सुनाउँदा पनि नेपाली समाजले तय गरेको रूपान्तरणको यो अध्याय खुलाउन सक्छन् । ‘पहिले धेरै मोटा चुरा बिक्री हुन्थे । लामो समयसम्म टिक्थ्यो । महिलाहरू टिक्ने चुरा खोज्दै हामीकहाँ आइपुग्थे । अहिले, धेरै डिजाइनका चुरा आउँछन् । काँच, मेटल लाह (माटो) का चुरा । तिनीहरूमा टिकाउपन पटक्कै हुँदैन । तर, धेरै डिजाइनका झिल्केमिल्के हुन्छन् । कपडाको कलर, डिजाइनअनुसार म्याचिङ हुने चुरा आउँछन् अहिले । पहिलेजस्तो सुनको केही मात्रा मिसाएर जलप गरिएको चुरा ग्राहकले अहिले खोज्दैनन् ।’ बट्टामा थन्किएका बीस रुपियाँ जोडीका चुरा देखाउँदै हुसेनले खरिब–बिक्रीमा आएको ग्राहकीय परिवर्तन यसरी खुलाए, ‘यी चुरा टिकाउ हुन्छन्, तर ग्राहकले नकिनेर हामीसँग स्टक बसेका छन् ।’
०००
सोमबार हुसेन कुनै फाइनान्सका कर्मचारीसँग ऋण माग गर्ने फारम ल्याइदिन भनिरहेका थिए । ‘बिक्रीदर र व्यापार पहिलेभन्दा बढेको छ तर अहिले नाफा छैन’, ऋण लिनुपर्ने बाध्यता सुनाउँदै उनले थपे, ‘६ वटाबाट बढेर सयौँ चुरापसल भएका छन् । प्रतिस्पर्धा बढेपछि कम नाफामा पनि सामान बेच्नुपर्‍यो ।’ लामो व्यावसायिक जीवनको खुड्किलो पार गरिसक्दा पनि आफ्नो कामप्रति उति सन्तुुष्ट छैनन् हुसेन । ६५ वर्षको उमेरमा आइपुग्दा पनि पढ्न नपाएकोमा थकथक मानिरहन्छन् । ‘पढ्न पा’को भए यो चुरा बेचेर को बस्थ्यो भन्नुस् त ?’, आफ्नै जीवनप्रति प्रश्न तेस्र्याए ।
भारतको फिरौजावादमा बनेको चुरा खरिद गरेर नेपालमा बिक्री गर्छन् उनी । व्यावसायिक जीवनमा धेरै ग्राहकसँग संगत गरे  । कति त उनका पकेटका ग्राहक छन् । तर, अझै ग्राहकको व्यवहार बुझ्न सक्दैनन् रे उनी । ‘थरीथरीका ग्राहक आउँछन्, कसैलाई बुझ्नै सकिँदैन’, वर्षौंदेखि ग्राहकको व्यवहार पढिरहेका हुसेन भन्छन्, ‘दिनदिनै नयाँ व्यवहार भएका व्यक्ति मेरो ग्राहक हुन्छन् ।’ स्थापित व्यवसायी भएपनि धेरै चिप्लो घसेर व्यापार गर्न जान्दैनन् रे † हुन पनि बोल्ने शैली अलि खरो छ । तर, ग्राहकले रुचाएकै छन् । ‘ग्राहक त भगवान् नै हुन् नि, सकेसम्म व्यवहारले सन्तुष्टि दिने गर्छु । सामानको गुणस्तर र उपयुक्त मूल्य मेरो सेवा हो ।’
हुसेनले व्यवसायसँगै आफ्नो पारिवारिक जीवन अघि बढाए । तर, उनले पिताले झैँ आफ्ना सन्तानलाई एउटै काममा लगाएका छैनन् । आफ्ना छोराछोरी एउटै पेसामा नभए पनि धेरै चुरापोते व्यवसायी भने जन्माएका छन् । चुरा र कस्मेटिक सामग्रीको बिक्री अनुभव सिकाएर थुप्रैलाई व्यवसायको बाटोमा लम्काएका छन् । कति व्यवसायी–सन्तान जन्माए त उनले ? ‘कति जनाले मसँग सिके कुनै लेखाजोखा नै छैन,’ हुसेन भन्छन्, ‘महिनैजसो नयाँ काम गर्ने भाइबहिनी आउँछन् अनि राम्रो अवसर खोजेर अन्त जान्छन् ।’
थोक र खुद्रा दुवै बिक्री गर्ने हुसेनको पसल असनको पुरानो शैलीको घरको भुइँतलामा  छ । धेरै नसजाइएको सानो पसलमा तीनसहयोगीलाई भ्याइनभ्याइ हुन्छ । उनीहरूको सेवामा उत्साह दिन काउन्टरमा उनी बसिरहेका हुन्छन् । ब्याकग्राउन्डमा चुराका बन्डल मिलाएर राखिएका छन् । टेबलमा एक बट्टा चुरोट टुट्दैन । फुर्सद पायो कि सल्काउन बिर्संदैनन् । ‘चुरोट र चिया त मेरो साथी’। उनले भने । ग्राहकले अप्ठ्यारो मानेझैँ लागे पसलबाट फुत्त बाहिर निस्किएर पनि चुरोटको सर्को लगाइहाल्छन् । चुरोटको लतमा रमाइरहँदा पनि उनको मस्तिष्कले चुराको बिक्री अनि खरिदको लेखाजोखाचाहिँ गरिरहेकै हुन्छ ।
असनका पुराना चुरा व्यवसायी हुसेन ६५ वर्ष पुगिसक्दा पनि व्यवसायकै भ्याइनभ्याइमा छन् । उनलाई चुराको आकार अनि साइजसँग आफ्नो जीवनको लम्बाइ हिसाबकिताब गर्ने कुनै फुर्सद छैन, न त चाहना नै । जीवनको साढे चार दशकले उनलाई व्यवसायकै अनुभव दियो । भारतको फिरौजावादबाट विभिन्न आकारका चुरा खरिद गरेर त्यसको नाफाघाटा लेखाजोखा गर्न मात्रै सिके उनले । भलै अहिले पसलमै सामान पुर्‍याउन विभिन्न कम्पनीबाट आइपुग्छन् । यी १६ शृंगारका सौन्दर्य सामग्रीहरूले घेरिइरहँदा कुनै बखत उनले आफ्नो व्यवसायलाई धर्मको तराजुमा राखेर जोखे कि जोखेनन् होला ? पक्कै जोखेनन् । उनको व्यावसायिक व्यवहार हेर्दै लाग्छ– एउटा व्यवसायीभन्दा अरू कुनै तराजुमा तौलने कोसिस उनले अहिलेसम्म गरेका छैनन् । त्यसैले त भन्छन्, ‘म विशुद्ध व्यापारी मात्रै हुँ ।’

प्रतिक्रिया