राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि पार्टी एकता : थापा

Surya bd Thapaकाठमाडौं, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर थापाले दुई पार्टीबीच एकीकरणको मुख्य उद्देश्य राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्ने भएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन समापनमा बोल्दै नवनिर्वाचित अध्यक्ष थापाले पार्टी–पार्टीबीच गठबन्धन गर्दै जानु अहिले राष्ट्रको आवश्यकता भएको र यसले संगठनलाई समेत बलियो बनाउने बताए । आगामी मंसिरको पहिलो साता चुनाव हुने भएकाले देशव्यापी रूपमा निर्वाचनको अभियान थाल्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
‘संविधानसभा चुनावको विकल्प छैन । चुनाव हुने सन्देश लिएर सबै जना जिल्ला जिल्लामा जानुस् । राष्ट्रवादी शक्तिलाई चुनावमा विजयी गराउनुपर्छ,’ अध्यक्ष थापाले भने । राप्रपा उच्चस्तरीय समितिका सदस्य पशुपतिशम्शेर जबराले तीन वर्षको प्रयासपछि दुई पार्टीबीच एकता भएको बताए । संविधानसभा चुनावमा पार्टीलाई बलियो बनाउनका लागि अभियान थाल्नुपर्ने उनले बताए ।
पूर्वप्रधानम्न्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रको चुनौतीलाई मुकाबिला गर्न दुई पार्टीबीच एकता भएको बताए । ‘ठूला दलले जनता र संविधानको उपहास गरेकाले राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने यसको मुख्य उद्देश्य हो,’ उनले भने ।

प्रतिक्रिया