सुन्दरबजारमा खानेपानी प्रशोधन केन्द्र

लमजुङ : लमजुङको सुन्दरबजारका बासिन्दाले सतप्रतिशत शुद्ध खानेपानी पाउन थालेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लमजुङको सहयोग र सुन्दरबजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सक्रियतामा त्यहाँका बासिन्दाले शुद्ध खानेपानी उपभोग गर्न पाएका हुन् ।
खानेपानी प्रशोधन केन्द्र निर्माणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत नेपाल सरकारले एक करोड २७ लाख ७९ हजार ६ सय रुपियाँ उपलब्ध गराएको थियो । उपभोक्ता समितिले तीन लाख नगद र २७ लाख रुपियाँबराबरको तीन रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएको थियो । यसअघिसम्म किरिन्चे खोलाको पानी सिधै उपभोक्ताको धारामा खस्ने गरेकामा अब प्रशोधन केन्द्र निर्माणपछि प्रशोधन भई शतप्रतिशत शुद्ध भएर धारामा खस्न थालेको छ ।
सुन्दरबजारबाट ११ किलोमिटर टाढाको किरिन्चे खोलाबाट ल्याइएको पानीलाई प्रशोधन केन्द्रमा खसाली प्लेन सेडिमेन्टेसन, रफिनिङ फिल्टर, स्लो स्यान्ड फिल्टर र क्लोरिनेसन युनिट विधिबाट शतप्रतिशत शुद्ध बनाएर प्रतिसेकेन्ड पाँच लिटरको दरले टयांकीमा खसालिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लमजुङका डिभिजन इन्जिनियर केशवलाल शाक्यले बताए । सो पानी सुन्दरबजारका सात सय घरधुरीमा वितरण गरिएको छ । सो प्रशोधन केन्द्र दैनिक सात लाख लिटर धमिलो पानी प्रशोधन गर्न सक्ने क्षमताको रहेको र सुख्खायाममा दैनिक चार लाख ३२ हजार लिटर पानी प्रशोधन गर्नसक्ने शाक्यले जानकारी दिए ।

प्रतिक्रिया