इलाममा एमआरपी लिने बढे

Passport Nepaliइलाम, ८ जेठ । इलाममा मेसिनरिडेबल पासपोर्ट (एमआरपी) बनाउनेको संख्या बढेको छ । विगतका तुलनामा अहिले दोब्बर संख्यामा एमआरपी बनाउने गरेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
कार्यालयका अनुसार अहिले दैनिक २५ देखि ३५ जनाले एमआरपीको सिफारिस लिने गरेका छन् । गत वर्ष यही समयमा दैनिक १० देखि १५ जनासम्म मात्र एमआरपीको सिफारिस लिन आउने गरेका थिए । एमआरपीको सिफारस लिनेमध्ये दैनिक पाँचदेखि सात जना महिला रहेको कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको सुरुवातमै एमआरपी बनाउने युवाको संख्या बढेको हो । वैशाखमा मात्र तीन सय ४८ जनाले एमआरपीको सिफारिस लिइसकेको कार्यालयका नायब सुब्बा विनोदबाबु विसीले जानकारी दिए । सिफारिस लिएकामध्ये ५८ जनाले एमआरपी प्राप्त गरिसकेका छन् । एक सय ६ जनाको आउने क्रममा रहेको जनाइएको छ । उनका अनुसार गत वर्ष वैशाखमा एमआरपी लिनेको तुलनामा यो दोब्बर हो । गत वर्ष यही महिनामा दुई सय ७६ जनाले मात्र एमआरपीको सिफारिस लिएका थिए ।
गत वर्ष जिल्लाबाट पाँच हजार पाँच सय ५८ जनाले एमआरपी लिएका थिए । अघिल्लो वर्ष ०६८ मा दुई हजार दुई सय ९० जनाले मात्र एमआरपी लिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । एमआरपी बनाउनेमध्ये वैदेशिक रोजगारीका लागि बाहिरी मुलुक जाने युवाको संख्या अधिक छ । गाउँमा रोजगारी नभएकाले विदेश जान एमआरपीको सिफारिस लिन आएको इरांैटार–७ का २७ वर्षीय कर्ण लेप्चा भन्छन्, ‘गाउँ छाडेर बिदेसिने मन त छैन, गाउँमै खेतीपाती गरी बसौँ भन्दा जग्गा पनि छैन । जागिर खाऔं भने त्यो पनि पाइँदैन । अनि के गर्ने ?’ उनी भन्छन्, ‘विदेश गइयो भने त दुई/चार वर्ष बस्दा सामान्य त कमाइएला नि †’
एमआरपी बनाउन सिफारिस लिनेमा सबैभन्दा बढी जिल्लाको दानाबारी, चुलाचुली, महमाई, बाँझोलगायत रहेको कार्यालयले जनाएको छ । ‘केही दिनयता एमआरपीको सिफारिस लिनेको संख्यामा वृद्धि भएको छ,’ प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले भने, ‘बढ्दो बेरोजगारी समस्याका कारण वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताले एमआरपी लिनेको संख्या बढेको हो । ‘एमआरपी को सिफारिस बनाउन आउनेमध्ये २५ प्रतिशत महिला छन्,’ कार्यालयका नासु विसीले भने, ‘जसमध्ये १० प्रतिशतले यहाँबाट सिधै सिफारिस लिएर मन्त्रालयबाट एमआरपी लिने गरेका छन् ।’
प्रशासनबाट सिफारिस गरी पठाइएको करिब ढेड महिनापछि सम्बन्धित कार्यालयबाटै एमआरपी पाउने व्यवस्था छ । त्यसका लागि पाँच हजार रुपियाँ राजस्व तिर्नुपर्ने प्रावधान छ । सिधै सिफारिस लिएर मन्त्रालय गए एक सातामा डबल दस्तुरमा एमआरपी पाउन सकिन्छ । अत्यावश्यक भए १५ हजार शुल्क तिरेर मन्त्रालयबाट दुई दिनमै लिन सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
यसैबीच, एमआरपी बनाउनेको संख्या बढ्दा राजस्व संकलनसमेत वृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिनामा दुई करोड ५६ लाख ७५ हजार रुपियाँ राजस्व संकलन भएको लेखापाल भीमप्रसाद बजगाईंले जानकारी दिए । आव ०६८/०६९ मा एमआरपीको सिफारिसबाट एक करोड ८७ लाख १० हजार राजस्व संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया