सदभावनाका माग संवैधानिक विषय: सरकार

Press Statement OPMCM (2070-2-7)काठमाडौं, ७ जेठ । सरकारले संविधानसभा निर्वाचन राष्ट्रिय महत्व, चासो र सरोकारको विषय रहेको भन्दै छिट्टै निर्वाचनको मिति घोषणा गर्ने प्रतिवद्धता जनाएको छ ।
सरकार र सद्भावना पार्टीबीच आज (मंगलबार) काठमाडौंमा भएको बार्ता पछि मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति मार्फत सो पार्टीलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह समेत गरेको छ । वार्तामा ठोस सहमति हुन नसके पछि सरकारले आन्दोलन फिर्ता लिन आह्वान गरेको हो ।
मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले सबै पक्षको विश्वास र सहयोग लिएर मात्रै निर्वाचनको मिति घोषणा गरिने जनाएका छन् ।
‘आसन्न संविधानसभाको निर्वाचन मुलुकको राष्ट्रिय महत्व, चासो र सरोकारको विषय भएकोले सबै पक्षको विश्वास र सहयोगबाट नै यसको कार्यान्वयन सहज हुने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्य राजनीतिक दल तथा अन्य सरोकारवालाहरुसँग परामर्श गरी यथाशीघ्र सरकारले निर्वाचनको मिति तोक्ने छ ।’
संविधानसभाको मिति अविलम्ब घोषणा गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको विषय बाध्यात्मक संवैधानिक रहेको सरकारले जनाएको छ ।
मिति घोषणा र निर्वाचनको मिति घोषणाका विषयमा सद्भावना पार्टी समेत संलग्न रहेको भन्दै सरकारले संवैधानिक बाध्यतालाई बुझ्न आग्रह गरेको छ ।

प्रतिक्रिया