ट्यांकर व्यवसायी आन्दोलित

काठमाडौं : पिउने पानी आपूर्ति गर्दे आएको ट्यांकर व्यवसायीले सरकारले एकतर्फी रूपमा व्यवसायीमाथि प्रहार गरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
दैनिक आठ करोड लिटरभन्दा बढी पानी आपूर्ति गर्दै आएका यस्ता व्यवसायीको पानी उत्पादन गर्ने कारखानासमेत सरकारले एकतर्फी रूपमा बन्द गरेपछि उनीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । हाल सात सयभन्दा बढी पानी बोक्ने ट्यांकर सञ्चालनमा रहेका छन् ।
उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका सह–अध्यक्ष अच्युत पाण्डेले सहरी विकास मन्त्रालयको सचिवस्तरीय वार्ता टोलीसँग छलफल भए पनि सरकारले गर्छु भनेको कुरा पूरा नगरेको कारण आन्दोलनका कार्यक्रम ल्याउनु परेको बताए । उनले अहिले पनि सरकारसँग वार्ता जारी रहेको जानकारी दिए ।
संयुक्त संघर्ष समिति, प्रचार–प्रसार समितिका संयोजकसमेत रहेका पाण्डेले केही पानी उद्योग बन्द गर्ने जस्तो कार्य सीमित व्यक्ति र राजनीतिक आधारमा गरिएको भन्दै बन्द गरिएका त्यस्ता उद्योग पुन: सञ्चालन गर्नुपर्ने बताए । संघर्ष समितिमा ट्यांकर व्यवसायी संघ, नेपाल बोटल वाटर संघ, स्रोत तथा बोरिङ संघ र मजदुर संघको समर्थन रहेको छ । उनले सर्वप्रथम सिंहदरबारमै पानी आपूर्ती रोकेर विरोधको कार्यक्रम सुरुआत गर्ने पनि जनाए ।
त्यसैगरी पानी उद्योगलाई निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण राज्यले सिर्जना नगरेकोले पाँचदेखि नौ गतेसम्म सांकेतिक विरोधका कार्यक्रम सार्वजनिक गरिएको जानकारी उनले दिए । विरोधका कार्यक्रमअन्तर्गत पहिलो चरणमा सबै ट्यांकरमा कालोझन्डा राख्ने, क्षेत्रीय स्तरमा भेला गर्ने रहेको छ भने दोस्रो चरणमा पानी उत्पादन र वितरण आंशिक रूपमा बन्द गर्ने रहेको छ । सो अवधिमा विरोध स्वरूप हस्ताक्षर संकलन, मजदुर र व्यवसायी सम्मिलित बृहत् भेला र पत्रकार सम्मेलन गर्ने पनि संयोजक पाण्डेले बताए । यो अवधिसम्म पनि व्यवसायीको समस्या समाधान नगरे अनिश्चित कालसम्म पानी उत्पादन र वितरणको सबै कार्य रोकिने जानकारी उनले दिए । उनले यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मा स्वयं सरकारले लिनुपर्ने आंैल्याए । एकदिन मात्रै पानी आपूर्ति रोकिँदा काठमाडौंको जनजीवन नै प्रभावित हुने र एक किसिमको भयावह अवस्था सिर्जना हुने हुँदा यस विषयमा सरकार तत्काल संवेदनशील नबने सबैभन्दा पहिले सिंहदरबार र मन्त्री निवासमा पानी आपूर्ति रोक्न बाध्य हुने पनि उनले बताए ।

प्रतिक्रिया