चुनाव नभए सत्ता कब्जा गर्ने थापाको चेतावनी

Kamal-Thapaदेउखुरी, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा दोस्रो संविधानसभाको निर्वाचन हुन नदिने षड्यन्त्र भए सडकबाटै सत्ता कब्जा गर्ने चेतावनी दिएका छन् । कार्यकर्ता भेटघाट कार्यक्रमअन्तर्गत देश दौडाहामा निस्किएका थापाले आइतबार लमहीमा आयोजित साक्षात्कार कार्यक्रममा यस्तो चेतावनी दिएका हुन् ।
‘निर्वाचन हाम्रो एजेन्डा हो, फेरि पनि निर्वाचन हुन नदिने षड्न्त्र भए जनताले सडकबाट सत्ता कब्जा गर्छन्,’ उनले भने, ‘सत्ता कब्जाको आधार हामीले सात वर्षदेखि जारी राखेको संघर्ष हुनेछ ।’ निर्वाचन हुनेमा आशंखा व्यक्त गर्दै उनले चारदलीय सिन्डिकेट खारेजी नभएसम्म देशले निकास नपाउने बताए । ‘देशमा चारदलीय सिन्डिकेट कायम छ,’ उनले भने, ‘अब यसको अन्त्यका लागि सबैले  आवाज उठाउनु पर्छ ।’ प्रमुख राजनीतिक दलमध्ये कुनै एक दल निर्वाचन गर्ने मनस्थितिमा नरहेको आरोपसमेत उनले लगाए । ‘प्रमुख चार दल निर्वाचनप्रति इमानदार छैनन्, आफ्नो पक्षमा नतिजा नआउने छनक पाए पुन: बखेडा झिकेर निर्वाचन भाँड्छन्,’ उनले भने, ‘निर्वाचनसम्बन्धी प्रमुख दलको कुनै एजेन्डा छैन् ।’
निर्वाचनको विरोधमा रहेका नेकपा–माओवादीलगायत ३३ दलका जायज माग संबोधन गरी सबैलाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा अध्यक्ष थापाले जोड दिए । जनआन्दोलन ०६२/६३ को मूल मर्मभन्दा बाहिरको एजेन्डा प्रमुख दलहरूले अपनाएकै कारण देश संकटमा फसेको उनको तर्क छ । ‘प्रमुख दलहरूको नीति असफल सावित भयो, न उपलब्धि संस्थागत गर्न सके न संविधान नै दिन सके,’ उनले भने, ‘सात वर्ष त्यसै खेर गयो ।’
बाह्य शक्तिको चलखेल र उग्रवामपन्थीको रणनीतिक योजनाअनुसार जनभावनाविपरीतका एजेन्डा प्रवेश गराइएको आरोप उनले लगाए । ‘गणतन्त्र, धर्म निरपेक्षता, जातीय संघियतालगायत ऐजेन्डा असफल भयो,’ उनले भने, ‘अब नयाँ एजेन्डाका साथअघि बढ्न जरुरी छ ।’
गाउँ जान निर्देशन
राप्रपा नेपाल दाङ क्षेत्र नं. १ र २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष थापाले गाउँ–गाउँमा संगठन विस्तार र सुदृढीकरणअभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिए । देशको नेतृत्वका लागि नयाँ शक्ति आवश्यक रहेको भन्दै थापाले विदेशी चलखेलका देशबाट राजतन्त्र र हिन्दू राष्ट्र हटाइएको दाबी गरे ।

प्रतिक्रिया