क्रान्तिकारीद्वारा स्ववियु उम्मेदवार घोषणा

काठमाडौं, ६ जेठ । एकीकृत माओवादीको भ्रातृसंगठन अनेरास्ववियु (क्रान्तिकारी)ले आगामी २३ जेठमा हुने स्ववियु चुनावका लागि अध्यक्ष पदका उम्मेदवारको घोषणा गरेको छ । संगठनले पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी र नेता नन्दकिशोर पुनका छोरा दीपेशलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
क्रान्तिकारीले आइतबार पत्रकार सम्मेलन गरी त्रिभुवन विश्वविद्यालयका ६० आंगिकसहित १ सय ११ क्याम्पसका लागि स्ववियु अध्यक्ष पदका उम्मेदवारको नाम सार्वजनिक गरेको हो । त्रिविले २ सय ५० क्याम्पसमा चुनाव गर्ने भए पनि क्रान्तिकारीले १ सय ११ क्याम्पसमा मात्रै उम्मेदवार घोषणा गरेको छ । अखिल (क्रान्तिकारी) अध्यक्ष हिमाल शर्माले पहिलो चरणमा देशभरिका मुख्य क्याम्पसमा स्ववियु चुनावका लागि अध्यक्ष पदका उम्मेदवार घोषणा गरिएको बताए ।
क्रान्तिकारीले त्रिवि केन्द्रीय क्याम्पसमा एकीकृत माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमीकी छोरी मानुषीलाई अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । उनी स्ववियु सचिव हुन् । पार्टीका नेता नन्दकिशोर पुनका छोरा दीपेशलाई अमृत साइन्स क्याम्पसमा स्ववियु अध्यक्ष पदको उम्मेदवार बनाइएको छ । आरआर क्याम्पसमा सुरेन्द्र बस्नेत, महेन्द्ररत्न क्याम्पस ताहाचलमा धुव्रविक्रम वली, पशुपति क्याम्पसमा इन्द्र भुसाल, पाटन संयुक्तमा हेम मोक्तान, सानोठिमीमा गणेश बुढाथोकी, थापाथली इन्जिनियरिङमा चक्र भट्टलाई अध्यक्षको उम्मेदवार बनाइएको छ । पब्लिक युथमा गोविन्द कँडेल, नेपाल ल क्याम्पसबाट गणेश पाण्डे, नेपाल कमर्स क्याम्पसबाट पवन कार्की, त्रिचन्द्र कलेजबाट टेकेन्द्र जोशी, शंकरदेवबाट राजेश्वरी सुवेदी, पद्मकन्याबाट अनिता सापकोटा, विश्वभाषाबाट विनायक भट्टराई, वाल्मीकि विद्यापीठबाट सन्तोष आचार्य, ग्रामीण आदर्श क्याम्पसबाट सम्पूर्ण अधिकारी अध्यक्ष पदका उम्मेदवार बन्ने भएका छन् ।
यस्तै, उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस पोखरामा गोविन्द केसी, वीरेन्द्र क्याम्पस भरतपुरमा सन्तोषकुमार सिंह, महेन्द्रबहुमुखी क्याम्पस नेपालगन्जमा सूर्य घर्ती, कैलाली बहुमुखी  क्याम्पसमा उद्धव भट्टराई सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा वीरेन्द्र ठगुन्ना, सुर्खेत शिक्षा क्याम्पसमा देवीचन्द्र उपाध्याय, ठाकुरराम  क्याम्पस वीरगन्जमा प्रभाकर गुप्ता, महेन्द्रमोरङ क्याम्पसमा देवानन्द यादवलाई अध्यक्ष पदको उम्मेदवार बनाइएको छ । अखिल (क्रान्तिकारी)ले हेटौंडा बहुमुखी क्याम्पसमा सुकलाल वाइबा, वनविज्ञान क्याम्पस पोखरामा प्रकाश लिम्बु, सहिद स्मृति बहुमुखी क्याम्पस चितवनमा अविनाश सुवेदीलाई उम्मेदार बनाएको छ ।
क्रान्तिकारीका अध्यक्ष शर्माले नेकपा–माओवादीनिकट अखिल क्रान्तिकारीसँग तालमेल गरेर अगाडि बढ्ने बताए । ‘केही मात्रामा एजेन्डा मिल्छ,’ उनले भने, ‘त्यसैले तालमेल गरेर चुनावमा जान तयार छौँ ।’
क्रान्तिकारीले अध्यक्ष शर्माको संयोजकत्वमा एक हजार नौ सय २९ सदस्यीय स्ववियु निर्वाचन मूल परिचालन समिति र आर्थिक उपसमिति गठन गरेको छ । उपाध्यक्ष जागृत रायमाझीको संयोजकत्वमा प्रचारप्रसार समिति, उपाध्यक्ष रमेश मल्लको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, महासचिव बिन्दमान विष्टको संयोजकत्वमा वार्ता तथा तालमेल उपसमिति गठन गरिएको क्रान्तिकारीले जनाएको छ ।

नेविसंघले १० गतेभित्र घोषणा गर्ने
कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघले १० जेठभित्र स्ववियु अध्यक्ष पदका उम्मेदवारहरूको नाम घोषणा गर्ने भएको छ । संघका प्रवक्ता युपी लामिछानेले धेरै उम्मेदवार देखिएकाले मिलाउन केही दिन लाग्ने जानकारी दिँदै १० गते उम्मेदवारी घोषणा गरिने जानकारी गराए । संघको माउ पार्टी कांग्रेस स्ववियु चुनावमा विद्यार्थी परिचालनका लागि एक संयन्त्र बनाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।

अनेरास्ववियुले मनोनयनअघि मात्र
एमाले भ्रातृसंगठन अनेस्ववियुले चुनावका लागि मनोनयन दर्ता गर्नुअघि मात्र उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ । उक्त विद्यार्थी संगठनका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य किशोरविक्रम मल्लका अनुसार अध्यक्ष पदका उम्मेदवारको नाम तयारी अवस्थामा रहे पनि मनोनयन दर्ताअघि मात्र सार्वजनिक गरिनेछ । १६ जेठमा उम्मेदवारको मनोनयन दर्ता तोकिएको छ ।

प्रतिक्रिया