पाँच डनसित ६४ करोड अवैध सम्पत्ति

deepak-manangeकाठमाडौं, ६ जेठ । आपराधिक क्रियाकलापमा संलग्न रही गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ‘पाँच चर्चित डन’ र उनका श्रीमतीहरूविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ । पाँचै जनासँग ६४ करोडभन्दा बढी स्रोत नखुलेको सम्पत्ति रहेको विभागले जनाएको छ ।
विभागले गणेश लामा र उनकी पत्नी लक्ष्मी, दीपक मनांगे र उनकी पत्नी पासाङ, चक्रे मिलन र उनकी पत्नी इन्द्रा, पर्शुराम बस्नेत र उनकी पत्नी अन्जु तथा अभिषेक गिरी र उनकी पत्नी अनिषाविरुद्ध मुद्दा दायर गरेको हो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र प्रहरी रेकर्डमा भने उनीहरू सबै फरार छन् । सबै अभियुक्त फरार रहेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको प्रवक्ता धिरबहादुर चन्दले बताए ।
बस्नेत राजनीतिक पृष्ठभूमीका व्यक्ति हुन् । उनी अहिले एमालेको मोरङ जिल्ला कमिटीको सदस्य हुनका साथै युवा संघ नेपालका केन्द्रीय सदस्य हुन् । स्थानीय तह हुँदै उनी युवासंघको केन्द्रीय सदस्य भएका हुन् । राजनीतिक पृष्ठभूमिबाट व्यवसायमा प्रवेश गरेका बस्नेतलाईसमेत आपराधिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका डनहरूसँगै मुद्दा दायर भएपछि सम्पत्ति
शुद्धिकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामाथि प्रश्न सुरुमै सोझिएको छ ।
विभागले विभिन्न अपराधजन्य क्रियाकलापबाट सबैभन्दा बढी गणेश लामाले सम्पत्ति आर्जन गरेको जनाएको छ । लामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । उनी पूर्वगृहमन्त्री विजयकुमार गच्छदारका विश्वासपात्रसमेत मानिन्छन् ।
लामाले २७ करोड १ लाख ६१ हजार ५८ रुपियाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर राजस्व अनुसन्धान विभागले गरेको छ । अनुसन्धान विभागले उनलाई बिगो बराबर जरिवाना र एक वर्षदेखि चार वर्षसम्म कैद सजायको माग गरेको छ । लामाकी श्रीमती लक्ष्मी, बुवा पाल्साङ र भाइ रन्जुविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा दायर भएको मुद्दामा मनांगे र उनकी पत्नी पासाङसित १४ करोड ७३ लाख ३१ हजार ८ सय ६ रुपियाँ बराबरको गैरकानुनी सम्पत्ति भएको जिकिर गरिएको छ । दायर मुद्दामा मनांगे र उनकी पत्नीका नाममा रहेको काठमाडौं महानगरपालिका क्षेत्रको करिब २५ आना जग्गा र नुवाकोट ककनीमा रहेको करिव ७८ रोपनी जग्गा गैरकानुनी रूपमा आर्जन गरेको उल्लेख गर्दै जफत गर्न माग गरिएको छ । अनुसन्धान विभागले मनांगे र उनकी पत्नीलाई बिगो बराबर जरिवाना तथा सम्पत्ति शुद्धिकरण ऐनको दफा ३० को उपदफा ३ बमोजिम एकदेखि चार वर्षसम्मको कैद सजाय माग गरेको छ ।
त्यस्तै, चक्रे मिलन र उनकी पत्नीसित ७ करोड ८० लाख १७ हजार २ सय २६ रुपियाँबराबरको गैरकानुनी सम्पत्ति गरेको मुद्दामा उल्लेख छ । अपराधजन्य क्रियाकलाप र गैरकानुनीरूपमा उनले अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धान विभागको दाबी छ । उनीहरूबाट बिगो बराबरको जरिवाना र एकदेखि चार वर्षसम्म कैद सजायको माग गरिएको छ ।
चक्रे र उनकी पत्नीका नाममा विभिन्न बैंकमा रहेको ४ लाख ४१ हजार ५ सय १७ रुपियाँ, काठमाडौं महानगरपालिका–४ मा रहेको जग्गा, ५० तोला सुन र एउटा स्कुटर जफत गर्न माग गरिएको छ । लागुऔषध ओसारपसार कारोबारमा पक्राउ परी चक्रे  अहिले केन्द्रीय कारागार जगनाथदेवलमा सजाय काटिरहेका छन् । अनुसन्धान विभागले लिएको बयानमा उनले जापान र बालुवा व्यवसायबाट सम्पत्ति आम्दानी गरेको जिकिर गरेका छन् ।
अनुसन्धान विभागले पर्शुराम बस्नेत र उनकी पत्नी अन्जुका नाममा ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ बराबरको गैरकानुनी सम्पत्ति रहेको जिकिर गर्दै बिगो बराबरको जरिवानासहित एकदेखि चारवर्ष सम्मको कैद सजाय मागेको छ । दायर मुद्दामा उनको नाममा रहेको ११ कित्ता जमिन, बा ८ च ३६२८ नम्बरको होन्डाई कार, को १ च ४२५५ नम्बरको कार र बैंक रकम जफत गर्न माग गरेको छ ।
त्यस्तै अनुसन्धान विभागले अर्का चर्चित डन अभिषेक गिरीसँग २ करोड ९४ लाख ४६ हजार बराबरको गैरकानुनी सम्पत्ति रहेको जिकिर गरेको छ । दायर मुद्दामा काठमाडौंको तीनकुने सुविधानगरस्थित पक्की घर र मोरङमा रहेको जमिन र घर जफत गर्न माग गरिएको छ । अन्य जस्तै उनलाई पनि बिगो बराबर जरिवाना र एकदेखि चार वर्षसम्मको कैद सजाय माग गरिएको छ ।
डरायो प्रहरी
काठमाडौं : ठेक्कापट्टाको कमिसनदेखि व्यापारीलाई धम्क्याइँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुद्दा चलाएका चर्चित डनलाई प्रहरीले पक्राउ गर्ने हिम्मत गरेन । बरु फरारको सूचीमा राखेको छ ।
मुद्दा चलाउनुअघि अभियुक्तलाई पक्राउ गरी बयान लिने र थप प्रमाणसहित अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, प्रहरीले त्यसो गर्ने आँट गरेन । मुद्दा कमजोर बनाउन उनीहरूलाई फरारको सूचीमा राखिएको स्रोतको दाबी छ ।
मुद्दामा अभियोगीहरूको स्थायी र अस्थायी दुवै घर ठेगाना खुलाए पनि पक्राउ नगरी फरारी मुद्दा चलायो । ‘यो मुद्दा कमजोर बनाउन प्रहरीले चाल चलेको हो या उनीहरूसँग डराएको हो केही बुझ्न सकिएन’, विशेष अदालतका एक अधिकारीले भने । विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार, स्थानीय व्यक्तिको भनाइ, ठेक्कापट्टामा लिएको कमिसन र व्यापारीलाई धम्क्याइँ असुली गरेको आधारमा मुद्दा चलाइएको छ ।
उनीहरूलाई पक्राउ गरी थप बयान लिने र मजबुत प्रमाण दिन मुद्दाले नसकेको विशेष अदालतका अधिकारीहरूको प्रारम्भिक ठहर छ । उनीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित नगराएपछि विशेष अदालतले सुरुमा मुद्दा दर्ता गर्न मानेको थिएन ।
स्रोतका अनुसार दिउँसो १२ बजे अनुसन्धान विभागका प्रतिनिधि र डनहरूको सम्पत्ति छानबिन गर्न खटिएका प्रहरी अधिकृतहरू विशेष अदालत पुगेका थिए ।

प्रतिक्रिया