मैत्रिपूर्ण खेलमा कलाकारको हार/दुईका विरुद्ध चार गोल

binita-nd-garimaकाठमाडौं : सधैँ एक्सनकटको धपेडीमा रहने कलाकारहरू शनिबार पनि धपेडीमै थिए । तर, यसपट उनीहरूको धपेडी कुनै सुटिङ स्पटमा चलचित्रको छायांकनका लागि भने थिएन । उनीहरू दौडिरहेका थिए त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा । उनीहरूको धपेडीको कारण थियो नेपाल चलचित्र कलाकार संघ र विज्ञापन एजेन्सी (आन)बीचको मैत्रिपूर्ण खेल ।
बागमती सरसफाइको पवित्र उद्देश्य लिएर नेपाल चलचित्र कलाकार संघ र विज्ञापन एजेन्सी(आन)ले संयुक्त रूपमा आयोजना गरेको मैत्रिपूर्ण खेलमा कलाकारहरूले खुलेरै साथ दिए । हारजितभन्दा पनि दर्शकलाई भरपुर मनोरन्जन दिनका लागि आयोजित उक्त मैत्रिपूर्ण खेलमा विज्ञापन एजेन्सी(आन)ले जित हात पार्‍यो । आनले कलाकारलाई दुईका विरुद्ध चार गोलले पराजित गर्‍यो । दुवैतर्फबाट गोलगर्ने प्रयास धेरै भए पनि खेलमा सुरुदेखि नै कलाकारका लागि आन भारी भयो । आनका खेलाडीका अगाडि कलाकारको प्रदर्शन फितलो देखियो ।
भिडन्तमा नायक राजेश हमाल, जीवन लुइँटेल, सुष्मा कार्की, झरना थापा, विनिता बराल, गरिमा पन्त, पुजना स्त्री, जितु नेपाल, किरण केसी, हरिवंश आचार्य, अनु शाह, निता ढुंगानालगायतका थुप्रै कलाकारको साथ थियो । कलाकारमा नायक राजेश हमाल मैदानमा उत्रिदा सबैभन्दा बढी हुटिङ भयो । त्यसपछिको हुटिङ नायिकाहरूलाई भयो । नायिकाहरूलाई कतिपय दर्शकले चलचित्रको नामबाट समेत पुकारे ।
दर्शक खेलको सुरुदेखि अत्यसम्म हुटिङका साथ रमाइलो गरिरहेका देखिन्थे । कलाकारको खुट्टामा बल पर्दा दर्शक दीर्घाबाट सबैभन्दा चर्काे हुटिङ आउँथ्यो । खेलमा कतिपय कलाकार बलमै लटपटिएको देख्दा दर्शक पेटमिचिमिची हाँसेका थिए ।  खेलभन्दा बाहिर रहेका कतिपय कलाकार आफैँ पनि चर्काे हुटिङ गर्दै खेलाडी कलाकारका हौसला बढाउनपछि परेनन् ।
भिडन्तमा कतिपय कलाकारले त खेलाडी सरह खेल प्रदर्शन गरे । कलाकारको तर्फबाट आकाश खवासले दुई गोल गरे । तर, आनले चार गोल हानेका उनका दुई गोलले टिमलाई जित दिलाउन भने सकेन । निक्कै मैत्रिपूर्ण र रोमाञ्चक ढंगले अगाडि बढेको खेलमा कलाकारको हार सुनिश्चित हँुदै जाँदा दर्शक दीर्घाबाट हुटिङ पनि कम हुँदै गयो । कलाकारले जित्नुपर्छ भन्दै भिडन्त हेर्न रंगशालाभित्र छिरेका दर्शक कलाकारका हारले निरास हुन पुगे ।
खेलमा कलाकार रातो जर्सीमा मैदानमा उत्रिएका थिए भने आनका खेलाडी नीलो जर्सीमा मैदानमा देखिए । धीरेन शाक्य, शिव श्रेष्ठ, वसुन्धरा भुसाल, जितु नेपाल, मोडल शंकर बिसी कलाकार संघका अध्यक्ष नवल खड्का, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारले समेत खेले । यसअगाडि कलाकार सहभागी हुने सबै खेलमा राम्रो खेल देखाएका शंकर बिसीले यो खेलमा खासै चमत्कार देखाउन सकेनन् । आयोजकले १५ हजार दर्शकको अपेक्षा गरेको यो खेल हेर्न दर्शकको उपस्थिति सामान्य थियो । खराब मौसम, मध्याह्नदेखि परेको पानीले दर्शकको उपस्थितिमा प्रभाव परेको आयोजकले बताए ।  (सौस)

प्रतिक्रिया