विदेशी लगानी नीतिको प्रारम्भिक तयारी

काठमाडौं, ५ जेठ । वैदेशिक नीति ल्याउने तर्खरमा रहेको सरकारले विदेशी लगानी नीति ०७० को मस्यौदा छलफलमा ल्याएको छ ।
उद्योग मन्त्रालयले गरेको छलफलमा सरोकारवालाहरूले कुन देशबाट नेपालले कस्तो खालको फाइदा लिने हो, त्यसैअनुरूपको नीति तयार गर्नुपर्ने बताए । देशमा रोजगारमूलक अर्थतन्त्र आवश्यक भएकाले कृषि, पर्यटन, हाइड्रोजस्ता क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन उनीहरूले सुझाव दिए । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपालमा वैदेशिक लगानीका लागि  नीतिगत तथा कानुनी सुधार आवश्यक भएको बताए ।
विदेशी लगानी नीति ०७० मस्यौदा छलफल कार्यक्रममा उद्योगमन्त्रीसमेत रहेका कोइरालाले चाहेको ठाउँमा विदेशी लगानी नआउने, अनिच्छित ठाउँमा लगानी भित्रिने विगतको अनुभवबाट पाठ सिक्नुपर्ने बताए ।
नेपाली उद्यमीका लागि विदेशी लगानीको बाटो खुल्नु खुसीको विषय भए पनि त्यसबाट पर्ने सकारात्मक/नकारात्मक प्रभावको पहिल्यै मूल्यांकन हुनुपर्नेमा जोड दिए । ‘नियम कानुन खुकुलो बनाए पनि लगानीको संरक्षण नभएसम्म त्यसले उचित प्रतिफल दिन सक्दैन,’ मन्त्री कोइरालाले भने, ‘वैदेशिक लगानीको विश्वव्यापी प्रचलनको अध्ययन गरी छिमेकी मुलुकमा चलेको अत्युत्तम अभ्यासलाई नजिकबाट अध्ययन गर्न जरुरी छ ।’ कार्यक्रममा उद्योगसचिव कृष्ण ज्ञवालीले नेपालमा ऐन, कानुन बन्ने तर अभ्यास नहुने अनौठो विगत रहेकाले सरकारी निकायबीचको अन्योल हटाउन एकीकृत औद्योगिक सूचना केन्द्र आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भवानी राणाले उद्योग–धन्दा बन्द र उद्योगी पलायन भइरहेको अवस्थामा वैदेशिक लगानीको वातावरण चुनौतीपूर्ण रहेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यातले नेपालमा श्रम र अर्थतन्त्रलाई छुट्टाछुट्टै व्याख्या गर्ने अवस्था आएको प्रस्ट पारे ।
साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष सुरेश प्रधानले निजी क्षेत्रलाई विश्वासमा नलिई सरकारले अपेक्षित परिणाम प्राप्त गर्न नसक्ने बताए ।

प्रतिक्रिया