खानेपानी ओसार्नमा दमकल व्यस्त

Dang-Lamahiदेउखुरी, ५ जेठ । आगलागी भएका मुलुकका विभिन्न ठाउँमा समयमै दमकल नपुग्दा ठूलो जनधनको क्षति भएको समाचार बारम्बार आउने गरेको छ । यस्तोमा शनिबार लमहीमा दमकलले  खानेपानी ओसारेको सुन्नेलाई खल्लो लाग्न सक्छ ।
लमही नगर विकास समितिले सञ्चालन गर्दै आएको दमकलको दुरूपयोग गर्दै खानेपानी वितरण गर्न थालिएको हो । वैकल्पिक रूपमा पानी पुर्‍याउन  ट्यांकर भए पनि सरोकारवाला निकायले नै दमकलको दुरुपयोग गर्दै शनिबार लमहीका उपभोक्ताको घर–घरमा पानी पुर्‍याए । ‘हाकिम र अध्यक्षले भन्नुभयो, त्यसैले पानी पुर्‍याउन हिँडेको,’ दमकलचालक जन्जिर चैधरीले भने, ‘जा भनेपछि जानै पर्‍यो ।’ लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबाट हजार रुपियाँको रसिद काटेर दमकल पानी वितरण गर्न उपभोक्ताको घर–घरमा पुगेको हो । लमहीमा खानेपानीको चरम अभाव देखिएपछि दमकलबाट  पानी पुर्‍याइएको हो । ‘पानी आउन छाडेको नौ दिन भइसक्यो, दमकलबाट पानी पुर्‍याउन थालिएको खबर पाएँ त्यही भएर पानी भर्न आएको’ लमही गाउँमा पानी थाप्न दमकलसम्म आइपुगेकी मीना गुरुङले भनिन्, ‘धारामा पानी नआउँदा प्यास–प्यासै बाच्नुपर्ने बाध्यता छ ।’
यता, लमही नगर विकास समितिले भने बजारमा खानेपानीको चरम अभाव भएको भन्दै खानेपानी संस्थाले आग्रह गरेपछि राजस्व लिने सर्तमा दमकल पानी वितरण गर्न हिँडेको बताएको छ । ‘उपभोक्ता पानी नहँुदा प्यास–प्यासै बस्नुपर्ने बाध्यता आएपछि पानी पुर्‍याउन दमकल पठाएका हौँ,’ लमही नगर विकास समितिका अध्यक्ष रामलाल खनालले भने, ‘दुरुपयोगभन्दा पनि समस्यामा परेकालाई पानी पुर्‍याइएको हो ।’ लमही बजारमा पानी वितरण गर्दै आएको खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका दुईवटै मोटरले पानी तान्न छाडेपछि बजारमा खानेपानीको चरम अभाव देखिएको हो । ‘पानीको चरम अभाव देखियो, उपभोक्तालाई खाना पकाउन र पिउनसम्म पुग्ने गरी दमकल प्रयोग गरी पानी वितरण गरेका हौँ,’ खानेपानी संस्थाका अध्यक्ष कर्णबहादुर बुढाथोकीले भने, ‘मोटरले पानी फाल्न छाड्यो, नबन्दासम्म यसैगरी पानी पुर्‍याउनुपर्ने देखिएको छ ।’
गर्मी मौसममा पानीको अभाव भएपछि उपभोक्ता समस्यामा परेका छन् । उपभोक्ताको समस्यालाई ध्यानमा राख्दै दमकलको साहारा लिएर पानी वितरण गर्न थालिएको खानेपानी संस्थाको दाबी छ । लमहीमा दैनिक तीन लाख लिटर पानी चाहिन्छ । ‘पानीको भरपर्दाे स्रोत छैन, नयाँ आयोजना सञ्चालन नहँुदासम्म समस्या हुने भयो,’ खानेपानीका अध्यक्ष बुढाथोकीले भने, ‘मोटर बन्नेबित्तिकै पानी दिइन्छ, अहिले मोटरको मर्मत भइरहेको छ ।’ लमहीमा १२ सय धारा छन् ।

प्रतिक्रिया