हिमपहिरोमा परी बझाङमा सात बेपत्ता

धनगढी,५ जेठ । हिमपहिरोमा परी बझाङमा सात जना बेपत्ता भएका छन् । साइपाल हिमालअन्तर्गत पर्ने राईढुंगा भन्ने ठाउँमा बिहीबार हिमपहिरोमा परी उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बेपत्ता भएकाहरू यार्सागुम्बा संकलन गर्न गएका थिए । बेपत्ता हुनेहरूको खोजबिनका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिमपहिरो आएको ठाउँ सदरमुकाम चैनपुरबाट झन्डै पाँच दिनको पैदल दूरीमा पर्छ ।
घटनास्थल वरपर सञ्चार सुविधा पनि नभएकोले घटनाबारे ढिलोगरी जानकारी थाहा भएको हो । काँडा गाविस–४ का राजमल बोहराले शुक्रबार फोनमार्फत प्रहरीलाई खबर गरेका थिए । सूचना आउने बित्तिकै शुक्रबार धुलीस्थित सीमा प्रहरी चौकीको प्रहरी टोली त्यसतर्फ गएको छ । आइतबार मात्रै प्रहरी टोली घटनास्थल पुग्ने बझाङ प्रहरीप्रमुख प्रहरी नायव उपरीक्षक उदय तामाङले बताए ।
पहिरोमा परी बेपत्ता भएकाहरू को र कहाँका हुन् भन्ने केही खुल्न सकेको छैन । ‘घटनामा कहाँका र को–को परे भन्ने प्रहरी टोली घटनास्थल नपुगेसम्म केही  भन्न सकिन्नँ’, तामाङले भने ।
यार्सा संकलनको लागि बर्सेनि साइपाल हिमाल क्षेत्रमा जिल्लावासी तथा बाहिरका हजारौँको संख्यामा जाने गर्छन् । गतवर्ष पनि राईढुंगामै यार्सा संकलन गर्ने क्रममा हिमपहिरो तथा अन्य घटनामा परी ६ जनाको मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया