ठमेलमा भीषण आगलागी

aago-lagiकाठमाडौं, ४  जेठ । ठेमलस्थित नम्रता शाहीको घरमा आगलागी हुँदा २० करोड रुपियाँभन्दा धेरैको धनमाल जलेर नष्ट भएको छ । काठमाडौं गेस्ट हाउसनजिकै रहेको तीनतले घरमा बिहीबार राति ८ बजे आगलागी भएको थियो ।
प्रहरीका अनुसार राम गिरीले सञ्चालन गर्दै आएको फेसेस क्लबको भान्साबाट आगो सल्किएको हो । तेस्रो तलामा रहेको भान्सामा ग्यासको सिलिन्डर पड्किएपछि आगो सल्किएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शी र नेपाल आर्मीले भने जेनेरेटर पड्किएर आगलागी भएको दाबी गरेका छन् । सेनाले प्रेस विज्ञप्तिमार्फत फेसेस बारमा जेनेरेटर चलाउँदा लाइन सर्ट भएपछि ग्यास पड्किएर आगलागी भएको जनाएको छ ।
आगलागी नियन्त्रण गर्ने क्रममा चितवन मंगलपुर–५ का २७ वर्षीय विकास अधिकारी र धादिङका २० वर्षीय महेश खनाल घाइते भएका छन् । उनीहरूको लैनचौरस्थित मनमोहन स्मृति अस्पतालमा उपचार भइरहेको छ । आगो नियन्त्रणकै क्रममा प्रहरीका हबल्दार बालकुमार श्रेष्ठ पनि घाइते भएका छन् । उनको उपचार महाराजगन्जस्थित प्रहरी अस्पतालमा भइरहेको छ ।
आगलागीले क्लबभन्दा तल्लो तलामा रहेको ‘पिलग्रिम्स’ पुस्तक पसलमा ठूलो क्षति भएको छ । पुस्तक पसल पूरै जलेको छ । पसलमा दुर्लभ तथा पुराना पुस्तकको बिक्री हुने गथ्र्यो । जल्न बाँकी रहेका पुस्तकका केही अवशेष शुक्रबार दिनभर पसलछेउका पेटीमा जम्मा गरिएका थिए । कति मूल्य बराबरको पुस्तक क्षति भयो भन्ने पूर्णविवरण अझै नआएको प्रहरीले जनाएको छ ।
आगोले नजिकका अन्य पसललाई समेत क्षति पुर्‍याएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी चक्रबहादुर सिंहले बताए । ‘आगो अनियन्त्रित बन्यो, आसपासका पसललाई नभेट्ने कुरै भएन,’ उनले भने । आसपासमा एक दर्जन पसललाई आगोले क्षति पुर्‍याएको छ ।
नेपाली सेनाका अनुसार ८ बजे लागेको आगो शुक्रबार बिहान ३ बजे मात्रै नियन्त्रणमा आएको थियो । पुरानो घर भएकाले आगो चाँडै फैलिएको थियो । डिएसपी सिंहका अनुसार बस्ती घना भएकाले पनि आगो नियन्त्रणमा आउन समय लागेको हो । ‘घरपछाडिपट्टिबाट आगो लागेको हो । दमकल पुर्‍याउनै मुस्किल पर्‍यो । घर लहरै जोडिएकाले पनि आगो फैलिन सहयोग गर्‍यो । घरभित्र रहेका ग्यासका सिलिन्डर पनि पड्किएका छन् । आगो नियन्त्रणबाहिर जानुको कारण यो पनि हो,’ उनले भने ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका टोली खटिएका थिए ।  डिएसपी सिंहका अनुसार परिसरअन्तर्गतका मात्रै दुई सयभन्दा धेरै प्रहरी टोली नियन्त्रणका लागि खटिएका थिए । ‘परिसरअन्तर्गतका सोह्रखुट्टे, दरबारमार्ग, बालाजु, स्वयम्भू, महाराजगन्ज मात्र नभई विपद् व्यवस्थापन कार्यालयबाट समेत आगो निभाउन प्रहरी खटिएका थिए,’ डिएसपी सिंहले भने ।
सेनाको नारायणहिटीस्थित कालीबहादुर गण र  भद्रकालीस्थित आपूर्ति तथा परिवहन गणबाट टोली खटिएको थियो । सशस्त्रको पनि ठूलै टोली आगो नियन्त्रणका लागि  खटिएको थियो  । प्रहरीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका सबै दमकल आगो नियन्त्रणका लागि प्रयोग भएका थिए । लस्करै जोडिएका घरमा आगो फैलिन सक्ने भएपछि नियन्त्रण गर्न डोजरको समेत प्रयोग गरिएको थियो ।

प्रतिक्रिया