“१० हजार हस्ताक्षर बुझाउन सकिन्न”

काठमाडौं : साना राजनीतिक दलहरूले आगामी संविधानसभा चुनावको प्रयोजनका लागि दल दर्ता गर्दा १० हजार मतदाताको हस्ताक्षर बुझाउनुपर्ने प्रावधान खारेज गर्न माग गरेका छन् ।
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँगको भेटमा शुक्रबार १२ दलले चुनावमा सहभागी हुनबाटै वञ्चित गर्ने गरी १० हजार हस्ताक्षर बुझाउनुपर्ने नियम ल्याएको भन्दै आपत्ति जनाएका हुन् । चुनावमा सहभागी हुनका लागि दल दर्ताका क्रममा निर्वाचन आयोगमा १० हजार समर्थकको हस्ताक्षर बुझाउनुपर्ने प्रावधान छ । आयोगले हस्ताक्षरसहित नागरिकताको प्रतिलिपि पनि संलग्न हुनुपर्ने र एउटा पार्टीमा हस्ताक्षर गरेको व्यक्तिले अर्को पार्टीको सदस्य बनेर हस्ताक्षर गर्न नपाउने नियम पनि बनाएको छ ।
आवश्यक हस्ताक्षर जुटाउन नसकेपछि साना दलले उक्त प्रावधान हटाउन माग गर्दै मन्त्रिपरिषद्का सदस्य, आयोगका पदाधिकारी तथा एकीकृत माओवादी नेताहरूसँग औपचारिक तथा अनौपचारिक छलफल गरिसकेका छन् । छलफलका क्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले १० हजारको प्रावधान हटाउन आफूले पहल गर्ने आश्वासन दिएका थिए । तर, त्यसबारे ठोस पहल नभएपछि उनीहरूले मन्त्रिपरिषद् अध्यक्षलाई नै सामूहिक रूपमा भेटी १० हजार हस्ताक्षरको प्रावधान हटाउन माग गरेका हुन् ।
रेग्मीसँगको छलफलमा उनीहरूले दल दर्ताका लागि १० हजार हस्ताक्षर बुझाउने नियम अवैज्ञानिक भएको भन्दै यसलाई हटाउनुपर्ने बताएका थिए । छलफलमा नेकपा (संयुक्त), नेकपा (माले), नेपाल रिपब्लिक पार्टी, जनता दल युनाइटेड, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक दल, नवनेपाल निर्माण पार्टी, राष्ट्रिय सद्भावना पार्टी, संघीय सद्भावना पार्टीलगायत दलका नेता तथा प्रतिनिधि सहभागी थिए । (सौस)

प्रतिक्रिया