मुनामदन

Mumamadanअचेल नेपालबाट निस्किएका नयाँ, चर्चामा रहेका साहित्यिक किताब मगाएर पढ्न थालेको छु । त्यस मौकामा संग्रह गर्न योग्य लागेका र पहिले पढिसकेका किताब पनि थपेर ल्याउने गर्छु । जस्तो कि अघिल्लोपटक शंकर लामिछाने, विश्वेश्वरप्रसाद कोइराला आदिका किताब मगाएँ । त्यही मौकामा यसपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वाधिक चर्चित खण्डकाव्य ‘मुनामदन’ मगाएको थिएँ । अर्थात्, यसपटक पहिल्यै पढिसकेको ‘मुनामदन’ आइपुगेको छ ।
यसअघि ‘मुनामदन’ मैले तेह्र वर्षको हुँदा, कक्षा आठमा पढेको थिएँ । त्यो कसरी याद छ भने, एकदिन म मुनामदन र दश कक्षाको नेपाली किताब एकैसाथ च्यापेर आफ्नै खेतमा भएको ‘खाडीको पीपल’ भनिने पीपलको रूखमाथि चढेर पढ्न गएको थिएँ र रूखमाथिबाट झन्डै खसेर पानीमा चोपलिन् । ठीक्क परेको थियो मुनामदन । त्यसैमाथि पीपलको पातझँै बसेको थियो पातलो मुनामदन । उमेरले मभन्दा दुई वर्ष ठूलो दाजु स्कुलमा पनि दुई कक्षामाथि हुन्थ्यो । स्कुलका हरेक कक्षाका दाजुका किताब चोरेर पढ्ने गर्थे । आफ्नै पाठ्यक्रमका किताबचाहिँ त्यसैगरी रूख चढेर, खेतबारीतिर बसेर पढ्नुपर्छ भन्ने बुद्धि न आयो, न रहर नै पलायो । रहर त किन पलाउँथ्यो र आफ्नो किताबको स्वाद दुई वर्षअगाडि नै लिइसकेको हुन्थेँ । बरु त्यसले गर्दा मलाई स्कुलका प्रत्येक कक्षामा कोर्सका किताबप्रति उदासिनता बढेर जान्थ्यो ।
laxmi-pd-devkota-sketchजे होस्, सात कक्षामा हुँदै ‘साहिला बाजे’ पनि भनिन्थ्यो भनेर महाकवि देवकोटाको परिचय दिइसकेको थियो मलाई स्कुलले । झ्याउरे लयमा रचिएको मुनामदनको ख्याति र देवकोटा स्वयंले ‘मुनामदन’ बाहेक मेरा सबै कृति जलाइदिए पनि हुन्छ भनेका थिए भन्ने कुरा सुनिसकेको  थिएँ । मुनामदन ठूलो किताब हो भन्ने लागेको भएर हुन सक्छ त्यसबेला पातलो, चाङ्लो, कमसल पन्नाहरूभएको मुनामदन देख्दा मन खिन्न भएको थियो । हुनप नि त्यो मुनामदनको किताबभन्दा आकर्षक र गतिलो त त्यसबेला गाउँमा साँझ बिहान ‘हरि भज हरि भज झुटो माया जानी’ भन्ने भजन गाउँदा पल्टाउने राउत बाको भजनको किताब नै थियो ।
सम्झना छ, त्यो मुनामदनको कभर हरियो थियो । मूल्य १५ रुपियाँँ । १५रुपियाँ मूल्य देख्दा त्योबेला मलाई ‘कति सस्तो † मै किन्न सक्ने रहेछु !’ जस्तै लागेको याद छ । तर, त्योबेला मसँग उस्तो सजिलै १५ रुपियाँँ भने हुँदैनथ्यो र यदि भएको भए पनि अवश्य मुनामदनभन्दा अर्थोकै हुँदा हुन् १५ रुपियँँ खर्च गर्ने जरुरी कुराहरू ।
त्यो बेलाको मुनामदनमा पनि भित्र प्यालप्याल परेका पन्नाहरू थिए । अक्षरहरू एकापट्टिबाट अर्कोपट्टिको कार्बन पेपरमा परेर छापिएको जस्तो देखिन्थ्यो । किताबको आकार त्यसै पनि सानो, त्यसमाथि पातलो कागजको छपाईले गर्दा एकडल्लो पारेर मुखमा हाल्यो भने मुखमै अट्ने खालको थियो । आफूले लगाएको कोट नै फुकालेर अर्कोलाई लगाइदिने, तलब पाएको दिन सबैलाई पैसा बाँड्दै हिँड्ने । त्यस्ता ठूला मान्छेको किताब किन यस्तरी हेपेर छापेको होला ? म त्यसबेला यस्तै सोचिरहन्थेँ ।
०६५ सालमा निस्किएको, पच्चीसौँ संस्करणको रातो, गुलाबी रंगको कभर भएको मुनामदन हातमा लिएर म पहिलेको भन्दा पनि बढ्ता दु:खी भएर सोचिरहेछु । मूल्य अझै पनि ३० रुपियँँ छ । तातो न छारोका किताबहरू तीन/चार सयघटी पाइन छोडेको समयमा मुनामदनको मूल्य १०० रुपियँँ बनाएर अलि गतिलो कागजमा, गतिलो हिसाबले निकाले कसको के जान्थ्यो होला ? कृतिको महत्ताका हिसाबले वा महाकविको सम्मानकै खातिर पनि मुनामदनको कुनै एक संस्करणलाई चाँदीको पन्नामा सुनको अक्षरले छापेर निकाले पनि हुने हो । अर्थात्, यत्तिका वर्ष भइसक्यो, यत्तिका संस्करण निस्किसक्यो, बिक्रीका हिसाबले पनि मुनामदन अग्रस्थानमा छ । तब के कुनै एक संस्करणलाई हार्ड कभर राखेर, लेआउट मिलाएर, राम्रो गुणस्तरको कागजमा छाप्न पर्दैन र ? भाषा सेवा गर्ने हुँ भन्ने, यो किताब निकालिरहेको साझा प्रकाशनले यो दायित्व उठाउनु पर्दैन र ?
यो सब कुरा यसपटक पनि म सोची मात्र रहन्थे होला । यसरी लेख्दिन थिएँ सायद । तर, मेरो हातमा एउटा वरको पात जत्रै ‘मुनामदन’ किताब देखेर अर्जेन्टिनाको मेरो सहकर्मी साथी लुकासले सोध्यो, ‘के हो भनेर’ । मैले उसलाई यो हाम्रो भाषाका महाकविको सबैभन्दा राम्रो कृति हो भनेँ ।
उसले किताब हातमा लिएर हेर्‍यो र भन्यो, ‘के तिम्रो देशमा राम्रा छापाखाना छैनन् ?’
उसले भित्तामा पुग्ने गरेर भनिसकेको थियो मलाई । मैले भन्न सक्थे के र ? भनँे, ‘यो धेरै पहिले निस्केको किताब हो ।’
महाकवि देवकोटाका कृतिलाई अनुवाद गरेर विश्व बजारमा पुर्‍याउने काम त गर्न सकेनौँ– सकेनाँै । तर, सबैभन्दा अब्बल मानिएको, नेपाली काव्य जगत्को हीरा ‘मुनामदन’लाई आफ्नै भाषामा पनि चारजना विदेशीहरूको अगाडि गर्व गरेर देखाउन सक्ने हिसाबले निकालेनौँ । अनि, हामी भन्छाँै, ‘हाम्रो साहित्य कमजोर छ र विश्व साहित्यका सामु हामी हाम्रो साहित्यलाई आफँै निर्धो घोषणा गर्छौ ।’
मैले यो सब कुरा लेखेर केही फरक पर्ने होइन थाहा छ । तर, यही कुरालाई मैले झ्याउरे लयमै यो श्लोक लेखेको छु । मेरो यो सानो कुरा मुनामदनका अनेक–अनेक संस्करण निकाल्ने साझा प्रकाशनका मठाधीशहरूका कानेगुजी पार गरेर कानभित्र परे केही हुन्थ्यो कि भन्ने अपेक्षा भने गरेको छु ।
भन्छौँ हामी कम्जोर साहित्य विश्वमा
सक्दैनौँ सोच्न दीर्घमा कैले रम्दछौँ ह्रस्वमा
हे भाषा प्रेमी † ब्युँझेर मनको बाकस उघाराँै
आत्मा छ अमर मुनामदनको काया नि सुधारौँ

हाल : साउथ किहे, हवाई

प्रतिक्रिया