शब्दहरू लंगडा छन्

netraएउटा १२ वर्षे बालक झोला बोकेर खुरुखुरु स्कुल गइरहेको छ । नयाँ शैक्षिक सत्रको पहिलो दिन । ऊ अलि बढी नै उत्सुक र संवेदनशील छ । पढाइमा तेज त्यो विद्यार्थीको त्यसदिनको स्कुल यात्रा रोमाञ्चक त थियो नै, अत्यन्त सजग र योजनाबद्ध पनि थियो । ऊ पाइला–पाइलामा नयाँ कक्षामा आºनो भूमिकाका योजना बुनिरहेको थियो । पहिलो पाठ उसले घरमा हेरिसकेको थियो । त्यससम्बन्धी उसका थुप्रै जिज्ञासा थिए । पालैपालो सबै प्रश्न सोध्ने, ध्यान दिएर सुन्ने र मनन गर्ने उसको बानी थियो । यतिन्जेल ऊ स्कुल पुगिसकेको थियो । विद्यार्थीको सबभन्दा अगाडि सिटमा ऊ बसेको थियो । नयाँ शिक्षकको प्रतीक्षा गर्दै । ठीक त्यसैबेला यहुदी—विरोधीहरूको समूह स्कुलमा आइपुग्यो । तिनीहरू कक्षाकोठामा पसे र धमाधम यहुदी विद्यार्थीलाई कक्षाकोठाबाट निकालेर गालीगलौज अनि पिटपाट गर्दै घरतिर धपाए । ऊ यो सब दृश्य हेरिरहेको थियो । केही विद्यार्थी आºनो ठाउँमै बसिरहेका थिए । केहीलाई गलहत्याइएको थियो । ऊ पनि यहुदी परिवारमा जन्मेको बालक थियो । ऊ पनि बसेको सिटबाट गलहत्याइयो र स्कुलबाट खेदियो । साथीहरूबीच अचानक यसरी अपमानित हुनुपरेकामा ऊ बिलखबन्द परेको थियो । जातमा के छ ? यहुदी परिवारमा जन्मेकै नाममा किन उसलाई स्कुलबाट बहिष्कृत गरिँदै थियो ? यो उसले बुझिरहेको थिएन । उसलाई त आततायीभन्दा परिवारप्रति क्रोध उम्लिरहेको थियो । यस्तो ‘बदनाम’ परिवारले उसलाई किन जन्माएको ? किन स्कुल पठाएको ? यो समाजले किन बालबालिकालाई ज्ञानगुन सिकाउन स्कुल खोल्ने नाटक गरेको ? दिनदहाडै तर्कहीन तर्कका आधारमा अपमानित गर्दै धपाउनलाई ?
बाह्रवर्षे त्यो बालक स्वयंलाई त्यतिबेला थाहा थिएन होला, पछि गएर ऊ समाजका बौद्धिक भनिएका वर्गले स्थापना गरेको समस्त तर्कप्रणाली ध्वस्त पारिदिनेछ, छिन्नभिन्न बनाइदिनेछ, विनिर्माण गरिदिनेछ भनेर । सन् १९४२ मा यहुदी विद्यार्थीलाई स्कुलबाट हटाइएको यो दुखान्त घटनाका भुक्तभोगी बालक पात्र ज्याक डेरिडा थिए । दोस्रो महासमरका बेला अल्जेरियाको सरकारले यहुदी—विरोधी कानुन लागू गर्दै विद्यालयबाट यहुदी विद्यार्थीलाई निष्कासन गर्ने क्रममा यो घटना घटेको थियो ।
डेरिडा अर्को स्कुलमा भर्ना भए । तर, पाठ्यक्रममा तोकिएका पाठ्यपुस्तकप्रति उनको आस्था र श्रद्धा उडिसकेको थियो । उनी सकेसम्म स्कुल बंक गरेर खेल्न निस्कन्थे । पढ्नै परे दार्शनिकका गहन पुस्तक पढिबस्थे । जाँ ज्याक रुसो, फ्रेडरिक नित्से, अल्फ्रेड क्यामु, जाँ पल सात्र्र आदि उनका प्रिय दार्शनिक थिए । उनी जे पढ्थे त्यसमा उनी परिवार र समाजका मूल्य–मान्यता भत्काउने विचार पाउँथे । विस्तारै उनी लेख्न थाले । आºनो लेखनमा उनले कसरी सभ्य भनिएको समाज खोक्रा धारणाहरूको कमजोर जगमा उभिएको छ भन्ने चित्रण गर्थे ।
sabdaती दिन सम्झँदै डेरिडाले भनेका छन्, ‘मैले पढ्ने साहित्य, जर्नल र डायरी विशेषगरी परिवारप्रति विद्रोह भावले भरिएका हुन्थे । मैले त्यसबेला बडो प्यासोनेट्ली पढ्ने नित्से, रुसो र जिद आदिका शब्दमा एउटा वाक्य ध्वनित भएको हुन्थ्यो, ‘परिवार ! म तँलाई घृणा गर्छु ।’ म सोच्थेँ साहित्य अन्तत: परिवार र त्यसले प्रतिनिधत्व गर्ने समाजको अन्त्य हो ।’
किशोरावस्थादेखि नै दर्शन पढ्न थालेका डेरिडाले दार्शनिक क्षेत्रमा छिट्टै आºनो स्थान बनाए । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयमा ‘स्ट्रक्चर, साइन एन्ड प्ले इन द डिस्कोर्स अभ द ह्युमन साइन्स’ नामको दार्शनिक कार्यपत्र प्रस्तुत गरेर तहल्का मच्चाएका डेरिडाले पछि आºना विचार र चिन्तन राइटिङ एन्ड डिफराँस, ग्रामेटोलोजी, भ्वाइस अफ द फेनोमेनालगायत पुस्तकमार्फत विकसित र विस्तार गर्दै लगे । डेरिडाको दर्शनलाई सरल रूपले बुझ्न उनको विद्यार्थीकालको एक घटना मात्र पर्याप्त नहोला । डेरिडाले आफैँमा केही नयाँ कुरा दिएका होइनन् । बरु, विश्वपरिस्थिति र आफू पूर्वका दार्शनिकका अभिमतको सटीक प्रस्तुति गरेका हुन् । सारमा, डेरिडा एक माध्यम हुन्, उनीमार्फत दोस्रो महासमरपछिको चिन्तन प्रवाह अधिक मुखरित भयो ।
दोस्रो विश्वयुद्धको महाविध्वंसले उत्तरआधुनिकता जन्मायो । नरसंहार, वातावरण विनाश र अणु बमको त्रासदीले गर्दा मानिसका बचेखुचेका आस्था मेटिए । युद्धपछि अमेरिका सर्वशक्तिमान भयो र हतियार बेचेर सबभन्दा धनी मुलुक बन्न पुग्यो । पँुजीवादलाई उकास्न उपभोक्तावादी संस्कृति चाहियो र यस्तो संस्कृतिलाई विस्तार गर्न उत्तरआधुनिकतावाद आवश्यक भयो । डेरिडाको विनिर्माण उत्तरआधुनिकतालाई आधार दिने तर्क बन्यो ।
नित्सेले भनेझैँ मानिसले पहिला आफूले के चाहेको हो त्यो निधो गर्छन् र त्यसपछि आºनो ध्येयमा सुहाउने तर्क निर्माण गर्छन्, सायद पँुजीवादलाई दार्शनिक आधार दिन डेरिडाको विनिर्माणवादले खुबै सहयोग गर्‍यो ।
उत्तरआधुनिकतावादका मान्यताप्रति सबैको चित्त बुझाउन ज्याक डेरिडाको बौद्धिक कसरतले धेरै भूमिका खेल्यो । डेरिडाले केन्द्र भत्किएको, हाइरार्की तोडिएको र सबै पाठ्यको विनिर्माण भएको घोषणा गरे । ईश्वर मरेको घोषणा नित्सेले गरिसकेका थिए । ईश्वर अर्थात् आस्था, विश्वास, भरोसा सबै कुराको केन्द्र । न्याय, सुव्यवस्था र प्रेमको आधार । ईश्वरसामु मानिस अन्याय गर्न किञ्चित डराउँथ्यो । अब ईश्वर नै नभएपछि न्याय—अन्यायको भेद मेटिन थाल्यो । कम्तीमा वैचारिक बहसको तहमा । अन्यायीलाई दण्ड दिने सर्वशक्तिमान कोही रहेन । सरकार र प्रशासनले प्रायश: अपराधीलाई बचाउने भूमिका खेलेको देखिन्छ । सानालाई ऐन, ठूलालाई चैन ।
‘ईश्वर मर्‍यो’ यस कथनलाई डेरिडाले केन्द्र भत्कियो भने । ईश्वरप्रतिको धारणा विनिर्माण गरे । ईश्वरलाई उच्च र मानिसलाई तुच्छ सम्झनु यसै पनि तर्कसंगत हुन सक्दैन । परिधिविना केन्द्रको अस्तित्व हुँदैन, त्यसैले केन्द्रलाई उच्च र परिधिलाई तुच्छ मान्न सकिन्छ । धनी र गरिब, ठूलो कलाकार र सानो कलाकारबीच कुनै वास्तविक भेद (हाइरार्की) फेला पार्न सकिँदैन । डेरिडाको अर्को तर्क हो : कुनै पाठ्यको अर्थ स्थिर हुँदैन र त्यसलाई फेला पार्न वा बुझ्न सकिँदैन । हाइडेगरले मानिसको अस्तित्वको अर्थ र बोध कसरी एक स्थिर स्थिति नभएर एक चलायमान र परिस्थितिजन्य अस्थिर मोड हो भनेर देखाएका थिए । डेरिडाले कुनै पनि चिज वा वस्तु बुझाउने शब्दको अर्थ या त पर–पर सर्दै (अस्थिर हुँदै) जान्छ या अरूभन्दा फरक हो भनेर बुझ्नुपर्ने हुन्छ भने । जस्तो, गाई वास्तवमा के हो भनेर कहिल्यै जान्न सकिन्न, केवल यो गोरु, भैँसी वा भेडा होइन भनेर चित्त बुझाउन सकिन्छ । डेरिडा भन्छन्, ‘विनिर्माण’ लाई पनि ठ्याक्कै यही हो भनेर बुझ्नु यसलाई पूरै नबुझ्नु हो । हामीले वास्तवमै केही पनि जान्न, बुझ्न वा अर्थ निकाल्न सक्दैनौँ भन्ने डेरिडाले तर्क गरे ।
शब्दमा सत्य हुँदैन । शब्दहरूले आफूभन्दा बाहिरको कुनै पनि अर्थलाई प्रस्ट्याउन सक्दैनन् । भाषा कस्तो छ भने त्यसले कुनै पनि अर्थलाई एकै ठाउँमा निरपेक्ष अर्थका रूपमा अड्याउन सक्दैन । हाम्रा सत्य—असत्य, मूल्य—मान्यता अस्थिर शब्दमा निर्भर छन् । मूल्य—मान्यता त्यस्ता शब्दबाट निर्मित छन् जुन स्वयंमा अस्थिर छन् । आफैंै अडिने आलम्बन नभएको जगले कसरी घर धान्न सक्छ ? हो यही भइरहेको छ शब्दहरूको खेलमा ।
पूर्वीय तर्कशास्त्रीहरूले धेरै पहिला वाक्यार्थ ज्ञानका लागि आकांक्षा, योग्यता र सन्निधि हुनुपर्छ भनेका थिए । आकांक्षायोग्यतासन्निधिश्च वाक्यार्थ ज्ञाने हेतव: । डेरिडाले भने, त्यति भएर पनि पुग्दैन, शब्दहरू आफैँमा निकम्मा छन्, लंगडा छन् । यिनले अरुलाई सहारा दिन सक्दैनन् । समस्त सभ्यता ती शब्द, मान्यतामा अडिएको छ जुन अडिने कुनै आधार छैन ।
अन्धा अन्धम् ठेलिए दोनो कूप पडन्त ।
अन्धाले अन्धालाई डोर्‍याउँदा दुवै कुवामा खस्छन् । कबीरको यही वाक्यको आशयसँग डेरिडाको तर्क मिल्छ ।
डेरिडाले आरम्भ गरेको विनिर्माण अभियानमा इँटा थप्नेहरू धेरै भए । अन्य विधाकर्मीले उत्तरआधुनिकताका मूल मन्यता समग्र अस्तित्वको अर्थहीनता, रित्तोपन वा शून्यतालाई प्रकट गरे । साम्युएल बेकेटले मुख्य पात्रले कसैलाई कुर्दाकुर्दै र दर्शकले मञ्चन भइरहेको नाटकमा कथावस्तु पर्खंदापर्खंदै समाप्त हुने सारहीन नाटक वेटिङ फर गोदो मञ्चन गरे । कलाकार र दर्शकबीचको दूरी समाप्त हुँदै गएको देखाए ।
मूर्तिकला र प्रदर्शनको परिवेशबीचको दूरी समाप्त पार्ने क्रममा परिवेशलाई नै अभिव्यक्तिको माध्यम बनाउने प्रतिस्थापन कला आविष्कार भयो । कलाकार आफैँ सजीव मूर्तिवत् प्रदर्शित हुन थाले । सम्पादनरहित सिनेमा र भिडियोफिल्महरूको प्रदर्शनीमार्फत सिनेमा र जिन्दगीबीचको दूरी मेट्ने चेष्टा गरियो । यसप्रकार हरेक विधामा सार, गहिराइ र गम्भीरतालाई तिरस्कार गरी केवल उरन्ठ्यौला चेष्टालाई बढावा दिइयो ।
यसै क्रममा मिशेल फुकोले पँुजीवादी राज्यसत्ताका पक्षधरहरूले प्रचलित मान्यता वा बहस (डिस्कोर्स) माथि नियन्त्रण गरिरहने रहस्य उजागर गरे । कसलाई सद्दे र कसलाई पागल मान्ने, कसलाई अपराधी फैसला गर्ने र कसलाई सफाई दिने, कुन यथार्थलाई प्रचार गर्ने र कुन लुकाउने भन्ने निधो सत्ताधारी पक्षले गर्ने गरिरहेको यथार्थ फुकोले आँैल्याए ।
यता, डेरिडा आफूले प्रस्तुत गरेको एक प्रकारको शून्यवाद जताउन कैयौं विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा व्याख्यान दिँदै हिँडे । युनिभर्सिटी अभ क्यालिफोर्निया, इर्भिनमा त लामो समयसम्म स्थायी व्याख्याता भए । शब्दको अस्थिरता देखाउँदै चालू बौद्धिक परम्पराको धज्जी उडाए । उनले भने, बायनरी अपोजिसन जस्तो असल—खराब, सेतो—कालो, पुरुष—महिला, देवता—दानव, दिन—रातका आधारमा बौद्धिक परम्परा चलेको हुन्छ जुन निराधार छ । सबै कुरा सापेक्ष देखाए । एउटालाई केन्द्रमा र अर्कोलाई परिधिमा राख्नुको कुनै आधार छैन । असल शब्दले केही असल बताउँदैन । असल कसरी असल हुन सक्छ ? यदि खराब हुँदैन भने ? ‘असल’ त केवल तीनवटा अक्षरको जोड हो जुन आफैँमा अर्थहीन छ, आफूलाई अथ्र्याउन पनि अरु शब्दको सहारा खोज्छ । र, ती अरू शब्द पनि उस्तै पंगु छन्, आफँै अडिन नसक्ने । सारा सभ्यता कबीरले भनेजस्तै अन्धाले अन्धालाई डोर्‍याएझैँ चलिराखेको छ । कथ्य र सत्य, बोली र लेखन, संरचना र घटना, मेटाफेर र मेटोनिमी सापेक्ष कुरा मात्र हुन् । कहिल्यै अर्थ फेला नपर्ने ।
दोस्रो शताब्दीका बौद्ध दार्शनिक नागार्जुनले पनि शून्यतालाई देखेका थिए । यद्यपि, नागार्जुनको शून्यता साक्षात्कारले मानिसलाई दु:खबाट पार लगाउँछ, निर्वाणसम्म पुर्‍याउँछ । डेरिडाको विनिर्माण त्यहाँसम्म पुग्ने हैसियत राख्दैन । बरु यसले अराजकतालाई मलजल गर्छ । डेरिडा भाषाको चौघेरोमा अलमलिए । नागार्जुनजस्तो भाषाभन्दा परको अनुभूतिसम्म पुग्न सकेनन् । नागार्जुनले संसार र निर्वाणमा भिन्नता देखेनन् । दुवैको शून्यता देखे । हरेक कुरा एक–अर्कामा आश्रित हुने हुँदा, प्रत्युत्पन्न हुने हुँदा कुनै पनि व्यक्ति वा वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन । स्वभाव हुँदैन । व्यक्ति र वस्तुको खास चरित्र निस्वभाव हो । सबै धर्म (व्यक्ति र वस्तु) शून्य छन् ।
डेरिडाका अनुसार एउटा भनाइ प्रमाणित गर्ने प्रयासले प्रमाण माग्छ । प्राप्त प्रमाणले आफू प्रमाणित हुन अर्को प्रमाण माग्छ र यो क्रम अन्त्यहीन हुन्छ । अप्रमाणिकताको ज्ञानले डेरिडालाई झनै उत्साहित बनायो । उनले विनिर्माणको उत्सव मनाए । उनीसँगै उत्तरआधुनिकतावादी र समस्त पँुजीवादी संस्थापन पक्षले उत्सव मनायो । अब तिनले निर्धालाई, अविकसित राष्ट्रलाई जति शोषण गरे पनि भयो । त्यसो गर्न बौद्धिक पक्षको, तर्कको बल मिल्यो ।
शून्यताको एक हदसम्म साक्षात्कार गरेका यी दार्शनिकमध्ये नागार्जुन जीवनको अन्तकालतिर मस्त थिए । डेरिडा सुर्ताएका थिए । नागार्जुनले भनेकै थिए अल्पबुद्धि मानिसलाई शून्यताको ज्ञानले विनाश गर्न सक्छ । कुशल सपेराका हातमा सर्प कमाइखाने साधन हुन्छ । अकुशलले सर्पदंशबाट ज्यान गुमाउन सक्छ । आफूलाई अपमानित गर्ने समाजप्रतिको प्रतिशोधको जगमा विकसित भएको डेरिडाको दार्शनिक चेतले जीवनकालभर त उनलाई बौद्धिक जगतको हिरो बनायो । आखिरी दिनमा भने अराजकता, शस्त्रास्त्रको होडबाजी, आतंकवाद आदि देखेपछि डेरिडा आत्तिए । अन्तकालमा उनी क्षमाशीलता, बन्धुत्व र न्यायको पक्षपोषण गर्न जुटेका थिए ।

प्रतिक्रिया