विदेशी लगानी नीति तयार गर्दै सरकार

Shankar-Koiralaकाठमाडौं, ३ जेठ । वैदेशिक लगानी भित्राउन कुनै नीति नबनाएको आरोप खेपिरहेका बेला सरकारले विदेशी लगानी नीति २०७० को मस्यौदा छलफलमा ल्याएको छ ।
उद्योग मन्त्रालयले गरेको छलफलमा सरोकारवालाहरुले कुन देशबाट नेपालले कस्तो खालको फाइदा लिने हो, त्यसै अनुरुपको नीति तयार गर्नुपर्नेमा जोड दिए । देशमा रोजगारमूलक अर्थतन्त्र आवश्यक भएकाले कृषि, पर्यटन, हाइड्रोजस्ता क्षेत्रमा वैदेशिक लगानी भित्राउन उनीहरुले सुझाव दिए ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपालमा वैदेशिक लगानीका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक भएको बताए । विदेशी लगानी नीति २०७० मस्यौदा छलफल कार्यक्रममा उद्योगमन्त्री समेत रहेका कोइरालाले चाहेको ठाउँमा विदेशी लगानी नआउने, अनिच्छित ठाउँमा लगानी भित्रिने विगतको अनुभवबाट पाठ सिक्नुपर्ने धारणा व्यक्त गरे । नेपाली उद्यमीहरुका लागि विदेशी लगानीको बाटो खुल्नु खुसीको विषय भएपनि त्यसबाट पर्ने सकारात्मक नकारात्मक प्रभावको पहिला नै मूल्यांकन हुनुपर्नेमा मन्त्री कोइरालाले जोड दिए । ‘नियम कानुन खुकुलो बनाएपनि लगानीको संरक्षण नभएसम्म त्यसले उचित प्रतिफल दिन सक्दैन ।’ मन्त्री कोइरालाले भने– ‘वैदेशिक लगानीको विश्वव्यापी प्रचलनको अध्ययन गरी छिमेकी मुलुकमा चलेको अत्युत्तम अभ्यासलाई नजिकबाट अध्ययन गर्न जरुरी छ ।’
मस्यौदामा विदेशी लगानीका रणनीतिहरुमा प्राथमिकता प्राप्त क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न आर्थिक कुटनीतिको माध्यम उपयोगका साथै विदेशी लगानीका व्यवसायलाई पारदर्शी र लोकप्रिय बनाउने उल्लेख छ ।

 

प्रतिक्रिया