अल्पनिद्राले बालबालिकाको मस्तिष्क कमजोर

Sleepपर्याप्त निद्राको अभावमा स्कुले बच्चाहरूको शैक्षिक क्षमता प्रभावित हुने अनुसन्धाताले बताएका छन् । उनीहरूका अनुसार थोरै निदाउने बच्चाहरूले स्कुलमा राम्रो क्षमता प्रदर्शन गर्न सक्दैनन् ।
विशेष गरी विकसित देशहरूमा अल्पनिद्राका कारण बालबालिकाको शैक्षिक गतिविधि प्रभावित भएका घटना बढी देखिएका छन् । विशेषज्ञहरू राति अबेरसम्म मोबाइल र कम्प्युटर चलाएर बस्ने बालबालिकाको बानीलाई यसका लागि दोषी ठान्छन् । अध्ययनले निद्रा पूरा नहुनुलाई गम्भीर समस्याका रूपमा उल्लेख गरेको छ । घरमा थोरै निदाउने विद्यार्थी दिउँसो कक्षामा उँघ्न थाल्छन्, जसले सँगैका अन्य छात्रलाई पनि प्रभावित बनाउँछ । परिणाम– पढाइको रफ्तार शिथिल हुन थाल्छ । बोस्टन कलेजले यससम्बन्धमा दुनियाँभरका आँकडालाई एकत्रित पारी तिनीहरूमाथि तुलनात्मक अध्ययनपछि यो निष्कर्ष निकालेको हो । पर्याप्त निद्राबाट वञ्चित छात्रहरूको सबैभन्दा ठूलो संख्या अमेरिकामा भेटियो । शिक्षकहरूका अनुसार ९–१० वर्षका ७३ प्रतिशत तथा १३–१४ वर्ष उमेरसमूहका ८० प्रतिशत विद्यार्थी अल्पनिद्राजन्य परिणामहरूसँग जुधिरहेका छन् । जुन अन्तर्राष्ट्रिय आँकडाभन्दा धेरै बढी हो । विश्वस्तरमा हेर्दा प्राथमिक तहका ४७ प्रतिशत अनि माध्यमिक तहका ५७ प्रतिशत विद्यार्थीले अहिलेभन्दा बढी निदाउनुपर्ने देखिएको छ ।
न्युजिल्यान्ड, अस्ट्रेलिया, साउदी अरब, इंल्यान्ड, आयरल्यान्ड र फ्रान्सजस्ता देशमा यथेष्ट निद्राबाट वञ्चित विद्यार्थीको संख्या विश्वमै बढी पाइएको छ । फिनल्यान्ड पनि यी देशहरूको सूचीमा सामेल छ । अजरबैजान, कजाकस्तान, पोर्चुगल, चेक गणतन्त्र, जापान र माल्टामा भने यससम्बन्धी रेकर्ड निकै राम्रो पाइएको पनि अध्ययनले उल्लेख गरेको छ । अर्थात्, यी देशका बालबालिका पर्याप्त निद्रा सुतिरहेका छन् । यो विश्लेषण विश्व शैक्षिक र्‍यांकिङका लागि जम्मा गरिएको आँकडाको एउटा हिस्सा हो । यस दौरान ५० भन्दा बढी देशका प्राथमिक तथा माध्यमिक तहका विद्यार्थी परीक्षण गरिएका थिए । निद्रा कम लाग्नाले विद्यार्थीको सिकाइको प्रक्रियामै नकारात्मक असर पर्ने वैज्ञानिकले उल्लेख गरेका छन् । दिमाग चुस्त हुन पाउँदैन । सर्रे विश्वविद्यालयअन्तर्गत निद्रा शोध केन्द्रका निर्देशक डर्क जान डिज्कले भने, ‘निद्रा पूरा नहुनाले सिक्ने, याद गर्ने अनि पढ्ने–लेख्ने प्रक्रिया प्रभावित हुन पुग्छ ।’ निद्रा नलाग्ने बानी अनि मस्तिष्कको कार्यप्रणालीबीच गरिएको शोधपछि तीव्र स्मरण क्षमताका लागि पर्याप्त निद्रा निर्विकल्प रहेको तथ्य सार्वजनिक भएको हो । अनिदो मस्तिष्कसँग कुनै पनि जानकारी ग्रहण गर्ने र त्यसलाई लामो समयसँग सम्झिइरहने क्षमता निकै कमजोर हुन्छ । (एजेन्सी)

प्रतिक्रिया