शिक्षकको परीक्षा मर्यादित बनाउन उत्तरपुस्तिकामा डबल कोड

काठमाडौं, ३ जेठ । शिक्षक सेवा आयोगले आगामी ९ जेठदेखि हुने स्थायी शिक्षकको परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न केही जिल्लालाई संवेदनशील क्षेत्र घोषणा गरेको छ ।
शिक्षकको फारम खुलेदेखि ती जिल्लाहरूको कामको आधारमा संवेशनशील क्षेत्र घोषणा गरिएको हो । त्यस्ता जिल्लाको परीक्षालाई मर्यादित बनाउन कडा अनुगमनसमेत गरिने भएको छ ।
आयोगका प्रशासकीय प्रमुख खगेन्द्र नेपालले विगतमा भएका अन्य परीक्षा र शिक्षकको परीक्षाको फारम भर्नेदेखिको कार्यको आधारमा केही जिल्लालाई संवेदनशील घोषणा गरिएको बताए । ‘केही जिल्लाको पहिले लिएको परीक्षा र फारम भर्दादेखिको कार्यको मूल्यांकनको आधारमा संवेदनशील क्षेत्र छुट्याइएको छ’, उनले भने–‘ती जिल्लामा फारम भर्दादेखिको कार्यको आधारमा अमर्यादित हुनसक्ने आशांकामा संवेदनशील मानिएको हो ।’
त्यस्तै, उत्तरपुस्तिकामा संकेत लेख्ने परीक्षार्थीको परीक्षाफल रद्द गर्ने निर्णय पनि आयोगले गरेको छ । ‘परीक्षार्थीले आफूलाई नाम चिनाउने कुनै संकेत लेखेको पाइएमा परीक्षाफल रद्द गरिने छ’, प्रशासकीय प्रमुख नेपालले भने ।
आयोगले ९ देखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्न १ हजार ८ सय ४७ केन्द्र तोकेको छ । जसमा माध्यमिक तहमा २ सय ५२, निमाविमा ६ सय ३६ र प्राथमिक तहको लागि ९ सय ५९ परीक्षा केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए । सबभन्दा बढी काठमाडौंमा ८२ र मोरङमा ५२ केन्द्र छन् । सबैभन्दा कम मनाङमा ३ परीक्षाकेन्द्र रहेका छन् ।
आयोगले राजपत्रांकित, संस्थान र राजपत्र अनंकित अधिकृत तहका कर्मचारीलाई केन्द्राध्यक्ष बनाएको छ । परीक्षालाई व्यवस्थित बनाउन विद्यालयमा केन्द्र राखे पनि शिक्षकलाई केन्द्राध्यक्ष नबनाएर अधिकृतस्तरका कर्मचारीलाई केन्द्राध्यक्ष, निरीक्षक तथा सहयोगी राखिएको उपसचिव भट्टराईले बताए ।
परीक्षा सञ्चालनका लागि १ हजार ८ सय ४७ केन्द्राध्यक्ष, ३ हजार ६ सय ९४ सहायक केन्द्राध्यक्ष, २४ हजार ६८ निरीक्षक र ७ हजार ३ सय ८८ सहयोगी कर्मचारी खटाइने भएको छ । आयोगले परीक्षामा अमर्यादित कार्य गर्ने केन्द्राध्यक्ष, निरीक्षक र सहयोगीलाई ६ महिना थुना वा एक वर्ष कैदको व्यवस्था गरेको छ ।
परीक्षालाई व्यवस्थित बनाउन नेपाली अक्षरको वर्णानुक्रमअुनसार परीक्षार्थीको सिटप्लान गर्न थालिएको छ । प्रवक्ता भट्टराईले सँगै फारम भरिएका परीक्षार्थी सँगै नपरुन भनेर नेपाली वर्णानुक्रमअनुसार सिटप्लान गर्न थालिएको बताए ।
आयोगले उत्तरपुस्तिकामा ‘डबल कोड’ व्यवस्था गरेको छ । सिंगल कोड नम्बर दिँदा परीक्षकलाई सजिलै कोड थाहा हुने हुँदा डबल कोड नम्बर दिइएको हो । ‘पहिले रोलनम्बर भएको अर्धकट्टी च्यातेर कोड दिन्छौँ’ प्रवक्ता भट्टराईले भने–‘त्यसपछि पुन: त्यस कोडको सट्टा अर्को कोड नम्बर उत्तरपुस्तिकामा दिन्छौँ । अनि कसको हो थाहा हुँदैन ।’
१३ हजार ५९ पदका लागि ४ लाख ८० हजार ७ सय ५८ जनाले दरखास्त दिएका छन् । आयोगले शिक्षक फारमबाट ३० करोड आम्दानी गरेको छ ।

प्रतिक्रिया