यसरी समातियो १६ किलो सुन

काठमाडौं, ३ जेठ । दिउँसो ठीक १२ बजे सुन तस्कर भक्तपुरबाट कोटेश्वरतर्फ आउने तयारीमा हुँदा बिहीबार प्रहरी टोली अलर्टमा थियो । ट्याक्सीमा चार तस्कर थिए । प्रहरीले ट्याक्सी पहिचान गर्‍यो । हुइकिँदै आएको ट्याक्सी गौशालातर्फ लाग्यो । सिनामंगलमा थियो प्रहरीको अर्को टोली । खबर ‘रिले’ भयो । प्रहरी टोली अब ट्याक्सीको पछि लाग्यो ।
गौशाला र चाबहिलको लामो ट्राफिक जाम पार गर्दै ट्याक्सी बौद्धतर्फ लाग्यो । प्रहरीले ट्याक्सीको पिछा छाडेको थिएन । जोरपाटीको खैबाटोलस्थित तीन तले घर नजिकै ट्याक्सी रोकियो । ट्याक्सीमा सवार चारै जना घरभित्र प्रवेश गरे । भाग्न सक्ने संकेत मिलेपछि प्रहरीले घरलाई घेरा हाल्यो । त्यसपछि सुरु भयो खनतलासी ।
कोठामै भेटिए चारै जना । उनीहरू थिए, ३० वर्षीय सुन शेर्पा, ५५ वर्षीय नाम्गेल शेर्पा, ३२ वर्षीय ज्ञाने शेर्पा र १९ वर्षीय सोनाम शेर्पा । चारै जनाको घर सिन्धुपाल्चोकको तातोपानी–९ फोक्सेन हो । पक्राउ लगत्तै कोठाको खनतलासी भयो । तर, सुन फेला परेन । खनतालासीलाई अझ तीव्रता दिइयो । तर, सुन फेला पर्ने कुनै संकेत देखिएन ।
‘स्पोर्टस् सु’ लगाएका थिए उनीहरूले । खनतालासी लिन बाँकी  तीनै जुत्ता मात्रै बाँकी थिए । प्रहरीको नजर अब जुत्तातर्फ मोडियो । उचाल्दा निक्कै गह्रौ थिए । तर झट्ट हेर्दा केही नदेखिने । अब जुत्ताको सोल उप्काइयो । त्यही भित्र भेटिए सुनका लोभ लाग्दा बिस्कुट । तस्करी गर्ने यो अचम्मको काइदा देख्दा अनुसन्धानमा खटिएका प्रहरी पनि चकित परे ।
प्रहरीले कोठामा भेटिए जति सबै जुत्ता खानतलासी गर्‍यो । ती मध्ये तीन जोर जुत्ताको सोलभित्र १६ वटा सुनका बिस्कुट भेटिए । प्रत्येक बिस्कुटको तौल एक–एक किलो थियो । सबै गरी उनीहरूबाट १६ किलो सुन बरामद भयो । बिहीबारको बजार भाउ अनुसार बरामद सुनको मूल्य ६ करोड ६४ लाख रुपियाँ पर्छ ।
पक्राउ परेकाहरूको हैसितले नै देखाउँथ्यो उनीहरू यसका भरिया मात्रै हुन् भन्ने । सोधपुछपछि तस्करका मुख्य नाइकेको परिचय खुल्यो । उनीहरूकै सुराकका
आधारमा बौद्धबाट भारतको दार्जिलिङ घर बताउने ४२ वर्षीय गाम्पो भोटिया पनि पक्राउ परे । उनको साथबाट स–साना खल्ती भएको कालो पेटीसहित १६ हजार रुपियाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका मध्ये भारतीय नागरिक भोटिया तस्करका मुख्य नाइके हुन् । उनैको योजनामा सुन तिब्बतबाट तातोपानी नाका हुँदै काठमाडौंसम्म ल्याइएको हो ।
‘तातोपानी नाकाबाट बरामद सुन नेपाल भित्रिएको छ । यसको अन्तिम गन्तव्य भारतीय बजार नै हो’ एसपी सुवेदीले भने । उनका अनुसार बरामद सुन अहिलेसम्मकै ठूलो परिणामको हो । ‘पहिले एयरपोर्टबाट तस्करी हुन्थ्यो, अचेल तातोपानी नाकाबाट तस्कर हुन थालेछ । यो नाकाबाट पक्राउ परेको सुन अहिलेसम्मकै ठूलो परिणामको हो’, उनले भने । भोटियाको समूहले सुन तस्कर गर्दै छ भन्ने सूचना प्रहरीलाई केही दिन अघिबाटै थियो ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सुन काठमाडौंसम्म ल्याएबापत चारै जनालाई भोटियाले चार–चार हजारका दरले रकम दिने भनेका थिए । ‘भोटियासँग बरामद भएको १६ हजार रुपियाँ उनीहरूलाई दिन भनी तयार भएको हो’, सुवेदीले भने । सुन लिन भोटिया स–साना खल्ती भएको लामो पेटीसहित तयारी अवस्थामा थिए । ‘कालो रङको स–साना खल्ती भएका पेटी उनीबाट भेटियो । प्रत्येक खल्ती सुनका बिस्कुट अट्ने खालको रहेछ । उक्त पेटी सुन तस्करीकै लागि बनाइएको हो । यसले पनि पुष्टि गर्छ कि यो समूह सुन तस्करमा  विगतदेखि नै संलग्न थियो’, अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।
एसपी सुवेदीले पनि यस समूहको कनेक्सन ठूलै गिरोहसँग रहेको स्वीकार गरे । ‘यस विषयमा हामी अनुसन्धान गर्दैछौँ, एक तहसम्म त हामी पुगिसकेका छौँ । यसको विस्तृत विवरण केही समयपछि सार्वजनिक हुनेछ’, उनले भने ।

प्रतिक्रिया