धन्न सबै बाँचे

Nepal-Army-Jomsom-Plane-Accपोखरा, ३ जेठ । पोखराबाट जोमसोमका लागि उडेको नेपाल एयरलाइन्सको नाइन एन–एबिओ टुइनेटर जहाज बिहीबार बिहान अवतरण गर्ने क्रममा जोमसोम विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । जहाजमा रहेका सबै यात्रु भने सकुशल छन् ।
१९ यात्रुसहित चालक दलका तीन सदस्य गरी २२ जना रहेको सो जहाज पोखराबाट बिहान ८:१० मा उडेको थियो । जोमसोममा अवतरण गर्ने क्रममा ८:३३ मा दुर्घटना भएको पोखरा विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले बताए ।
दुर्घटनाग्रस्त विमानको आधा भाग कालीगण्डकी नदीको किनारमा खसेको छ भने आधा भाग विमानस्थलको सुरक्षाका लागि राखिएको तारबारमा अल्झिएको छ । धावनमार्गबाट विमान चिप्लिएर दुर्घटना भएको अनुमान छ ।
दुर्घटनामा मानवीय क्षति नभए पनि चालक दलका डि. प्रधान र सुरेस केसीलगायत अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते चालक दलका तीन सदस्यलाई तारा एयरको विमानबाट पोखरा ल्याएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिएको थियो । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । त्यस्तै, अन्य १७ घाइतेलाई हेलिकोप्टरबाट पोखरा ल्याइएको छ । उनीहरूमध्ये ८ जना जापानी नागरिक रहेका छन् । घाइतेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपालमा उपचार गरी थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
दुर्घटनामा पर्नेहरूमा आठ जापानी पर्यटक, पाँच स्थानीय बासिन्दा र अन्य ६ जना जोमसोम घुम्न गएका नेपाली छन् । दुर्घटना पर्नेमा स्थानीय एक आठ महिनाको बच्चा पनि छ । स्थानीय पाँचै जना सकुशल रहेकाले सामान्य उपचारपछि घर फर्केको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज गौतमले बताए ।
दुर्घटनामा २२ जना परे पनि १७ यात्रुको अवस्था भने सामान्य रहेको नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ । दुर्घटना भएपछि तारा एयरको विमानबाट पोखरा ल्याइएका चालक डि. प्रधानलाई सिनियर सर्जन डा. नरजंग गुरुङले पोखरा एयरपोर्टमै सामान्य उपचार गरी थप उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएका थिए ।
अस्पतालमा पुर्‍याइएका जापानी नागरिक नाभा होसिमोले शारीरिक चोटभन्दा पनि मानसिक चोट गहिरो भएकाले सबै साथीहरू हतास मनस्थितिमा रहेको बताए । अर्का यात्रु गोविन्द पहारीले प्लेन दुर्घटना हुनुभन्दा अगाडि जहाजको गति कन्ट्रोल भएपछि त्रसित भएको बताए ।
दुर्घटनास्थल नजिक भएकाले पनि तत्काल जोमसोम अस्पतालमा सामान्य उपचार गरी पोखरा ल्याइएकाले पनि घाइते यात्रुको समयमै उपचार भएको छ ।
विमान कसरी दुर्घटना भयो भन्नेबारे भने अझै स्पष्ट केही खुल्न सकेको छैन । अनुसन्धानका लागि नेपाल एयरलाइन्सको एक जना पाइलट जोमसोम पुगेका छन् । हावा धेरै चलेका बेला पाइलटले ‘ओभर कन्फिडेन्स’ भएर दिशा परिवर्तन गर्नुपर्नेमा जहाज अवतरण गर्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
जोमसोम विमानस्थल नजिक आर्मी ब्यारेकको सुरक्षा तार भएकाले पनि विमान कालीगण्डकीमा रोकिएको थियो । बिहानको मौसम त्यति खराब देखिएको थिएन । सोही जाहाजले दुर्घटनाभन्दा अगाडि एक उडान भरिसकेको थियो । थप तीन उडान भर्न बाँकी थियो । नेपाल एयरलाइन्सले पर्यटकीय स्थान भएकाले सो क्षेत्रमा पाँच उडान राखेको थियो ।
गत वर्षको जेठ १ गते पनि जोमसोममै अग्नी एयरको विमान दुर्घटना हुँदा १६ यात्रुको मृत्यु भएको थियो ।
मरेर बाचेको क्षण
फणीन्द्र फूयाँल

हामी बिहान ८:१० मा पोखराबाट उड्यौँ । लगभग २० मिनेटको यात्रापछि ८:३० मा जोमसोम पुग्दै थियौँ । बाटोमा विमानमा कुनै पनि समस्या देखिएको थिएन । पर्यटकलगायत हामी सबै हिमाली शृंखला हेर्दै, फोटो खिच्दै रमाउँदै थियौं ।
जब जोमसोम विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा टायरले भुइँ छोयो, विमानको स्पिड कम होला र नियन्त्रणमा आउला भन्ने लागिरहेको थियो । तर दायाँबायाँ हल्लिँदै स्पिड झन् बढ्न पो थाल्यो । म सबैभन्दा पछाडिको सिटमा थिएँ, सँगै विमान परिचारिका बहिनी हुनुहुन्थ्यो । उहाँ Fadindra-Funyalआत्तिनुभयो । के भयो यस्तो भन्दै कराउनुभयो । भुइँमा आइसकेको विमान पक्कै नियन्त्रणमा आउला भन्ने सोचिरहेको थिएँ, त्यसैले तत्काल मलाई डर लागेन । तर, धावनमार्गमा पनि प्लेन निकै बेर दौडिरह्यो । रोकिने छाँट नै देखिएन । झ्यालबाट बाहिर हेरेँ, धावनमार्गको पिच हैन, घाँसैघाँस देखिन्थ्यो । लौ अब मरियो भन्दै माया मारें । सँगैका अरू यात्रु पनि कराउन थाले । सबैले आश मारिसकेका थिए । एकैपटक गड्याङ्ग ठूलो आवाज आयो । यात्रुबीच कोलाहल मच्चियो तर कसैलाई चोट लागिहालेको थिएन ।
त्यति बेला छेवैमा इमर्जेन्सी ढोका देखें । त्यसलाई तान्ने र घचेट्ने गरें तर खुलेन । अगाडि हेरेको अर्को ढोका खुल्लै रहेछ । कसरी खुल्यो, मैले पत्तो पाइनँ । आत्तिँदै त्यही ढोकातिर लागेँ । तल हेरेको त कालीगण्डकी नदी । हाम फाल्न पनि नसकिने । आत्तिएर मरेजस्तै भएँ केही बेर किनकि मलाई पौडिन आउँदैन ।
विमानभित्रै बसौं, विस्फोट होला भन्ने डर । बाहिर निस्कौं नदीमा डुबिएला † केही बेरपछि फेरि बाहिर हेर्दा भाग्यवश विमान नदीको किनारमा रहेछ । बिस्तारै बाहिर निस्कें । काँडेतार रहेछ । त्यहाँबाट पनि निस्कें । फेरि ढुंगैढुंगा रैछन् । त्यसलाई पार गरेपछि कसैले हात दिएको देखें । त्यसपछि के भयो, मलाई थाहा भएन । एक घण्टापछि होस खुल्दा अस्पतालमा रै’छु । वरपर मान्छेको भीड देखेर छक्क परें । ठूलो सपनाबाट बिउँझिएजस्तो भयो । अचम्म लागिरहेछ, म मरेर बाँचे कि बाँचेर मरें †
(फेसबुकको स्टाटसबाट)

प्रतिक्रिया