‘श्रेष्ठको कुनै पनि पदीय हैसियत थिएन र छैन’

bhumiraj niraula 1काठमाडौं, २ जेठ । चुरे भावर राष्ट्रिय लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरौलाले रामबहाला श्रेष्ठलाई पदाधिकारी बैठकले कारबाही गरेको जनाएका छन् ।
अध्यक्ष निरौलाले आज (बिहीबार) विज्ञप्ति जारी गरेर श्रेष्ठले पार्टीका नाममा लेटरप्याड दुरुपयोग गरेर आफूलाई बद्नाम गर्न सक्रिय रहेको आरोप लगाएका छन् । ‘पार्टीमा काम गर्छु भन्दै आएका रामबहाला श्रेष्ठ एकसातामै कार्यवाहक अध्यक्ष हुँ भन्दै मिडियाका ढोका चहारिरहेका छन्,’ उनले भने, ‘श्रेष्ठको कुनै पनि पदीय हैसियत थिएन र छैन ।’
अध्यक्ष निरौलाले कसैको उक्साहटमा व्यक्तिगत र पार्टीको छवि बिगार्दै हिँडेका श्रेष्ठले मिडियालाई उपयोग गर्दै नकारात्मक प्रचारवाजी गरिरहेको आरोप लगाएका छन् ।
कार्यबाहक अध्यक्षका हैसियतमा लेटरप्याड दुरुपयोग गरेपछि पदाधिकारी बैठकले श्रेष्ठलाई पार्टीबाट निश्कासन गरेको निरौलाको दाबी छ ।
‘चुरेभावर राष्ट्रिय लोकतान्त्रिक पार्टीलाई निर्वाचन आयोगमा दर्ताका लागि पार्टी नेतृत्व जिल्ला/जिल्लामा हस्ताक्षर संकलन तथा संगठन सुदृढीकरणमा व्यस्त भएकाबेला गलत उद्देश्यले प्रेरित व्यक्तिको हवालामा प्रकाशित सामाग्रीले दु:खित तुल्याएको छ,’ उनले भनेका छन् ।
मुल पार्टी चुरे भावर राष्ट्रिय एकता पार्टीबाट विभाजित हुँदै चुरे भावर राष्ट्रिय लोकतान्त्रिक पार्टी गठन गरेका निरौलालाई श्रेष्ठ समूहले कारबाही गरेर निष्कासन गरेको दाबी गर्दै आएको छ । उता निरौला समूहले पनि श्रेष्ठलाई कारबाही गरेको जनाउँदै आएको छ ।

प्रतिक्रिया