सुख्खा बगरमा खरबुजा खेती

Kharbujaनुवाकोट, २ जेठ । हातमा सीप र मनमा जाँगर भयो भने के हुँदैन र ? खोलाको सुख्खा बगरमा पनि रसिलो तरबुजा फलाउन सकिने उहाहरण नुवाकोटका किसानले देखाएका छन् । वर्षौंदेखि प्रयोगविहीन खोलाको बगरमा तरबुजा खेती गरेर किसानले आफ्नो जाँगर मात्र देखाएका छैनन् । राम्रो आम्दानी पनि हात पारेका छन् ।
लघु उद्यम विकास कार्यक्रम (मेडेप) को आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक तथा व्यावसायिक विकास प्रवद्र्धन समाज (कोब्डेप्स) ले सञ्चालन गरेको कार्यक्रमपछि जिल्लाका चौघडा, खानीगाउँ, कविलास र रातमाटे गाविसका किसानले खेर गएको बगरलाई उपयोगमा ल्याउँदै तरबुजा खेती थालेका हुन् । गत पुसमा तालिम पाएका ३३ जना किसानले बगर र बगरनजिकको बलौटे माटोमा सुरु गरेको तरबुजा खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । प्रतिरोपनीमा खेती गर्न १० हजार खर्च लाग्ने र आम्दानी भने ३५ देखि ४५ हजार हुने भएपछि किसान तरबुजा खेती गर्न आकर्षित भएको कोब्डेप्सका कार्यक्रम अधिकृत राजेन्द्र भण्डारीले बताए । ‘पहिलो किसानले पनि के होला र भन्थे अहिले उनीहरू उत्पादनबाट उत्साही भएका छन्,’ भण्डारीले भने ।
एक रोपनी क्षेत्रफलमा ३ हजार किलोसम्म फल्ने तरबुजा अहिले किसानहरुले आफ्नै बारीबाट प्रतिकिलो २५ देखि ३५ रुपियाँमा धमाधम बिक्री गर्न थालेका छन् । पहाडी क्षेत्रमा भए पनि तातो हावापानी भएकाले उत्पादन राम्रो, गुणस्तरीय, तराईतिरको भन्दा पनि स्वादिलो भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले बताए ।
स्वास्थ्यका लागि अति फाइदा जनक भएको तरबुजा खेती नुवाकोटको माग धान्नेगरी मात्र उत्पादन गर्नसके पनि पनि किसानले धेरै आम्दानी गर्नसक्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले बताए । ‘अहिले किसान भर्खर यो खेतीमा आकर्षित हुन थालेका छन् । आगामी दिनमा अझै धेरै किसानलाई यो खेतीमा संलग्न गराउन कार्यालयले प्राथमिकता दिने प्रमुख अधिकारीले बताए । जिल्लाको सम्भाव्य क्षेत्रको पहिचान गरी बगरमा खेती गरेर लाभ दिलाउन जिल्ला नै लाग्ने उनले बताए । किसानले बगर मात्र होइन, बगरछेउका बलौटे माटो भएको जग्गामा पनि खेती गरेका छन् । धान मकै खेती गर्दा चार हजार कमाउन मुस्किल पर्ने गरेकोमा अहिले पैँतीस–चालीस हजार कमाइ हँुदा किसानहरू दंग परेको चौघडाका किसान सूर्यबहादुर राईले बताए ।
परम्परागत खेतीबाट लाभ लिन नसकेका किसानले फरक खालको तरबुजा खेतीबाट आम्दानीको राम्रो क्षेत्र पहिचान भएको नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शरण उत्सुक सापकोटाले बताए । ‘नुवाकोट स्ट्रबेरी, ट्राउट माछा जिल्लामा उत्पादन भएको तरबुजाको प्रचारप्रसारका लागि बुधबार किसानको उत्पादनको विदुरमा प्रदर्शनी पनि गरिएको छ । सहभागी किसानले बजारीकरणको लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रदर्शनीमा कोब्डेप्सले किसानलाई नगदसहित पुरस्कृत पनि गरेको छ । सबैभन्दा ठूलो ८ किलो ३ सय ग्रामको तरबुजा फलाएर चौघडाकी उमा राईलाई पहिलो घोषणा गर्दै एक हजार रुपियाँ नगदसहित पुरस्कृत गरिएको छ । ७ किलोको फलाउने सूर्यबहादुर राई दोस्रो र ६ किलो ५ सय ग्राम फलाउने मैती राई भएकी छिन् ।

प्रतिक्रिया