मत-विमत

साँचो विकासको परिकल्पना

सौर्य अनलाइन २०७० जेठ १ गते २३:१५ मा प्रकाशित

Madhab-sayapatriव्यक्ति, परिवार, देशको भौतिक उन्नतिलाई नै ‘विकास’ मान्दा त्यो आफ्नो गतिमा अगाडि बढिरहेकै छ । गाउँगाउँमा मोटर पुगेको छ । प्राथमिक उपचार गाउँमै सम्भव भएको छ । सञ्चारमा अपेक्षा गरिएभन्दा बढी प्रगति भएको छ । विद्यालय भवनहरू राम्रै बनेका छन् । राष्ट्रिय जनगणना–२०६८ को तथ्यांकले नेपालीको औसत आयमा वृद्धि भएको देखाएको छ । साक्षरता प्रतिशत निकै उँभो लागेको छ । जाति, भाषा, लिंग, क्षेत्रमार्फत जनताले आफ्नो पहिचान खोजेका छन् । देश र जनताको अवस्था प्रगतिउन्मुख देखिए पनि यी सूचकलाई मात्र हेर्दा देश र जनताको सर्वांगीण विकास भएको मान्न सकिन्न । हाम्रो आर्थिकस्तरमा कायाकल्प नै भए पनि स्वभाव, चरित्र, संस्कार र चेतनामा परिवर्तन आएन भने त्यो सम्पन्नताले हामीलाई आत्मसंतुष्टि दिन सक्दैन । देश र जनताको साँचो विकासका लागि निम्न कुराहरूमा हाम्रो ध्यान जानु जरुरी देखिन्छ ।
(१) देश जनप्रतिनिधिविहीन अवस्थाबाट गुज्रिरहेकाले तत्काल नयाँ नीतिनियम बन्ने अवस्था छैन । सबै समस्या समाधानको मूल जरो राजनीति हो । देशको राजनीतिक अवस्था भताभुंग भएकाले त्यसको असर सबै क्षेत्रमा परेको छ । राजनीतिले नै सबै नीतिहरूलाई दिशानिर्देश गर्ने भएकाले पहिले यो गन्जागोलको अवस्थाबाट हामीबाहिर निस्कनुपर्छ । देशलाई लामो समयसम्म राजनीतिक जुवाको दाउमा राख्नु हुँदैन । यो अवस्थाले देशमा प्रतिक्रान्ति वा ठूलै अनिष्ट निम्त्याउन सक्छ । नीति र नियत राम्रो भयो भने देशमा सबै कुरा राम्रो हुन्छ ।
(२) बदलिँदो समयसन्दर्भले हाम्रा आवश्यकता बढाउँदै लगेका छन् । ती आवश्यकता पूरा गर्ने स्रोतसाधन हाम्रै देशमा उपलब्ध भए पनि हाम्रो अदूरदर्शी सोच, गैरजिम्मेवार प्रवृत्तिले गर्दा हामी पछाडि धकेलिइरहेका छौँ । छिनछिनमा विश्वग्रामको परिस्थिति, परिवेश परिवर्तित भइरहेको छ । हाम्रा पुराना नीति–नियम फेल भइरहेका छन् । हामीले हाम्रा विगतका कमीकमजोरीप्रति आत्मा आलोचना गर्दै आगामी बाटो पहिल्याउनुपर्छ ।
(३) हामीले हाम्रा प्रत्येक क्रियाकलापलाई अर्थतन्त्रसँग जोड्नुपर्छ । खरबौँ रुपियाँ रेमिट्यान्स देशमा भित्रिरहेको छ । सहरमा घरघडेरी किन्न त्यो रकम खर्चिइरहेको छ । रेमिट्यान्सलाई मात्र पनि उद्योगधन्दा, व्यवसायमा लगानी गर्न सक्दा धेरै युवाहरूले स्वदेशमै रोजगारी पाउन सक्छन् । देशमा कृषिको विकल्प नभएको हुनाले यसलाई विशेष प्राथमिकता राखी खेती गर्ने र गर्न चाहने युवालाई प्रविधि, सीप र अनुदानसहित वैज्ञानिक खेती गर्न गाउँ फर्काउनुपर्छ । यसका लागि सिँचाइ, मल, बीउ, औजार सहज र सस्तो मूल्यमा उपलब्ध हुनुपर्छ । युवालाई खेतीमा आकर्षित नगरेसम्म कृषिक्षेत्र उँभो लाग्न सक्दैन । उब्जाउ जमिनमा सिमेन्टको पिलर नठड्याइ खेतीकै लागि प्रयोग गर्नुपर्छ ।
(४) प्राकृतिक स्रोत, सांस्कृति सम्पदा, युवा जनशक्ति, पर्यटन, विज्ञान–प्रविधि सबै क्षेत्रलाई हाम्रो अर्थतन्त्रसँग जोड्नुपर्नेमा जल, जंगल जमिन, जडीबुटी, जनशक्तिका कुरा हामीले मजाले उराल्यौँ तर ‘जिम्मेवारी’ बोध गरेनौँ । विश्वमै जलस्रोतको दोस्रो धनी देशमा बिजुली बत्ती बल्न सुरु भएको एकसय वर्षमा पनि ७०० मेघावाट बढी बिजुली उत्पादन गर्न सकेनौँ । हामीसँग सीप, प्रविधि र गुरुयोजना नभएर यस्तो भएको हो । डोको बुन्ने सामान्य सीप भएको एउटा किसानको हात, खल्ती खाली हुँदैन तर सैद्धान्तिक शिक्षामा स्नातकोत्तर गरेको ‘कथित बौद्धिक’ व्यक्ति बेरोजगार बसिरहेको छ ।
(५) देशमा भएका जडीबुटीलाई प्रशोधन गरी औषधि बनाउने कामलाई तीव्रता त दिनुपर्छ नै त्यस अतिरिक्त हरिया वनजंगललले बढी कार्वन खपत गर्ने हुनाले कार्वन व्यापार आम्दानीको ठूलै बाटो हुन सक्छ । डेनमार्कको कोपनहेगनमा भएको सम्झौताअनुसार औद्योगिक राष्ट्रहरूले बढी कार्वन खपत गर्ने राष्ट्रलाई कार्वन खपत अनुपातको रकम दिनुपर्ने सम्झौता भएको छ । नेपालका कतिपय सामुदायिक वनहरूले ठूलै रकम हात पार्न थालेका छन् । यसबाट हाम्रो
वातावरण जीवानुकूल हुनुको साथै प्रशस्त पैसा भित्र्याउन सक्छौँ । प्राकृतिक वातावरण राम्रो हुँदा पर्यटकहरू बढ्छन् । पर्यटन हाम्रो मुख्य आर्थिक स्रोत हुँदै आएकोमा प्रमुख स्रोत बन्न सक्छ ।
(६) नेपालमा जाति, धर्म, भाषा, हावापानी, भौगोलिक बनावट सबैमा बहुलता र विविधता छ । जाति, लिंग, भूगोल, संस्कृति हाम्रा विभेद होइनन् । सोच विभेदी हो । देश अब पुरानो संरचनामा चल्न सक्तैन । २०२८ सालमा बनेको शिक्षा ऐनमा धेरथोर संशोधन गरी काम चलाइराखिएको छ । तल्लो कक्षादेखि नै प्राविधिक एवं औद्योगिक शिक्षा अनिवार्य गर्ने गरी शिक्षा ऐन—नियमावलीमा ठूलै परिवर्तनको खााचो देखिएको छ । चार दशकअघिको स्थानीय निकाय सञ्चालन संयन्त्रमा खासै परिवर्तन भएको छैन । भ्रष्टाचार देशको सबैभन्दा ठूलो वैरी भएर देखा परेको छ । कर्मचारीले भ्रष्टाचार गरे जागिरबाटै हटाउने, नेताले गरे दलले साधारण सदस्यबाट हटाइदिने र राजनीति गर्न प्रतिबन्ध गरिदिने हो भने स्वत: भ्रष्टाचार घट्छ ।
(७) भौतिक विकास मात्र हाम्रो सर्वपक्षीय विकास होइन भन्ने कुरा एकदुइटा उदाहरणले पस्ट पार्छ । संयुक्त राज्य अमेरिका विश्व अर्थतन्त्रमा हैकम जमाउँदै आएको देश हो । उसको तैनाथी सबैले स्वीकार्नै पर्ने अवस्था छ । अर्थबल र हतियार बलमा ऊ ‘नम्बर वन’ राष्ट्र हो । बेलाबखतमा उसको भौतिक विकास उसैलाई शत्रु पनि भएको छ । विश्वकै धनीमध्येमा गनिएको नेपालको राजसंस्थाको परिवार एकचिहान भयो । बढी सुरक्षित र शक्तिशाली नै कहिलेकाहीँ असुरक्षित र शक्तिहीन हुन्छ । विकसित, शक्तिशाली, र सुरक्षित बन्ने होडमा खतरा पनि निम्तिँदै गइरहेको हुन्छ । शिक्षा र सम्पन्नता मात्र सबै कुरा होइन । हामीले खोजेको व्यक्ति, परिवार, समाज सभ्य, शालीन र विवेकी हो । शिक्षा र भौतिक विकाससँगै व्यक्ति, परिवार, समाज र राष्ट्रको चारित्रिक विकास पनि एकै समयमा हुनुपर्छ । अनैतिक, दुराचारी व्यक्ति जति नै शिक्षित र सम्पन्न भए पनि त्यस्ता व्यक्तिको परिवार, समाज र राष्ट्र नै लंगडो हुन्छ ।
(८) मानिसमा चेतना बढेको देखिए पनि चरित्र भत्किएको छ । नीति बने पनि नैतिकता स्खलित भयो । मान, सम्मान, आदर, स्नेहका कुरा हराए । कसैले कसैलाई टेर्न छाडे । देशमा अराजकताको स्थिति आयो । हामी अर्कोतिर औँलो तेस्र्याएर आफू चोखो बन्न खोजिरहेका छौँ । लोकतन्त्रको नाउँमा छाडातन्त्र आयो । त्यसैलाई हामीले स्वतन्त्रता भनेर बुझ्यौँ । स्वतन्त्रता भनेको मनपरी गर्न पाउनु होइन । मान्छेको नैतिकता, आचरण, चरित्रलाई शुद्धीकरण गर्न कम्तीमा १२ कक्षासम्म नैतिक शिक्षा अनिवार्य गरिनुपर्छ । किशोरावस्थासम्म यो शिक्षा आवश्यक छ । त्यसपछि विद्यार्थीले आपैँm विवेकसम्मत निर्णय गर्न सक्छन् । तिनै पछि देशको असल नागरिक हुन्छन् । बिग्रेभत्केका कुरा मात्र गरेर समय खेर फाल्नु उचित हुँदैन । विगतका गल्ती, कमजोरीबाट शिक्षा लिने हो, पछुताउने होइन । सुधार्ने हामीले नै हो । हामीले शिक्षामा मात्र नभई सबै क्षेत्रमा नवीन चेत, नयाँ दृष्टिकोण, उन्नत अवधारणा लिई अघि बढ्ने समय घर्किनै लागेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय