थापाथली क्याम्पसमा धर्ना

काठमाडौं, २ जेठ । काठमाडौं : इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा.हरिराम पराजुलीको राजीनामा माग गर्दै प्राध्यापक तथा कर्मचारीले धर्नालाई निरन्तरता दिएका छन् । त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले पराजुलीले कर्मचारीलाई जवरजस्ती निकाल्न लागेको भन्दै १५ दिनदेखि धर्ना दिँदै आएका हुन् ।
प्राध्यापक संघको इकाई सभापति निरञ्जन केसीले अस्थायी तथा करार प्राध्यापक तथा कर्मचारीलाई क्याम्पस प्रमुखले आस्थाका आधारमा हटाउन लागेकाले राजीनामा माग गरिएको बताए । आफूहरूमाथि क्याम्पस प्रमुखले अभद्र व्यवहार गर्ने गरेको आरोप उनले लगाए ।
त्रिवि प्रजातान्त्रिक प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, त्रिवि प्रगतिशील प्राध्यापक संगठन पनि ऐक्यवद्धता जनाउँदै धर्नामा बसेका छन् ।
उनीहरूका अनुसार यसअघि पराजुलीले आस्थाका आधारमा भण्डारण शाखाकी उषा आचार्यलाई निष्काशन गरेका थिए । कर्मचारी संघका इकाई सभापति प्रकाश पुडासैनीले विनाकारण पार्टीगत आस्थाका आधारमा क्याम्पस प्रमुखले कर्मचारीलाई हटाउने धम्की दिन थालेपछि राजीनामा माग गरिएको बताए ।

प्रतिक्रिया