सुधारिएको चुलो बनाउने अभियान

इलाम : जिल्लाका तीन गाविसलाई घरभित्रको धुवाँमुक्त गाविस घोषणा गर्नका लागि सुधारिएको चुलो निर्माण अभियान सुरु भएको छ । चालु आर्थिक वर्ष ०६९/७० मा सोयाङ, साँखेजुङ र लुम्दे गाविसलाई धुवाँमुक्त गाविस बनाउन चुलो निर्माण अभियान सुरु गरिएको हो । वन जंगलको प्रयोग कम गराउँदै वातावरण विनाश हुन नदिने मुख्य अभिप्रायले गाउँ–गाउँमा सुधारिएका चुलो अभियान थालिएको जैविक सहयोग कार्यक्रमअन्तर्गत एनसिडिसीका उदयविक्रम थापाले बताए । घरभित्र धुवाँमुक्त बनाइए गृहिणी र बालबच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्दैन ।
नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) इलाम र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र फिक्कलको प्राविधिक सहयोगमा सुधारिएको चुलो निर्माण भइरहेको छ । एनसिडिसीले उत्पादन गरेका २५ जना प्रवद्र्धकले ती गाविसमा चुलो बनाइरहेका छन् । सिद्धिथुम्का गाविसमा ८२६ घरधुरीमा सुधारिएको चुलो निर्माण गरी घरभित्रको धुवाँमुक्त गाविस घोषणा भइसकेको गाविस सचिव युवराज घोर्साईले बताए । साना तथा घरेलु उद्योग सञ्चालन गर्न संस्थागत चुलोसमेत निर्माण गर्न सकिने घोर्साईले बताए । सुधारिएको चुलो निर्माण गर्न डेढ किलो रड, दुई किलोग्राम चिनी, एक किलोग्राम नुन, दुई मिटर टिन आवश्यक पर्छ । प्रवद्र्धकलाई एनसिडिसीले आवश्यक तालिम दिने गरेको छ । चालु आवमै यी चार गाविसलाई घरभित्रको धुवाँमुक्त बनाउन गाविस र स्थानीयस्तरमा रहेका संघसंस्थाले पनि सहयोग गरिरहेका छन् ।
सोयाङका एक हजार ६७ घरधुरीमध्ये करिब ४ सय घरधुरीमा चुलो निर्माण भइसकेको सचिव यामबहादुर बस्नेतले जानकारी दिए । यस्तै साँखेजुङ गाविससमेत अन्तिम चरणमा पुगेको छ । साँखेजुङमा सिमएन परियोजनाले समेत यस कार्यमा सहयोग गर्दै आएको सिमएन परियोजनाका इलाम प्रमुख सुवास चन्दले बताए । गत असारमा गोर्खे गाविसलाई घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको थियो ।

प्रतिक्रिया