पाठयपुस्तकको अनुगमन सुरु

बेलौरी, २ जेठ । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले सामुदायिक विद्यालयमा खरिद भएको पाठयपुस्तकको अनुगमन सुरु गरेको छ । कमिसनको लोभमा सामुदायिक विद्यालयमा अवैध रूपमा निजी प्रकाशनका पाठयपुस्तक खरिद भएको समाचार प्रकाशित भएपछि शिक्षा कार्यालयले बुधबारदेखि अनुगमन सुरु गरेको हो ।
कार्यालयले पहिलो दिन महेन्द्रनगर बजारमै रहेका दुईवटा विद्यालयमा अनुगमन गरेको छ । अनुगमनका क्रमम दुवै विद्यालयमा निजी प्रकाशनका पाठयपुस्तक खरिद भएको पाइएको जिल्ला शिक्षा अधिकारी राकेश श्रीवास्तवले जानकारी दिए । उनले विद्यालयमा पढाइ हुने सबै कक्षाका पाठयपुस्तक निजी प्रकाशनका खरिद भएको पाइएको बताए । शिक्षा कार्यालयले शिव ज्ञानेश्वर निम्न माध्यमिक विद्यालय र अमर सहिद निम्नमाध्यमिक विद्यालयमा अनुगमन गरेको थियो ।
जिल्ला शिक्षा अधिकारी श्रीवास्तवले अनुगमनका क्रममा निजी प्रकाशनका पाठयपुस्तक खरिद गरिएको पाइए पनि शिक्षा नियमावलीमा स्पष्ट व्यवस्था नभएका कारण कारबाही गर्न नसकिएको बताए । उनले आवश्यक कारबाहीका लागि शिक्षा विभागमा जानकारी गराए पनि स्थानीय प्रशासनसँग समन्वय गरेर कारबाही थाल्न निर्देशन आएको जानकारी गराए । तर, शिक्षा नियमावलीमा स्पष्ट व्यवस्था नभएसम्म ती विद्यालयलाई कारबाही गर्न नसकिने उनले बताए । दुवै विद्यालयका प्रधानाध्यापकले निजी प्रकाशनका पुस्तक बिक्रेताले साझा प्रकाशनका बिलसमेत उपलब्ध गराउने आश्वासन दिएपछि उक्त पुस्तक खरिद गरिएको प्रतिक्रिया दिएको उनले बताए ।
झडपले पठनपाठन बन्द
कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप हुँदा क्याम्पसमा पठनपाठन ठप्प भएको छ । गत शनिबार क्याम्पसमा भएको तोडफोडको विषयलाई लिएर नेकपा–माआवादीनिकट अनेरास्ववियु क्रान्तिकारी र नेविसंघ संस्थापन पक्षबीच भएको विवादले झडपको रूप लिएपछि क्याम्पसमा पठनपाठन बन्द भएको हो । झडपमा परी क्रान्तिकारीका जिल्ला अध्यक्ष पदमराज जोशी र नेविसंघ क्याम्पस इकाइ समितिका अध्यक्ष सामान्य घाइते भएका छन् ।
क्याम्पसमा भएको क्षतिबारे जानकारी लिने र दोषीमाथि कारबाही गर्ने विषयमा भइरहेको छलफलमा विवाद हुँदा झडपको अवस्था सिर्जना भएको नेविसंघका जिल्ला अध्यक्ष तर्कराज भट्टले बताए । तर, क्रन्तिकारीका जिल्ला अध्यक्ष पदमराज जोशीले भने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका भीम जोशीलाई अपरिचित व्यक्तिले क्याम्पसमै आएर कुटपिट गरेपछि विवाद सिर्जना भएको बताए ।

प्रतिक्रिया