लामोसाँघु–जिरी सडकखण्ड जीर्ण बन्दै

दोलखा, २ जेठ । लामोसाँघु–जिरी सडकखण्डको पुनर्निर्माण हुन नस्कदा जीर्ण बन्दै गएको छ । सडकको क्षमताभन्दा बढी सामान बोकेर सवारी–साधन गुड्न थालेपछि सो सडक जीर्ण बन्दै गएको हो । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको जिरीसम्म स्विस सरकारले साना गाडी मात्र चलाउने गरी ०३२ सालदेखि पाँच वर्ष लगाएर बनाएको तीन मिटर चौडा निर्माण गरेको कालोपत्रे सडक ठाउँ–ठाउँमा भत्किएको छ ।
सडकको स्तरोन्नतिका लागि बर्सेनि आएको बजेट मिलेमतोमा कमसल काम गरी झाराटार्ने मात्रै हुने गरेको स्थानीयको आरोप छ । मालवाहक साधनको भारले सडकमा परेका खाल्डाखुल्डी पुर्ने नाममा कालोपत्रे सडक माटोले पुर्दा धुलाम्मे भएको छ । सडक विभाग आफँैले सडक मर्मत गर्नुभन्दा जथाभावी माटो फालेर अवरोध सिर्जना गरेको छ । दैनिक सयौँ यात्रुवाहक बस र अन्य सवारीसाधन गुड्ने राजमार्गका साना खोल्सामा बनाइएका ढलाने पुलसमेत मर्मत नभएका कारण लामोसाँघु–जिरी सडक थप जोखिम बन्दै गएको स्थानीय रामशरण सापकोटाले बताए । सडकको १५ मिटरभित्र अतिक्रमण र ग्रामीण सडक बनाउने नाममा कालोपत्रेसमेत भत्काउन थालिएको सर्वसाधारणको आरोप छ ।
यो सडक मर्मत गरिएको छैन, अहिले निर्माण सामग्री बोक्ने ठुल्ठूला गाडीका कारण थप जीर्ण बनेको छ । सडक निर्माण गरेको पन्ध्र वर्षपछि पुनर्निर्माण गर्नुपर्ने सो सडक हालसम्म त्यसतर्फ ध्यान नदिँदा झन् जीर्ण बन्दै गएको हो । ग्रामीण सडक विस्तारसँगै भइरहेको अतिक्रमण र लामो समयदेखि सडक मर्मत नहुँदा लामोसाँघु–जिरी कालोपत्रे सडक धुलाम्मे र जीर्ण बनेको हो । सडकमा खाल्डाखुल्डी र धुलाम्मे बढेसँगै साना तथा ठूला सवारीसाधन सञ्चालनमा समस्या आएको सवारीचालक रामजी केसीको भनाइ छ । सडक खाल्डाखुल्डी भएकै कारण दुर्घटना हुने गरेको केसीले बताए । गम्भीर बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउनसमेत बाटोकै कारण समस्या हुने गरेको चालक दिनेश तामाङले बताए । ‘कहिलेकाहीँ डाढ, खुट्टा भाँचिएका बिरामीलाई राजधानी लैजानुपर्ने हुन्छ, त्यस्तो बेला भने धेरै समस्या हुन्छ,’ उनले भने ।
यता, डिभिजन सडक कार्यायल दोलखाका प्रमुुख अयोध्याप्रसाद श्रेष्ठले भने सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि दोलखाको बोच गाविससम्मको सडक मर्मत गरिएको बताए । यस्तै, सिन्धुपाल्चोककै ठूलोपाखर, सिलढुंगालगायत क्षेत्रमा सडकलाई चौडा गर्ने काम भइरहेको उनले जानकारी दिए । यो सडक हुँदै विभिन्न विद्युत्गृहका लागि आवश्यक सामग्री लिएर धेरै क्षमता भएका गाडी आउने भएकाले तत्काल डबल लेनको सडक निर्माण गर्नुपर्ने प्रमुख श्रेष्ठको भनाइ छ । यस्तै, रामेछाप र सिन्धुलीको सिमानामा रहेको सुनकासशी पुल निर्माण कार्य सकिनेबित्तिकै यही सडक भएर पूर्व–पश्चिम राजमार्गबाट आउने सवारीसाधन तिब्बती नाकासम्म जाने भएकाले पनि यो सडक झन् महत्त्वपूर्ण रहेको बताउँदै तत्काल डबल लेन बनाउनुपर्ने उनको भनाइ छ । यसका लागि आफूहरूसँग बजेट नहुने भन्दै मन्त्रालयले नै बजेट विनियोजन गर्नुपर्ने धारणा व्यक्त गरे । श्रेष्ठले चरिकोटदेखि तामाकोसीसम्मको सडक मर्मत गरेर मात्र नहुने भन्दै यसलाई पुनर्निर्माण नै गर्नुपर्ने बताए । आºनो कार्यालयमा मर्मतका लागि मात्र पैसा भएको जानकारी दिए ।
१० टनसम्मको भार मात्र थेग्ने गरी कालोपत्रे गरिएको यो सडकमा अहिले मापदण्डभन्दा चार गुणा बढी भार बोकेका मालवाहक गाडी र रोडा, बालुवा बोकेका ट्रिपर गुड्ने गरेका छन् ।

प्रतिक्रिया