रेग्मी र दाहालबीच छलफल

काठमाडौं, २ जेठ । संविधानसभा निर्वाचनसम्बन्धी कानुनी विवाद अन्त्यका लागि दलीय छलफलमा जुटेका अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बुधबार एकीकृत माओवादीका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेका छन् ।
अध्यक्ष रेग्मीले पछिल्लो समय चुनावको मिति तोक्ने विषयमा दलहरूसँग परामर्शलाई तीव्र बनाएका छन् । यसअघि उनले कांग्रेस, एमाले, मधेसी दल र केही साना दलसँग छलफल गरिसकेका छन् ।
दाहालसँगको भेटमा रेग्मीले चुनावको मिति घोषणा, संविधानसभा निर्वाचन कानुनसम्बन्धी अध्यादेश, समानुपातिक निर्वाचन सिट संख्यालगायत विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले विवादित विषयलाई दलीय छलफलबाटै टुंग्याउनुपर्ने र त्यसका लागि आफू सक्रिय भएर लाग्ने वचन अध्यक्ष रेग्मीलाई दिएका थिए । उनले विवादित विषयबारे पार्टीको आधिकारिक धारणा राख्दै सहमतिका लागि थप लचिलो हुन पनि तयार रहेको जानकारीसमेत गराएका थिए ।
छलफलमा अध्यक्ष रेग्मीले आगामी संविधानसभाको चुनावलाई कसरी व्यवस्थित बनाउने र चुनावका सम्बन्धमा दलहरूबीच एउटै धारणा बनाएर अगाडि बढ्नेबारे पनि अध्यक्ष दाहालको धारणा मागेका थिए ।
पार्टी उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई साथ लिएर अध्यक्ष रेग्मीलाई भेट गर्न पुगेका दाहालले निर्वाचनको मिति छिटो तोक्नु पर्नेमा जोड दिएका थिए । रेग्मीले दलीय छलफलपछि सरकारले ठोस निर्णय गरी निर्वाचनको मिति सम्बन्धी निर्णय गरीअघि बढ्ने जानकारी दिएका थिए ।
मन्त्रिपरिषद्द्वारा गठित गृहमन्त्री माधवप्रसाद घिमिरेको नेतृत्वको परामर्श तथा समन्वय समितिका सदस्यको पनि छलफलमा उपस्थिति रहेको थियो । छलफलमा निर्वाचन सम्बन्धी अध्यादेशमा उल्लेखित समानुपातिकतर्फको न्यूनतम मतको व्यवस्था, समानुपातिकतर्फको सिट संख्या, मिति घोषणा र निर्वाचनसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया