समाचारको कटिङसहितको प्रतिवेदन ल्याउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले गत १७ वैशाखमा न्यायाधीशको च्याम्बरसम्म भएको घटनाको छानबिन र त्यसयता कान्तिपुर दैनिकमा प्रकाशित समाचारको अध्ययन गरी प्रतिवेदन बुझाउन आफ्नै प्रशासनलाई आदेश दिएको छ ।
गत शनिबार कान्तिपुरमा प्रकाशित विजयकुमार पाण्डेको लेखले सर्वोच्च अदालतको मानहानि भएको जिकिर गर्दै दायर भएको मुद्दामा प्रारम्भिक आदेश दिँदै सर्वोच्चले न्यायाधीश गिरीशचन्द्र लालको च्याम्बरमा भएको घटनाको छानबिन गरी प्रतिवेदन इजलासमा पेस गर्न  प्रशासनलाई आदेश दिएको हो ।
१७ वैशाखमा पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियारप्रमुख बनाउन मिल्ने या नमिल्ने विषयमा बहस भइरहेका बेला न्यायाधीश लालले कान्तिपुर दैनिकका घनश्याम खड्कालाई इजलासबाहिर जान आदेश गरेका थिए । टिसर्ट लगाएको भन्दै लालले खड्कालाई बाहिर पठाएपछि उनी न्यायाधीशको च्याम्बरमा पुगेको सर्वोच्च अदालतको दाबी छ । सोही बेला च्याम्बरमा के–कस्तो भएको हो, त्यसको अध्ययन गरी प्रतिवेदन बुझाउन आदेश दिएको छ ।
न्यायाधीश तर्कराज भट्टको
एकल इजलासले घटना भएको दोस्रो दिन खड्काले कान्तिपुर दैनिकमा लेखेको ‘श्रीमान्लाई टिसर्ट मन नपरेपछि’ शीर्षकको लेख र त्यसयता कान्तिपुर दैनिकमा प्रकाशित समाचारको कटिङ पेस गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको छ । ‘माननीय न्यायाधीशको च्याम्बरमा घटित घटनाको छानबिनसम्बन्धमा के–कस्तो जानकारी छ, सो विवरण इजलासमा पेस गर्नू,’ आदेशमा भनिएको छ, ‘उक्त घटनापश्चात् कान्तिपुर दैनिकमा प्रकाशित समाचारको कटिङ पेस गर्नू ।’ स्रोतका अनुसार पत्रकार खड्का र न्यायाधीश गिरीशचन्द्र लालबीच भएको घटनाका साक्षी आदेश दिने न्यायाधीश भट्ट नै थिए ।

प्रतिक्रिया