उच्चस्तरीय राजनीतिक समितिमा खनाल

काठमाडौं, १ जेठ । उच्चस्तरीय राजनीतिक समितिको संयोजकको जिम्मेवारी एमाले अध्यक्ष झलनाथ खनालले आज (बुधबार) देखि पाएका छन् ।
यस अघि समितिको संयोजक कांग्रेस सभापति सुशील कोइराला थिए । कोइरालाको एक महिने कार्यकाल मंगलबार सक्किए पछि संयोजकको पद स्वत: खनालमा आइपुगेको हो ।
संविधानसभा निर्वाचन, मुलुकको राजनीतिक अवस्था र अन्तरिम मन्त्रिपरिषद्लाई सुझाव दिनका लागि एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरु सम्मिलित समिति गठन भएको थियो । समितिको संयोजक चक्रीय प्रणालीमा एक/एक महिनामा नेतृत्व गर्ने गरी मिलाईएको छ ।
खनालको एक महिने कार्यकाल सक्किए पछि मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष तथा मधेसी मोर्चाका नेता विजय गच्छेदारले जिम्मेवारी सम्हाल्ने छन् ।
उच्चस्तरीय समितिको संयोजकको जिम्मेवारी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सम्हाली सकेका छन् ।

प्रतिक्रिया