फौजदारी मुद्दा लागेका नेतालाई पनि बाटो खोलौं

baluwatarकाठमाडौं, १ जेठ । एमाओवादीले फौजदारी अभियोग लागेका नेताहरुलाई पनि संविधानसभा निर्वाचनमा उम्मेद्वारी दिने व्यवस्थासहितको कानूनमा जोड दिएको छ ।
अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग आज (बुधबार) बालुवाटारमा भएको छलफलमा एमाओवादीले फौजदारी अभियोग लागेका नेताहरुले पनि चुनावमा भाग लिन पाउनु पर्ने माग दोहर्‍याएका हुन् । ‘फौजदारी अभियोग लागेका नेताहरुले पनि चुनावमा भाग लिन पाउनु पर्छ,’ स्रोतले भन्यो, ‘अन्यथा यथाअवस्थामा निर्वाचनमा समस्या आउँछ ।’
एमाओवादीले फौजदारी मुद्दामा सजायपाएका वा अभियोग लागेका नेताहरुले पनि संविधानसभा निर्वाचनमा प्रतिस्प्रधा गर्न पाउनु पर्ने माग गर्दै आएको छ । सोही अनुसार कानून संशोधन हुनुपर्ने एमाओवादीको भनाई छ ।
त्यसै गरेर, एमाओवादीले सरकारलाई ‘थ्रेस होल्ड’को व्यवस्था नराख्न सुझाव दिएको छ । यद्यपि एमाओवादीले ‘थ्रेस होल्ड’ राख्नका लागि चार राजनीतिक शक्तिको शीर्ष बैठकमा सहमति जुनाई सकेको छ । निर्वाचनमा खसेको कुल मतको एकप्रतिसतसम्म मत ल्याउनु पर्ने कानूनी व्यवस्था राख्न कांग्रेस र एमालेको दवाव छ । एमाओवादीसहित साना दलहरुले सो व्यवस्थाको विरोध गर्दै आएका छन् ।
छलफलका क्रममा अध्यक्ष रेग्मीले निर्वाचन सम्बन्धि कानून र चुनावी वातावरण निर्माण गर्न एमाओवादीका नेताहरुसँग आग्रह गरेका थिए । निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन एमाओवादीसँग आग्रह गरेको रेग्मीका सल्लाहाकार विमल गौतमले जानकारी दिए ।
छलफलमा अध्यक्ष रेग्मी, सरकारी वार्ता टोलीका सदस्य एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया