पोखरामा पुन: बर्डफ्लुको संक्रमण

पोखरा, १ जेठ । कास्की बर्डफ्लुको संक्रमण मुक्त भएको घोषणा गरिएको एक हप्ता नबित्दै पुन: बर्डफ्लु संक्रमण देखिएको छ । कास्कीको लेखनाथ नगरपालिका तल्लो गगनगौँडा, कालीकाचोकमा बर्डफ्लुु भेटिएको हो । वसन्त श्रेष्ठको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि सो फर्ममा रहेका ५ सय ५५ कुखुरा जिल्ला पशुसेवा कार्यालय कास्कीले नष्ट गरेको क्षेत्रीय पशुसेवा निर्देशनालयका निर्देशक वंशीधर शर्माले जानकारी दिएका छन् । निर्देशनालयले मंगलबारै पत्रकार भेटघाट गरेर बर्डफ्लुबारे जानकारी दिएको हो ।
क्षेत्रीय पशुसेवा कार्यालयका अनुसार श्रेष्ठका फर्ममा २२ गते नै कुखुरा मर्न सुरु भएको थियो । श्रेष्ठले २५ गते मात्र पोखराको क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशालामा ल्याइएको डा. केदार पाण्डेले जानकारी दिए । ल्याब परीक्षणपछि केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । बर्डफ्लु भएको पुष्टि भएपछि मंगलबार किसानका कुखुरा मारिएको डा. प्रकाश श्रेष्ठले जानकारी दिए । बर्डफ्लु नियन्त्रणका लागि ३ किलोमिटर क्षेत्रमा उच्च सतर्कता अपनाइएको क्षेत्रीय निर्देशक डा. शर्माले जानकारी दिए । सो टोलीमा डा. मानबहादुर पुन, पशुविकास अधिकृतलगायत ६ जनाको टोलीले कुखुरा मारेको थियो भने दानासमेत नष्ट गरेको थियो । लेखनाथको सो क्षेत्रमा ठूलो लगानीमा कुखुरा र ह्याचरी सञ्चालन हुँदै आएका छन् ।
यसअगाडि तीन महिनापहिले पोखराको सेदी, बिरौटा, सराङकोट, सिम्पानीलगायत ठाउँमा बर्डफ्लुको भाइरस भेटिएको थियो । बर्डफ्लुको संक्रमण भेटिएका यी चारै स्थानबाट करिब २२ सय कुखुरा नष्ट गरिएका थिए । कुखुरा झोक्राउने, अचानक मर्ने, अन्डा दिइरहेको कुखुराले एक्कासि अन्डा कम दिन थालेमा, दाना नखाएमा, र्‍याल काडेमा तत्काल पशुसेवा कार्यालयमा खबर गर्न आग्रह गरिएको छ । ‘संक्रमण देखिए पनि अहिले नै डराउनुपर्ने अवस्था छैन, आवश्यक परे जिल्लास्थित बर्डफ्लु नियन्त्रण संयन्त्रले जिल्ला प्रवेश नाकामा पन्छीजन्य वस्तुको आयातमा रोक लगाउन सक्छ,’ शर्माले भने ।
वर्डफ्लु संक्रमणपछि नष्ट गरिएको ब्रोइलर कुखुरामध्ये ४ हप्ताभन्दा कमका लागि प्रतिगोटा ५० रुपियाँ र त्यसमाथिको कुखुरा नष्ट गरेबापत प्रतिकुखुरा एक सय ३० रुपियाँको साथै प्रतिकेजी दाना १० रुपियाँ राहत दिने व्यवस्था छ । कुखुरापालक वसन्त श्रेष्ठले सरकारले क्षतिपूर्ति रकम वृद्धि गरी किसानलाई राहत दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया