उनीहरू कहाँ छन् ?

sangitaदेवीप्रसाद ‘वनबासी’ को मेलमिलाप नामक कृति सार्वजनिक भएको छ । २५ चैत्र २०६९ मा प्रथम प्रकाशन भएको यो पुस्तक लेखकको मौलिक कृति नभएर सन् १९७० को उत्तरार्ध र ८० को दशकको सुरुकालमा भारतबाट प्रकाशन हुने विचारप्रधान साप्ताहिक पत्रिका ‘दिनमान’ मा छापिएका नेपालसम्बन्धी लेखहरूको नेपाली अनुवादको एउटा संकलित रूप हो । कुनैबेला नेपालमा भारतबाट प्रकाशित हुने दिनमान, धर्मयुग, सारिका, नवनित, कादम्बिनी जस्ता पत्रिका नेपालमा प्रिय थिए । पठनीय मानिन्थ्यो । त्यसमा पनि साप्ताहिक रूपमा प्रकाशन हुने दिनमान राजनीति शास्त्रका विद्यार्थी, अध्येतालगायत राजनीतिसाग चासो र सरोकार राख्ने जसकसैका लागि पनि निक्कै पठनीय थियो । त्यसै दिनमान साप्ताहिकमा छापिएका नेपालसम्बन्धी लेखहरू संकलन गरेर त्यसको नेपालीकरण गरेर सार्वजनिक प्रकाशमा आएको यस कृतिले तत्कालीन समयको राजनीतिक परिवेश बुझ्नलाई एउटा ऐतिहासिक दस्तावेजको रूपमा आफूलाई प्रस्तुत गरेको छ ।
यस कृतिले विगतको विश्लेषण गरेर आगामी दिनहरूका लागि कार्य योजना बनाउन राजनीतिक क्षेत्रसँग सम्बद्ध पक्षलाई निक्कै मात्रामा सहयोग पुर्‍याउन पनि मद्दत पुर्‍याउँछ जस्तो लाग्छ । दिनमानको प्रकाशन बन्द भएको लामो समयपछि आएको यस पुस्तकले राजनीति शास्त्रका अध्येता र शोधकर्ताका लागि पनि एउटा भरपर्दो अध्ययन सामग्री निश्चय पनि हुनेछ भन्ने लाग्यो । त्यसको साथसाथै ओझेलमा पर्दै गएका बिपीका चिन्तनलाई बुझ्न पनि यो निक्कै सहायक हुनेछ भन्ने लाग्छ । यसै पुस्तकले २०३५/०३६ सालको विद्यार्थी आन्दोलन र परिणाम, आन्दोलनबाट स्थापित नेतृत्वको प्रसंग र उनीहरूको वर्तमान अवस्था उल्लेखनीय लाग्यो । खोजी गर्न मन पनि भयो ।
०३५ साल चैत्र २२ गते पाकिस्तानमा भुट्टोलाई मृत्युदण्ड दिएको विरोधमा चैत्र २४ गते पाकिस्तानी राजदूतावासमा विरोध जनाउन गएका विद्यार्थीहरूप्रति भएको दमनले ०३५/०३६ सालको विद्यार्थी आन्दोलन सुरु भयो । आन्दोलनले राष्ट्रिय रूप लियो । शैक्षिकलगायत प्रतिबन्धित विद्यार्थी युनियन खुला हुनुपर्ने समेतको माग थियो । यो विद्यार्थी आन्दोलनले राजनीतिक रूप लियो । २०३६ साल जेष्ठ ९ गते आरएनएसी, गोरखापत्र संस्थान जस्ता सरकारी भवनमा आगजनीको घटनासमेत घटित भयो । तत्कालको आन्दोलनले स्थापित विद्यार्थी नेता बलबहादुर केसी, शरणविक्रम मल्ल र कैलाश कार्कीप्रति विद्यार्थीको आक्रोश नराम्ररी पोखियो । उनीहरूलाई कालोमोसो दलेर ठेलागाडीमा घुमाउने कार्यसम्म भयो । अन्तत: २०३६ साल जेष्ठ १० गते एका बिहानै राजा वीरेन्द्रबाट जनमत संग्रहको घोषणा भएपछि विद्यार्थी आदोलन टुंगिएको थियो ।
वनबासीको ‘मेलमिलाप’ नामक पुस्तकले नै त्यो विद्यार्थी आन्दोलन र नेतृत्वको स्मरण गरायो नै त्यसका साथसाथै त्यस आन्दोलनसाग गाँसिएकाहरू अहिलेको कस्तो अवस्थामा कहाँ छन् ? राजनीति मै क्रियाशील छन् वा विमुख भए ? छन् भने उनीहरू कहाँ हराए ? छैनन् भने उनीहरूको त्यो ऊर्जा र जोस किन शिथिल भयो ? मानसिक शोध गर्न मन लाग्यो । त्यसरी ठेलागाडीमा राखेर घुमाएका विद्यार्थी त्रय नेतामा बलबहादुर केसी नेपाली कांग्रेसको राजनीतिमा अहिले पनि क्रियाशील भएको पाइन्छ । शरणविक्रम मल्ल माक्र्सवादी दर्शनप्रतिको आफ्नो विश्वास धारणा र आस्थामा अटल छन् । नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादीमा आवद्ध छन् । केसी सत्तामा पुगे भने मल्ल सत्ताबाट निकै टाढा रहिरहे । कैलाश कार्की भने कहाँ के–कस्तो अवस्थामा के गर्दै छन् ? विद्यार्थी नेतृत्वको त्यो उचाइमा पुगेका आफ्ना इतिहासलाई कसरी स्मरण गर्ने गर्छन् ? खोजीको विषय छ । राजनीतिमा उदाउनेहरू एकाएक किन अस्ताउन पुग्छन् ? उनीहरूको जीवनसँग गाँसिएको प्रश्न निरुत्तर छ ।
वनवासी कै प्रस्तुत कृतिमा ‘ठिटीहरू धेरै जान्छन्’ भन्ने आलेख पनि संकलित छ । ०३५/३६ कै विद्यार्थी आन्दोलनबाट स्थापित महिला नेतृत्वको प्रसंग छ । मीना खड्का (पाण्डे), उमा रेग्मी (अधिकारी), कमला ज्ञवाली, सावित्री भुषाल, शोभा कोइराला, चोलावती उपाध्याय, भीष्म ओझा, सुशीला खड्का, गायत्री भट्टराई आदिको नाम प्राथमिकतासाथ उल्लेख गरेको छ । उनीहरूको पृष्ठभूमि र विचारको सार पनि दिएको छ । उल्लिखित विद्यार्थी नेतृमध्येमा मीना खड्का पाण्डे, उमा रेग्मी अधिकारी नेपाली कांग्रेसको राजनीतिमा अहिलेसम्म निरन्तर क्रियाशली छन् । अरू कहाँ हराए ? उनीहरू राजनीतिमा नै भएर ओझेलमा छन् ? राजनीतिसँग कि विमुख नै भए ? राजनीतिबाट हराउनुको कारण के थियो ? मनमा जिज्ञासा आयो ? २३–२९ सेप्टेम्बर १९७९ मा प्रकाशित दिनमानमा आफ्नो स्थान राख्न सफल ती महिला पात्रहरू मध्येकी भीष्म ओझाले ‘परम्परालाई त्यहीँ तिलाञ्जली दिनेछिन् जहाँ अनिवार्य हुनेछ’ भनेर दृढता व्यक्त गरेकी थिइन् । सुदूरपश्चिमाञ्चलको डोटी जिल्लामा जन्मिएकी ओझा आवश्यकताअनुसार परम्परालाई के–कति मात्रामा तोड्दै गइन् ? उनको विद्यार्थी जीवनमा सुरु गरिएको राजनीतिक यात्रा बिराम लागेको छ वा छैन ? उनीलगायत अन्य नेतृहरू कुनै राजनीतिक दलसँग आबद्ध छन् वा छैनन् ? मनमा नमेटिने कौतूहलता पनि उठ्यो ? उनीहरूको इतिहासको एक कालखण्डलाई उजागर गर्न मन लाग्यो ।
०३७ साल जेष्ठ १० गते भएको जनमत संग्रह सुधारिएको पञ्चायत कि बहुदल भन्ने विषयमा भएको थियो । जनमत संग्रहको निर्वाचनमा ७० प्रतिशत मानिसहरू मतदान गर्न गए र महिलाहरू पनि पुरुषहरूसँग पछि परेनन् भन्ने प्रस्तुत कृतिमा उल्लेख छ । मतदान गर्ने ४३ लाख मतदाताहरूमध्ये २१ लाख त करिब महिलाहरूनै थिए भनिएको छ । काठमाडौं उपत्यकाका सहरहरूमा ९० प्रतिशत मतदान भयो भनिएको छ । उत्तर पहाडका केही सहरहरूमा ८० प्रतिशत मत परेको कुरा पनि छ । जनमत संग्रहपछि ०४६ साल, २०६२/०६३ को आन्दोलन भयो । त्यतिखेर उत्साह लिएर मतदानमा भाग लिनेहरूले अहिलेको क्रूर कालखण्डलाई कसरी मूल्यांकन गरेका होलान् भन्ने जिज्ञासा पनि मनमा नजानिँदो किसिमले उब्जेको पनि छ ।

प्रतिक्रिया