मुस्लिमका घरेलु चुरा उद्योग बन्द

Mushlim-Churaदैलेख, १ जेठ । बडलम्जी–५ का शंकरे मियाँका १२ जनाको परिवारले कुनै बेला काँडे चुरा बेचेर गुजारा चलाउने गथ्र्यो । मुस्लिम समुदायले बनाएका काँडे चुराले कुनै बेला यहाँका महिलाका नाडी भरिएका हुन्थे । मेलापात र घरधन्दामा व्यस्त हुने महिला कुराहाँमा बनेका चुरा बलिया हुने भएकाले खुब मन पराउँथे ।
जिल्लाभित्र मात्र नभई छिमेकी जिल्ला सुर्खेत, अछाम र कालिकोटका महिलाले पनि आफन्तसँग चिनोको रूपमा यहाँकै चुरा झिकाउँथे । तर, कुनै बेला यतिसम्म लोकप्रिय बनेको काँडेचुरा भने आजभोलि हराउन पुगेको मियाले बताए । कच्चापदार्थको अभाव हुनु र बाहिरबाट आउने रंगीचंगी चुरासँग प्रतिस्पर्धा गर्न नसकेपछि मुस्लिम समुदायका घरेलु चुरा उद्योग बन्द भएका हुन् । समुदायका ८७ मध्ये हाल ६ घरधुरीले मात्र जेनतेन उद्योग चलाइरहेका छन् । स्थानीय करिम बकस मियाँले उद्योग बन्द हुनुमा कच्चापदार्थको अभाव मुख्य समस्या भएको बताए । ‘पहिले प्रत्येक घरैपिच्छे काँडेचुराका उद्योग थिए । ‘यसैबाट गुजारा पनि चलेको थियो,’ उनले भने, पुर्खौंदेखिको सिप खेर जानथाल्यो ।’ यसप्रकारको चुराका लागि दाउरा, फुटेको चुरा, सिसा, रङलगायत कच्चापदार्थ आवश्यक पर्दछ ।
हप्ताभन्दा बढी समय खर्चेर कच्चापदार्थ जुटायो, एक दिनमा डेढ सय पनि हुँदैन । त्यसैले अकासिँदो मूल्य वृद्धि महँगाइका कारण परिवारमा गुजारासम्म नहुने भएपछि बन्द नगरेर के गर्नु ? अर्का उद्यमी इसाक अलीले भने । पछिल्ला वर्षहरूमा आफूहरूले बनाएको चुरामा महिलाको आकर्षण घटेको उनले बताए । बाहिरबाट आउने चुराभन्दा यो साधारण र महँगो भएकाले पनि बजार नपाएको मुस्लिम उद्यमीको गुनासो छ ।
चुरा उद्योग बन्द हुने क्रम बर्सेनि ब ढेपछि समुदायका २५ वर्षका युवादेखि ६५ वर्षसम्मका वृद्धहरू बकर–ईद मनाएर पैसा कमाउन भारत जाने गरेको उनले बताए । ‘पुर्खौंदेखि यही पेसा गर्दै आएकाले रोजगारीको अन्य बाटो रोजेनौँ,’ करिम बकसले भने, ‘अब बुढ्यौलीमा काम खोज्दै भारत जानुपर्ने भयो, मुस्लिम समुदायले बताउने गरेका छन् । यहाँको गाउँमा मुस्लिम समुदायका ६० घरधुरीमा करिब ४ सय जनसंख्या  छ ।

प्रतिक्रिया