चिट चोराउने परीक्षा केन्द्राध्यक्ष पक्राउ

राजविराज, १ जेठ । उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा ११ को परीक्षामा बाहिरी जिल्लाबाट मानिस बोलाएर चिट बनाउन लगाई चोराएर परीक्षा अमर्यादित बनाउने सप्तरीको जन्डोलस्थित ठाकुरजी उमावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अखिलेशकुमार झासहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केन्द्रध्यक्ष झा र सुनसरीको इनरुवा–५ निवासी सञ्जीव भण्डारी छन् ।
परीक्षा अमर्यादित रूपमा सञ्चालन भइरहेको पाइएपछि प्रहरीले निगरानी गर्दा झा र भण्डारीको मिलेमतोमा चिट चोराउने कार्य भइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अग्रेजी विषयमा स्नाकोत्तर गरी सप्तरीमा अध्यापन पेसामा आबद्ध भण्डारीलाई कार्यालयमा बसाएर चिट बनाउन लगाउने र अन्य शिक्षकमार्फत परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्‍याउने गरेको भेटिएपछि दुवैलाई नियन्त्रणमा लिइएको एसपी सञ्जयसिंह बस्नेतले बताए ।
दुवैलाई जिल्ला अदालत राजविराजबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परीक्षा अमर्यादित बनाउने कार्यमा संलग्नलाई १ लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको जानकारी दिँदै के कारबाही हुने भन्ने विषयमा पछि सार्वजनिक गरिने एसपी बस्नेतले बताए ।
यसैगरी, कल्याणपुरस्थित भोसरा जनता उमावि परीक्षा केन्द्रमा आफ्नै दाजु सरोजकुमार यादवको ठाउँमा परीक्षा दिँदै गरेका सिरहाको सखुवानन्कट्टी–४ का सुवास यादवलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवलाई जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अढाई वर्षदेखि मलेसियामा कार्यरत दाजुको सप्तरीस्थित बोदेवरसाइन उमाविमा फारम भरी यादव परीक्षामा सहभागी भएका थिए । उनले यसै वर्ष एसएलसी पास गरेका छन् ।

प्रतिक्रिया