खुला दिसामुक्त बनाउन सरसफाइ परिचयपत्र

Charpiइलाम, ३१ वैशाख । सरकारी सेवालाई शौचालय अनिवार्य हुनुपर्ने व्यवस्था कार्यान्वयन गराउनका लागि जिल्लामा ‘सरसफाइ परिचयपत्र’ वितरण गर्न थालिएको छ । जिल्ला विकास समितिले १४ वटा गाविसमा शौचालय भएकालाई सरसफाइ परिचयपत्र वितरण थालेको हो । जिविसले बनाएको परिचयपत्र गाविसले उपलब्ध गराउँदै छ ।
शौचालय निर्माण गरी गाउँलाई खुला दिसामुक्त बनाउन उत्प्रेरित गर्ने उद्देश्यका साथ परिचयपत्र वितरण थालिएको जिविसले जनाएको छ । जिल्लाका श्रीअन्तु, इरौँटार, फिक्कल, कोल्बुङ, शान्तिडाँडा, साँखेजुङ, माइमझुवा, चमैता, पञ्चकन्या, माइपोखरी, नामसालिङ, बरबोटे, मंगलबारे र पशुपतिनगर गाविसका शौचालय भएको परिवारलाई परिचयपत्र वितरण भइरहेको छ ।
वडा–वडामा गएर परिचयपत्र वितरण गरिएको कोल्बुङका गाविस सचिव भोजकुमार अधिकारीले जानकारी दिए । शौचालय नभएका अति विपन्न परिवारलाई अत्यावश्यक सामग्री दिएर सहयोग गर्ने गाविसले जनाएको छ । कोल्बुङ गाविसले पक्की शौचालय नबनाउने घरका सेवाग्राही आए राज्यबाट प्रदान गरिने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय यसअघि नै गरिसकेको छ  । परिचयपत्र वितरण सकिएपछि गाविस र जिविसले परिचयपत्रका आधारमा मात्र सेवा उपलब्ध गराउने जनाएका छन् ।
परिचयपत्र नहुनेलाई नागरिकतालगायत अन्य प्रमाणपत्रको सिफारिस, जन्म, मृत्यु, बसाइँ सराइ, विवाह दर्ता, वृद्धवृद्धा, एकल, दलित, लोपोन्मुख भत्तासहित सामान्य सरकारी कामसमेत रोक्ने स्थानीय विकास अधिकारी सुमन घिमिरे बताउँछन् । शौचालय भए/नभएको अनुगमन गाविसमा भएको सरसफाइ समन्वय समिति र वडा नागरिक मञ्चले अनुगमन गर्ने भएका छन् । गाविसले शौचालय नहुनेका नामावली लिइसकेका छन् । खुला दिसामुक्त बनाउन प्रत्येक गाविसले छुट्टाछुट्टै कार्यायोजनासमेत बनाइसकेका छन् ।
जिल्लामा पहिलोपटक साखेजुङलाई खुला दिसामुक्त गाविस घोषणा गर्न गाविसले सरकारी सेवा रोकेको थियो । त्यो अभियान सफल भएपछि जिविसको अगुवाइमा अन्य गाविसले पनि त्यसको अनुसरण गरेका हुन् । जिल्लामा ६३ हजार चार सय २१ परिवार रहेकोमा २० हजार तीन सय १४ परिवारमा शौचालय नभएको जिविसको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया