चुनावको निष्पक्षतामा अमेरिकी चासो

Peter-W.-Bodde,-U.S.-Ambassकाठमाडौं, ३१ वैशाख । अमेरिकी राजदूत पिटर डब्लु बोडेले संविधानसभा चुनाव स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित रूपमा सम्पन्न गराउन कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गरेका छन् ।
राजदूत बोडेले सोमबार कांग्रेस सभापति कोइरालालाई भेटी निष्पक्ष चुनाव सम्पन्न गराउन अमेरिकाले नेपाललाई सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए । चुनावमार्फत नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत होस् भन्ने अपेक्षा आफूहरूले राखेको बोडेले जानकारी गराएका थिए । उनले अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनप्रति असन्तुष्ट भई चुनावप्रति सकारात्मक नदेखिएका नेकपा–माओवादीलगायत राजनीतिक दलहरूलाई पनि समेटेर अघि बढ्न आग्रह गरेका थिए । उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका कोइरालालाई भेट्न बोडे सोमबार बिहान महाराजगन्जस्थित कोइराला निवास पुगेका थिए ।
कोइरालाले जवाफमा चुनावका लागि आवश्यक पर्ने ऐन–नियम परिमार्जन तथा चुनावको मिति तोक्नका लागि दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै सहमतिमा पुगिने बताएका थिए । भेटमा सहभागी कांग्रेस नेता डा. मीनेन्द्र रिजालले कोइरालाले बोडेलाई मन्त्रिपरिषद् गठनप्रति असन्तुष्ट दलहरूसँग चाँडै सहमति गरी चुनावमा जानेमा आश्वस्त तुल्याएको जानकारी दिए । ‘वर्तमान सरकार गठनप्रति केही दलले असन्तुष्टि प्रकट गरेका छन्, ती दलको माग सम्बोधन गर्न वार्ता भइरहेको छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै नेता रिजालले सञ्चारकर्मीसँग भने, ‘त्यसैले चुनावको मिति घोषणा गर्न केही ढिला भएको हो ।’

प्रतिक्रिया