पुस्तकमा कृत्रिम अभाव गराउन मन्त्रालयदेखि नै ‘सेटिङ’

booksकाठमाडौं, ३१ वैशाख । विद्यालय तहको पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्‍याइसक्नुपर्ने बेला जनक शिक्षा सामग्री केन्द्र पुस्तक छपाइमा झन् ढिलाइ गरिरहेको हुन्छ । त्यसमाथि नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बिते पनि २० प्रतिशत विद्यार्थीले पुस्तक पाउन सकेका छैनन् । ‘कमिसनको खेल’मा पुस्तकमा कृत्रिम अभाव गराउनु यसको मुख्य कारण रहेको पाइएको छ ।
स्रोतका अनुसार निजी प्रकाशनगृहले ‘राम्रो कमिसन’ दिने भएकाले जनक शिक्षाले पुस्तकमा कृत्रिम अभाव गराउँछ । यस्तो बेला न केन्द्रीय अनुगमन नै सक्रिय भएको छ न त शिक्षा मन्त्रालय नै । पुस्तकको कृत्रिम अभाव गराउन मन्त्रालयदेखि ‘सेटिङ’ हुने गरेको स्रोतको दाबी छ । शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याइसक्नुपर्ने भए पनि कमिसन खेलमा अन्तिम समयमा पुस्तक अभाव देखाउने गरिएको छ ।
स्थानीय एजेन्टलाई राम्रै कमिसन मिल्ने तथा माथिल्लो सरकारी निकायससम्मै कमिसनको सेटिङ मिलेका कारण पुस्तक अभाव देखाएर निजी प्रकाशनले निर्धक्कसाथ अवैध रूपमा पुस्तक बिक्री गरिरहेका छन् । जनक शिक्षाले ५० लाख थान पुस्तक छाप्न बाँकी रहेको अवस्थामै निजी प्रकाशन भित्रिसकेका थिए । जनश शिक्षाले अब २० लाख थान छाप्न बाँकी छ । छापिसकेका पुस्तक पनि ‘होल्ड’मा छन् । निजीले अवैध रूपमा पुस्तक छपाएर बिक्री गरिरहे पनि सरकारी निकायले ‘केही’ गर्न सकेका छैनन् । निजीले क्षेत्राधिकारबाहिर गएर पुस्तक बिक्री गर्न थालेपछि जनक शिक्षाका पुस्तक थन्किने भएका छन् । अझै २० प्रतिशत विद्यार्थीले पुस्तक पाउन सकेका छैनन् ।
शिक्षा विभागका शैक्षिक महाशाखा प्रमुख राकेश श्रेष्ठ जुन गतिमा पहिले जनक शिक्षाले पुस्तक उपलब्ध गराएको थियो, पछिल्लो समय त्यस्तो नभएको बताउँछन् । ‘जनक शिक्षाको काम हेर्दा वैशाखको पहिलो साताभित्र सबै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने लक्ष्य थियो,’ श्रेष्ठ भन्छन्, ‘तर, पछिल्लो समय एकाएक कम पुस्तक छापियो । त्यसले गर्दा विद्यार्थीको हातमा पुस्तक नपुग्ने भयो । आर्थिक चलखेलले गर्दा त्यसो हुन गएको हो ।’ कमिसनको चलखेलका कारण पुस्तक अभाव देखाइएको उनी स्वीकार गर्छन् ।
पाठ्यपुस्तक केन्द्रीय अनुगमन कार्यदलले पनि जनक शिक्षालाई २ वैशाखमा १५ दिनभित्र पुस्तक विद्यार्थीको हातहातमा पुर्‍याउन निर्देशन दिएको थियो । जनक शिक्षाले उक्त निर्देशनलाई लत्याउँदै पुस्तक विद्यार्थीसम्म पुर्‍याउन सकेको छैन । श्रेष्ठ जनक शिक्षाले पुस्तक छापे पनि अब विद्यार्थीको हातमा पुस्तक नपुग्ने बताउँछन् । ‘निजी प्रकाशनले भकाभक पुस्तक बिक्री गरिरहेका छन्,’ उनी भन्छन्, ‘अनि, जनक शिक्षाले कहिले छाप्ने हो र विद्यार्थीको हातमा पुग्ने हो ?’
जनक शिक्षाले साझालाई १८.२५ प्रतिशत र साझाले एजेन्टलाई ९ प्रतिशत कमिसन दिन्छ । निजीले भने एजेन्टलाई ३५ देखि ४० प्रतिशत कमसिन दिने गरेका छन् । कमिसनको चलखेलका कारण सुदूरपश्चिममा पुस्तक नपुर्‍याइएपछि निजीले धमाधम पुस्तक बेचिरहेका छन् । कैलाली, कञ्चनपुर र काभ्रेमा निजी घुसिसकेका छन् । निर्वाध रूपमा निजीले पुस्तक बिक्री गरिरहे पनि सरकारी निकायबाट अनुगमनसमेत हुन सकेको छैन । विभागले क्षेत्राधिकारभन्दा बाहिर गएर पुस्तक बेचेको पाइए जफत गर्न र बिक्रीमा संलग्न विद्यालय, एजेन्ट र प्रकाशकलाई कारबाही गर्न जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
कैलाली र कञ्चनपुरमा साझा प्रकाशनले बेचेका पुस्तक फिर्तासमेत भएका छन् । दुई जिल्लामा सिद्धबाबा, प्राइम, सुदीप ट्ेरडिङ, मकालु प्रकाशनका पुस्तक बिक्री भइरहेका छन् । निजीलाई पूर्वाञ्चल र पश्चिमाञ्चलमा कक्षा १ देखि ८ कक्षासम्म मात्र पुस्तक बिक्री गर्न खुला गरिएको छ ।
धनगढीस्थित साझा प्रकाशनका क्षेत्रीय प्रमुख धीरेन्द्र खनालले कैलाली र कञ्चनपुरमा निजीले खुलेआम पुस्तक बिक्री गरिरहेको जानकारी दिएका छन् । खनालका अनुसार कैलाली र कञ्चनपुरमा ३५ प्रतिशत मात्र साझाले पुस्तक बेचेको छ । अरू जम्मै निजीले बेचिरहेका छन् । कञ्चनपुरमा बिक्री भएका पुस्तक ५ प्रतिशत फिर्तासमेत भएको उनको भनाइ छ । ‘हामीले पहाडी जिल्लालाई प्राथमिकता दिएर पुस्तक पठाउन थाल्यौँ,’ उनी भन्छन्, ‘तर, यहाँ त निजी प्रकाशनहरूले बेचिरहेका रहेछन् । हामीले बेचेका किताब पनि फिर्ता भए ।’
ती जिल्लामा निजीले हाक्काहाक्की बेचिरहे पनि कारबाही हुन सकेको छैन । दार्चुलामा ७० प्रतिशत र बाजुरा, बझाङ, डोटी, अछाम, बैतडी र डडेलधुरामा २० प्रतिशत पुस्तक पुर्‍याउन बाँकी छ । धनगढी क्षेत्रीय कार्यालयले विद्यार्थीलाई ३७ लाख थान पुर्‍याउने भने पनि २२ लाख मात्र बिक्री गरेको छ । जनक शिक्षाले अब पुस्तक दिए पनि आफूहरूले बिक्री गर्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया