प्रजिअ र प्रहरी नायव उपरीक्षक माथि आक्रमण

Nawalparasiनवलपरासी, ३० वैशाख । नवलपरासी जिल्लामा सडक दुर्घटनाको विषयलाई लिएर वार्तामा बसेका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षक माथि आक्रमण भए पछि प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरवितर बनाएको छ ।
दुर्घटनाको विषयालई लिएर सोमबार विहान पीडित पक्षले प्रतापपुर–४ स्थित बर्दघाट–त्रिबेणी सडकखण्डमा सडक अवरोध गरे पछि वार्ता मार्फत निकास खोज्ने क्रममा ढुङगामुढा भएको थियो । प्रदर्शनकारीको अवरोधका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो ।
इलाका प्रहरी कार्यालय बेलटारीमा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकसमेतको टोलीले पीडित पक्षसँग बार्ता गरिरहेका बेला भिडले अचानक ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई ढुङगामुढा भएपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस फायर गरेको प्रहरी भनाई छ । अश्रुग्याँस प्रहार पछि भिड तितरवितर भएको थियो ।
प्रदर्शनकारीको आक्रमणबाट प्रहरी जवान नेत्रबहादुर भुजेलको बाँया हातको ओलामा चोट लागेको थियो ।
गुठीसूर्यपुरा–५, रत्नगंजस्थित भित्री सडकखण्डमा नम्वर खुल्न नसकेको सवारी साधनले युपी ५६ एच ४७०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा ३० बर्षीय मनोज कोईरीको मृत्यू भएको थियो ।
कोईरीका आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राखेर शव उठाउन दिएका थिएनन् ।
मृत्तकका आफन्तको ढुंगामुढा प्रहारबाट इलाका प्रहरी कार्यालय बेलटारको बा.१ झ ७५३३ नम्वरको गाडीको अगाडी र पछाडीका सिसामा क्षति पगेको छ ।

प्रतिक्रिया