साँघुरोको फराकिलो प्रस्तुति

Sanghuroकाठमाडौं, ३० वैशाख । सेक्सको चाहना महलमा रमाउनेको जति हुन्छ त्यतिकै झुपडीमा बस्नेको पनि हुन्छ । यस विषयमा झुपडीमा रहनेहरू पनि महलमा बस्नेभन्दा कम  संवेदनशील छैनन् । साँघुरो ठाउँमा रहँदैमा मानिस सेक्सका मर्यादाभन्दा बाहिर रहन सक्दैन भन्ने तर्क बोकेर आएको छ, चलचित्र ‘साँघुरो’ । दुई पात्रबीचको भावनात्मक पक्षलाई यसले उजागर गरेको छ । साथै सुकुम्बासी बस्तीभित्र हुने राजनीतिक चरित्र र करुण कथा पनि ।
नेपाली चलचित्रको चलनचल्तिको ट्रेन्डलाई पूर्णरूपमा नकारेको साँघुरोले  सबै दर्शकको मन जित्न सक्ला नसक्ला तर फरक स्वादचाहिँ पक्कै दिनेछ । तीन/चारवटा गीत, हिरो र गुन्डाको फाइट तथा प्रेममा परेका नायक/नायिका रूख वरिपरि नचाएर सकिने कोटिको चलचित्र होइन यो । नेपाली समाजका लागि ‘बोल्ड’ मान्न सकिने विषयवस्तु उठाएर त्यसलाई सुरक्षित अवतरण गराउन सफल छन् निर्देशक जोएस पाण्डे । उनले आफ्नो पहिलो चलचित्रमै राम्रो सम्भावना देखाएका छन् । चलचित्रमार्फत् उनले सेक्स मनोभावलाई जसरी दर्शाएका छन् । त्यसैगरी सामाजिक जटिलतालाई पनि सरल ढंगबाट औँल्याएका छन् ।
चलचित्रको शीर्ष भूमिकामा अभिनय गरेका दिया मास्के (कमला), शुशांक मैनाली (कृष्ण) र दयाहाङ राई (टीका)को वरिपरि घुमेको छ चलचित्रको पुरै कथा । सुकुम्बासी वस्तीमा आमाको साथमा रहँदै आएका कृष्ण हकरको काम गर्दछ । उनको दैनिक काम बिहान अर्काको घरमा पत्रिका पुर्‍याउने हो । पत्रिका पुर्‍याउने क्रममा उसको अर्काको घरमा काम गरेर बसेकी कमलासँग हरेक दिन आँखा जुध्छ । यो क्रम बढ्दै जाँदा उनीहरूबीच मायाको विजारोपण हुन्छ । उनीहरू एकअर्कासँग लुकीछिपी भेट्न थाल्दछन् । यत्तिकैमा कृष्ण घरमा आमासँग विवाहको कुरा गर्छ । सुरुमा विवाहका लागि पैसाका कारणले नकारेकी आमाले एक रातिको कृष्णका यौन सन्तुष्टी प्राप्त गर्ने हर्कतले विवाहका लागि राजी हुन्छिन् । कृष्णले टीकासँग पैसा ऋण लिएर मागी विवाह गर्छ । विवाह पछाडिको सेक्स उनीहरूको जीवनमा सोचे जस्तो सहज हँुदैन ।
जब, विवाह गरेर कमला सुकुम्बासी वस्तीमा भित्रिन्छिन् । घरभित्र उनीले विभिन्न तनावको सामना गर्नुपर्छ । यतिसम्म कि विवाह भएको लामो समयसम्म पनि उनले शारीरिक सम्पर्कको आनन्द भन्दाबाहिर रहनुपर्छ । उनीहरूबीच सेक्स सन्तुष्टीका पहिला चरण भए पनि अन्तिम आनन्दमा विभिन्न अवरोध सिर्जना हुन्छ । समग्रमा यही हो चलचित्र साँघुरोको कथा । विवाह गरेको लामो समयसम्म सेक्स सम्बन्ध राख्न नपाएको मानिस कति हदसम्म जान सक्छ भन्ने अन्ततिर देखाइन्छ ।
चलचित्रको विषयवस्तुलाई नौलो मान्न सकिन्न तापनि पटकथा दमदार छ । नेताको चरित्रमा देखिएका दयाहाङ राई चरित्रमा सुहाएका छन् । उनको अभिनय राम्रो भए पनि उनीप्रतिको दर्शकको चाहना यति मात्र होइन । सेक्स मनोभाव मुख्य विषयका रूपमा उठाए पनि सम्बन्धको मर्यादा र सुकुम्बासीको करुण जीवन कथाले दर्शकसँग भावनात्मक सम्बन्ध जोड्न सफल छन् चलचित्रका लेखक विनोद पौडेल । सेक्सका विषयमा भए पनि दर्शकले अपेक्षा गर्नसक्ने अश्लील अंग प्रदर्शनका दृष्यहरू यसमा छैनन् । यद्यपि, परिवारसँग बसेर निर्धक्क हेर्न मिल्ने खालको चलचित्र पनि होइन यो ।
कमला काम गरेको साहुजीको घर कुर्न जानु, एकै खालका दृश्य पटकपटक दोहोरिनु, टेन्सनको समयमा पटकपटक धूमपानका दृश्य राखिनु,  मन्दिरमा घुम्न गएका कमला/कृष्णलाई पुलिसले लखेट्नु जस्ता निर्देशकीय र कथानक त्रुटिहरू चलचित्रमा छन् । केही साउन्ड मात्र भएका दृश्य अति भल्गर छन् ती दृश्य प्रस्ट्याउन अँध्यारो मात्र भए पुग्थ्यो साउन्डको आवश्यक पर्दैनथ्यो ।
कृष्णको आमाको भूमिकामा देखिएकी अरुणा कार्कीले भूमिकामा न्याय गरेकी छन् । पहिलो चलचित्रमै शुशांकले राम्रो संभावना देखाएका छन् भने दिया भूमिकामा सुहाएकी छन् । रवि गिरीको अभिनय चलचित्रको अर्काे सवल पक्ष हो । कथाअनुसार आउने पत्र आउँछन्/जान्छन् । रात्रि समय खिचिएका दृश्य प्राय: धमिला छन् । यसले छायाँकारको योग्यतामा प्रश्न चिह्न खडा गरेको छ ।
दुई घन्टा केही मिनेटको चलचित्रले मध्यान्तरअगाडि दर्शकलाई जसरी बाँधेर राख्ने काम गरेको छ । मध्यान्तर पछाडि त्यति सवल नभए पनि अधिकांश चलचित्र अत्यमा चुकेको जस्तो यो छैन । आफूलाई राम्रा मेकर दाबी गर्ने, बजेटमै जोड दिने, लोकेसनमा भौँतारिने र लामा–लामा संवादले दर्शक लोभ्याउन खोज्ने निर्माता निर्देशकले यो चलचित्र हेरे कि हेरेनन् कुन्नी । तडकभडक नगरी गतिलो चलचित्र बन्दैन भन्नेका लागि भने यो  गतिलो जवाफ हो ।

प्रतिक्रिया