‘कुचो उत्पादनको तथ्यांक छैन’

kuchoइलाम, ३० वैशाख । यहाँका धेरै किसानले व्यावसायिक रूपमा अम्लिसो खेती गर्छन् । ग्रामीण भेगका अधिकांश किसानको गुजारा कुचोबाटै चलेको छ । यस वर्ष इलाममा कुचोको मूल्य दशककै उच्च रहेकाले धेरै किसानलाई फाइदा भयो । तर, जिल्लामा कति किसानले कुचोको व्यावसायिक खेती गर्छन् र कति कुचो उत्पादन हुन्छ भन्ने तथ्यांक इलामका कुनै पनि निकायमा छैन ।
करिब पाँच हजार एक सय ८१ हेक्टर क्षेत्रफलमा अम्लिसो लगाइएको जिल्ला पशुसेवा कार्यालयले उपलब्ध गराए पनि कुचो उत्पादनको तथ्यांक भने कार्यालयमा छैन । घाँसका लागि मात्र आफूहरूले तथ्यांक संकलन गर्ने गरेको पशुसेवा कार्यालयका पशुचिकित्सक डा. कुमारसिंह खत्रीले बताए । ‘कुचो उत्पादनको तथ्यांक निकाल्दा विभागले हाम्रो काम होइन, भनेपछि तथ्यांक लिन छाडेको हौँ,’ खत्रीले भने, ‘कुचो उत्पादन भएपछि घाँस उत्पादन भएन भन्ने अर्थ हुन्छ ।’
दुई वर्षअघि पशुसेवा कार्यालयले लिएको तथ्यांकअनुसार जिल्लामा ६७ हजार तीन सय ६० मेट्रिकटन कुचो उत्पादन भएको थियो । त्यसयता अम्लिसो खेतीको विस्तार भए पनि यसको तथ्यांक संकलन गर्ने निकायकै टुंगो छैन । कृषिजन्य उत्पादनको तथ्यांक लिने जिल्ला कृषि विकास कार्यालयले यसअघि समेत कुचो उत्पादनको तथ्यांक लिएको छैन । कृषि विकास कार्यालयकी प्रमुख सावित्री बरालले पशुसेवा कार्यालयले कुचो उत्पादनको तथ्यांक लिनुपर्ने बताइन् । अम्लिसो वन पैदवारजन्य वस्तु भए पनि जिल्ला वन कार्यालयमा पनि कुचो उत्पादनको तथ्यांक छैन ।
दुई वर्षअघिकै तथ्यांकका आधारमा पनि इलाममा यो वर्ष चार अर्ब ४१ करोड ६० हजार रुपियाँ आम्दानी भएको छ । जिल्लामा अलैँची खेती मासिएपछि अधिकतर कृषकले अम्लिसो रोपेका छन् । गाउँ–गाउँमा अम्लिसोको विस्तार हुँदै गएकाले कुचो उत्पादनसमेत बढ्दै गएको इलाम पञ्चकन्या–७ का भीम राईले बताए ।
जिल्लाका अधिकांश गाविस र नगरपालिकामा पनि कुचोको व्यावसायिक उत्पादन हुन्छ । यसपटक सिजनको सुरुमा ५० रुपियाँ प्रतिकिलोका दरले किनबेच भएको कुचोको मूल्य अन्त्यमा ८५ रुपियाँ प्रतिकिलोसम्म किनबेच भएको थियो । यो मूल्य दशकयताकै बढी हो । पछिल्लो समया वर्षेनी कुचोको मूल्य बढ्दै गएकाले किसानले घरखेत मासेरै पनि अम्लिसो रोप्ने गरेका छन् । पाखोरेखो जमिनमा फस्टाउने, उत्पादनका लागि मेहनत र खर्च दुवै कम लाग्ने बहुउपयोगी भएकाले पनि यो खेतीमा किसानको आकर्षण बढ्न थालेको हो । आजकल कुचो किन्न व्यापारी किसानका घरघरमै जाने गेरेकाले पनि किसानलाई सहज भएको छ ।
जिल्लाको बिब्ल्याँटे, फिक्कल, तिनघरे, मंगलबारे, गजुरमुखी, कटुसे, चतुरे, माङ्मालुङलगायत बजारमा कुचोको अत्यधिक किनबेच हुने गर्छ । कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा संकलन भएपछि काँकडभिठ्ठा हँुदै भारतका विभिन्न बजारमा निकासी हुने गरेको छ ।
जिल्लामा एकै व्यक्तिले दुई सय मनसम्म कुचो बनाउने गरेका छन् । अम्लिसोको पात घाँस, डाँठ दाउराका रूपमा प्रयोग हुने र फूल राम्रो मूल्यमा बिक्री हुने गर्छ । ‘३३ रोपनी जमिनमा लगाएको अम्लिसोबाट घरायसी सबै खर्च पुग्ने गरेको छ,’ यो पटक ४० मन कुचो बिक्री गरेका सुम्बेकका ओबिन्द्र याख्खाले भने, ‘घमाइलो र पाखाबारी भएकाले कुनै वर्ष ८० मनसम्म उत्पादन हुने गरेको छ ।’ जिल्लाका इरौटार, जिर्मले, नामसालिङ, इभाङ, साकफारा, सुम्बेक, सुलुबुङ, सोयाङलगायत गाविसमा कुचो बढी उत्पादन हुन्छ ।

प्रतिक्रिया