बेलायतमा ज्वजलपा

Ganesh-Bdr-Shresthaपढाइमा निकै कमजोर थिएँ सानैदेखि । सही उत्तर दिन नसक्दा गुरुको पिटाइ त  कति खाएँ–खाएँ । जति पढे नि दिमागमा पटक्कै नछिर्ने । यी मास्टरको कुटाइ मात्रै खाएर कति बस्नु † छोडिदिएँ पढ्न । मामा दिल्लीमा बस्नुहुन्थ्यो । उहाँको साथ लागेर म पनि त्यतै हानिएँ । बाह्र चौध वर्षको फुच्चे न थिएँ । भनेजस्तो काम कहाँबाट पाउनु ? होटलमा भाँडा माझ्न थालेँ । उमेर र अनुभव सुहाउँदो काम त्यही थियो । भाँडा माझ्दा कैयौँपटक गिलास फुटाएर साहुको पिटाइ खाएँ । सामान्य थिए यस्ता कुरा ।
दिल्लीमा सुरुमा ‘लगुना’ रेस्टुरेन्टमा काम गरेँ । त्यो पाँचतारे रेस्टुरेन्टमा करिब सात वर्ष बिताएँ । काम जानेँ, भाषा पनि जानेँ । मान्छेसँग बोल्न सिकेँ । तर, नेपालीलाई त्यहाँ सजिलो थिएन । साह्रै हेप्थे । कहिलेकाहीँ त लाग्थ्यो– यस्तो हेपाइ सहेर के भाँडा माझेर बस्नु † मरीमरी काम गर्नु छ, उल्टै हप्की पनि खानुपर्ने । होटलमै भए पनि अलि राम्रो काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।
भारतमा भाँडा माझेर बस्नुभन्दा आफ्नै देशको होटलमा काम गर्ने सोच बनाएँ । यहाँ फर्किएर भनसुन र चिनजानका आधारमा पाँचतारे होटल सोल्टीमा छिरेँ, सन् १९६७ मा । मैले काम सुरु गर्दा तत्कालीन राजा वीरेन्द्रको बिहे भयो । अनि, बिहेको पार्टी सोल्टीमै आयोजना भएको थियो । करिब हप्तादिन चल्यो पार्टी । देशविदेशबाट आएका पाहुनालाई चौरासी व्यञ्जन पकाएर खुवायौँ । एकातिर राजाको पार्टी, त्यसमाथि होटलले पनि आफ्नो पाँचतारे सान कायम राख्नै पर्‍यो । चानचुने हुने त कुरै थिएन । हामीलाई भ्याइनभ्याइ हुन्थ्यो । कतै केही बिग्रेला कि भनेर अति सचेत भएर काम गथ्र्यौं ।
पाँच वर्ष काम गरेँ सोल्टीमा । त्यही अवधिमा नेपालका केही विशिष्ट व्यक्तिसँग चिनजान बन्यो । पशुपतिसमशेर जबरासँग परिचय भयो । उनैसँग परिचित एक व्यक्तिले बेलायतको चर्चित होटल ‘सिमलापिङ’ मा नेपालबाट केही सेफ लैजान लागेको थाहा पाएँ । मैले पनि पशुपतिसमशेरसँग अनुरोध गरेर त्यो अवसर पाएँ । भाग्य नै भन्नुपर्छ, म पनि बेलायत पुगेँ । सन् १९७२ देखि त्यहाँ बसेर विश्वका चर्चित व्यक्तित्वहरूलाई खाना पकाएर खुवाएँ । मानसम्मान र दाम दुवै कमाएँ । सोल्टीमा पनि सुरुमा भाँडा माझेरै छिरेको हुँ । अरूका जुठा भाँडामा आफ्नो भविष्य खोज्दै हिँडेँ । मेहनत गरेर सेफ भएँ ।
सिमलापिङमा काम सुरु गर्दा दश पाउन्ड तलब थियो । हुन त उतिबेला सात समुद्रपारि आएर काम गर्न पाएकोमै खुसी थिएँ । युरोपमा काम हेरेर मान्छेको हैसियतको मूल्यांकन गरिँदैन । काम सानो–ठूलो भन्ने नै छैन । सबै कामलाई समान दृष्टिले हेरिन्छ । त्यसैले मैले त्यहाँ भारतमा जस्तो कसैको हेपाइ सहनुपरेन । त्यो होटल विश्वचर्चितमध्ये पर्छ । बेलायतमा हुने अन्तर्राष्ट्रिय कार्यक्रमका लागि त्यहीँको खाना लगिन्थ्यो । विश्वका विशिष्ट व्यक्तित्वहरू पनि त्यहीँको खाना खान्थे । मलाई अझै याद छ ।
सन् १९९८ मा बेलायतमा भएको जीआठ शिखर सम्मेलनमा पनि सिमलापिङले नै खाना उपलब्ध गराएको थियो । सो क्रममा मैले तत्कालीन बेलायती प्रम टोनी ब्लेयर, अमेरिकी तत्कालीन राष्ट्रपति बिल क्लिन्टन अनि जापानी प्रम हासिमोतोलगायतलाई खाना खुवाउने मौका पाएँ । मलाई निकै गौरव लाग्यो । जापानी प्रम हासिमोतोका सहयोगीले म नेपाली सेफ भन्ने थाहा पाएपछि आएर गफ गरे । ‘तिमी हाम्रो प्रधानमन्त्रीलाई खाना खुवाउँछौ’ भन्दै नेपालबारे जानेका कुरा सुनाए । म त दंगै परेँ । त्यसलाई आफ्नो सौभाग्य ठानेँ । यति सम्पन्न अनि शक्तिशाली देशका प्रमलाई खाना बनाएर खुवाउने अवसर सबैले कहाँ पाउँछन् र ? खाना कस्तो मान्लान् भन्ने उत्सुकता थियो मलाई । खाइसकेपछि उनले खुसी मानेछन् ।
सन् १९९८ मै हो, सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला राख्ने एडमन्ड हिलारीलाई पनि खाना खुवाएँ । म नेपाली भन्ने थाहा पाएपछि उनी निकै खुसी भए । भने, ‘तिम्रो देशमा रहेको सगरमाथा पहिलोचोटि चढ्ने मै हुँ ।’ सगरमाथामा खिचिएको तस्बिर देखाउँदै हात मिलाए, अनुभव सुनाए । नेपालको प्रशंसा गरे । विदेशी भूमिमा मलाई आफ्नो देशप्रति गौरवानुभूति भयो । सगरमाथाको देशमा जन्मन पाएकोमा शिर ठाडो भयो । एकचोटि भारतीय सिनेस्टार अमिताभ बच्चनलाई पनि मैले खाना खुवाएँ ।
मान्छेले इमानदारीसाथ मेहनत गर्ने हो भने जहाँ पनि सजिलैसँग बाँच्न सक्छ । काममा ठूलो–सानो भन्न थालियो भने सिधै पछि परिन्छ । मैले तीनवटा देशमा भाँडा माझे, खाना पकाएँ । आज सानले बेलायतमा होटल चलाएर बसेको छु । हिजो दिल्लीमा बितेका दिनहरूसँग मलाई कुनै पछुतो छैन । कैयौँ ठाउँमा हेपिएँ, कत्तिले हप्काए, दु:ख धेरै गरियो । सामान्य नेपाली संघर्षले बाँचेको मान्छे म । तर, मेहनतका कारण पाएका राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानले ती सबै दु:ख एकैचोटि बिर्साइदिन्छन् । जे गरेछु, राम्रै गरेछु । युकेमा नेपाली सेफलाई राम्रो व्यवहार गर्छन् । उनीहरूका नजरमा नेपाली मेहनती र इमानदार हुन्छन् भन्ने धारणा हिजो थियो, आज पनि छ । पुर्खाले स्थापना गरेको वीर गोर्खालीको इमानदारी र बहादुरीको विरासतको लाभ आज हामी उठाइरहेका छौँ ।
युकेमा काम गर्न दुई वर्षका लागि छनोट भएको थिएँ । छनोट हुनासाथ एउटा कुराले मन खुसी थियो– अब भाँडाचाहिँ माझ्नुपर्दैन । पकाउने मात्रै हो । कमाइ राम्रो होला, जहान–परिवारलाई सुख दिन सकुँला भन्ने आत्मविश्वास पलायो । दुई वर्ष बितेपछि त्यहाँको वातावरणले काम गर्न थप प्रेरित गर्‍यो । समय थप्दै काम गर्दै गएँ । विस्तारै परिवार पनि उतै लगेँ । परिवारकै सल्लाहमा आफ्नै होटल खोलेँ । अन्तर्राष्ट्रिय कुक प्रतियोगितामा प्रथम भएर ‘इगोरोनिक’ अवार्ड पाएँ । त्यो अन्तर्राष्ट्रिय स्तरको सम्मान हो । जो कोहीले चाहेर पनि पाउँदैन । जति सम्मान पाउँथेँ, जिम्मेवारी थप बढेको अनुभूति हुन्थ्यो । यो पुरस्कार पाएपछि लन्डनका व्यापारीहरू मलाई भेट्न आएका थिए ।
स्कुलमा मास्टरको कुटाइ सहन नसकी पढाइ छाडेर हिँडेको मैले युकेमा दैनिक बाह्र घन्टासम्म काम गरेँ । छोरीले त्यहीँका नागरिकसँग बिहे गरिन् । अहिले छोरीज्वाइँले धेरै सहयोग गरेका छन् । सानोमा उनीहरूको भविष्य बनाउन दु:ख गरेँ, आज उनीहरूले मेरो सबै काम सम्हालिदिएका छन् । सुरुमा जुठा भाँडा माझ्दा म कुनै दिन बेलायत पुगौँला, रेस्टुरेन्ट चलाउँला भन्ने एकरत्ति पनि लागेको थिएन । मेरो रेस्टुरेन्टमा विदेशी खेलाडीहरू खान आउँछन् । खास गरी अस्ट्रेलियन खेलाडी । चटामरी, मम, छोयला, आलुको अचार, चिकन करीजस्ता खाना बनाएर खुवाउँछु विदेशीलाई । उनीहरूलाई नेपाली खाना मनपर्छ । लन्डनबाट १२५ माइल टाढा ब्रनिगाममा रहेको मेरो रेस्टुरेन्ट त्यहाँका आठ सय रेस्टुरेन्टमध्ये ५५औँ स्थानमा पर्छ । सात वर्ष भो अहिले, चलिरहेकै छ । नाम पनि नेपाली राखेका छौँ– ज्वजलपा । नेवारी भाषामा यसको अर्थ हुन्छ, नमस्ते । छोरीले छानेकी हुन् यो नाम । छोराछोरी, श्रीमती सबैले रेस्टुरेन्टमा सघाउँछन् । चाडबाडको समयमा नेपाल निकै मिस गरिन्छ । त्यहीँका नेपाली मिलेर मनाउँछौँ ।
एकपटक जेनेभा घुम्न गएको थिएँ । होटलमा खाना खाएर हिँड्ने बेलामा आफ्नो कार्ड दिएँ । मेरो कार्ड हेरेपछि होटलको मान्छेले मलाई चिनेछ । बोलाएर ‘सर, अरू के सेवा गरौँ’ भनेर विशेष रेस्पोन्स गर्न थाल्यो । जे होस् केही न केही पहिचान बनेछ भनेर खुसी लाग्यो । भारतबाट मेरो होटलयात्रा सुरु भयो । आज बेलायतस्थित मेरो रेस्टुरेन्टमा दुई भारतीय कामदार अनि दुई दर्जन नेपालीले काम गर्छन् ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया