आठ कैदी भागे

रोल्पा :  जिल्ला कारागार रोल्पाबाट शनिबार राति १२ बजे सुरुङ खनेर आठ जना कैदी फरार भएका छन् । कारागारको पश्चिमतिरको भागबाट सुरुङ खनेर उनीहरू भागेका हुन् ।  भाग्ने कैदीमा अर्जुन सेन, ध्रुव डाँगी, चम्फे बि.क., वसन्त रोका, राजु थापा, कृष्ण वली, राजबहादुर वली र दीपक पुन रहेको प्रहरीले बताएको छ । फरार कैदीमध्ये तीन कैदी र पाँच जना थुनुवा रहेको प्रहरीको भनाइ छ । उनीहरूमध्ये चार डाँकाचोरी, तीन जबरजस्ती करणी र एक गैँडा खाग तस्करी गरेको अभियोगमा सजाय भोगिररहेका थिए ।
क्षमताभन्दा बढी कैदी राखिएको सो कारागारको भवन जीर्ण अवस्थामा रहेको छ । ३५ पुरुष र १५ जना महिला गरी जम्मा ५० जनाको क्षमता रहेको कारागारमा ७८ जना पुरुष र चार जना महिला गरी जम्मा ८२ जना कैदी तथा थुनुवालाई राखिएको थियो । कारागार सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक वसन्त बस्नेतको नेतृत्वमा १९ जना प्रहरी टोली खटाइएको थियो ।

प्रतिक्रिया