‘प्रतिगमनको खतरा छैन’

mahanthनेपालगन्ज, ३० वैशाख । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले निर्वाचन प्रक्रियाको विपक्षमा उभिएका दलहरूका जायज माग सम्बोधन गरेर दोस्रो संविधानसभाको निर्वाचन गराइने बताएका छन् । मधेसी पत्रकार समाज, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्वाचनका लागि सरकारले आवश्यक प्रक्रिया सुरु गर्नु अत्यन्त सुखद पक्ष हो, अब विमतिमा रहेका दललाई सहमतिमा ल्याएर सरकारले निर्वाचनको मिति चाँडै घोषणा गर्नुपर्छ ।’
उनले मुलुकको संक्रमणकाल अन्त्यका लागि निर्वाचन अपरिहार्य भएको चर्चा गर्दै निर्वाचनअघि संविधान निर्माणका सैद्धान्तिक पक्षमा सहमति नभए पनि संविधानसभाले त्यसको टुंगो लगाउनेछ भने । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले नेपालको राजनीतिमा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप नरहेको स्पष्ट पार्दै चीन र भारत दुई ठूला छिमेकी देशले मुलुकको राजनीतिमा चासो राख्नुलाई हस्तक्षेप मान्न नहुने धारणा राखे । आफ्नो दल अहिले पनि एक मधेस स्वायत्त प्रदेशको पक्षमा रहेको बताउँदै उनले भने– ‘यदि दलहरूबीच सहमति हुन्छ भने तराईमा दुई प्रदेश पनि हुन सक्छ ।’ अध्यक्ष ठाकुरको थप भनाइ थियो, ‘अरूले भनेको जस्तो मुलुकमा प्रतिगमनको कुनै खतरा छैन । जनताका लागि राजनीति गर्ने दलले जनतालाई त्रसित पार्ने र भ्रममा राख्ने काम गर्नु हँुदैन ।’
त्यसैगरी, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले माओवादीले संघीयता नचाहेको आरोप लगाएका छन् । माआवादी विचारधारामा संघीयता हुन नसक्ने जिकिर गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
संंसदीय क्षेत्र नं ३ तुल्सियाही जब्दीमा आयोजित गाउँ स्तरीय कार्यकर्ता भेलाको सम्बोधन गर्दै उनले यस्तो बताए । उनले माओवादी संघीयताको कुरा चलाएर भित्रभित्र एकात्मक शासन व्यवस्थामा लाग्दै आएकाले संविधान निर्माण हुन नसकेको स्पष्ट पारे । ‘राज्य पुन:संरचनाका कुरामा राजनीतिक दलहरूबीच आपसी सहमति भई भोलिपल्ट हस्ताक्षर गर्ने कुरा मात्र रहेकोलाई उल्टाएर संविधानसभाको निर्वाचन मिति तत्कालीन प्रम बाबुराम भट्टराईले घोषणा गर्न पुगेकोबाट पनि यो स्पष्ट हुन्छ’ निधिले भने ।
उनले संविधान निर्माण नभएसम्म नेपाली जनता देशको मालिक नहुने बताउँदै अगामी मंसिरमा हुने संविधानसभाको निर्वाचन भएपछि बन्ने संविधानबाट मात्र नेपाली जनता मालिक हुनेछन् भने । उनले देशमा संघीयता कायम गर्नका लागि अगामी चुनावबाट नेपाली कांग्रेसलाई बहुमतबाट जिताउन आग्रह गरे ।  समारोहमा केन्द्रीय सदस्य मिनाक्षी झा, जिल्ला सभापति रामसरोज यादव, मोलाना शेखलगायतले दोस्रो संविधानसभाको निर्वाचनमा नेकालाई मत दिई विजयी बनाउन आह्वान गरे ।

प्रतिक्रिया