शैलेन्द्र स्मृतिग्रन्थ प्रकाशित हुने

काठमाडौं, २९ वैशाख । पूर्वपरराष्ट्रमन्त्री तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ शैलेन्द्रकुमार उपाध्यायको स्मृतिमा अफ्रो एसिया जनएकता संगठनले स्मृतिग्रन्थ प्रकाशन गर्ने भएको छ । उपाध्यायको दोस्रो स्मृति दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित श्रद्धाञ्जली सभामा संगठनका अध्यक्ष केपी शर्मा ओलीले सो जानकारी दिएका हुन् ।
स्मृतिग्रन्थ प्रकाशनका लागि उपाध्यायका भाइ तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति महेश उपाध्यायको संयोजकत्वमा स्मृतिग्रन्थ प्रकाशन समिति गठन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका उपाध्याय नेपालको परराष्ट्रविद्का रूपमा चिनिन्थे ।
उनी पञ्चायतकालमा परराष्ट्रमन्त्रीसमेत भएका थिए । दुई वर्षअघि सगरमाथा आरोहणका क्रममा ८४ वर्षको उमेरमा उनको निधन भएको थियो । श्रद्धाञ्जली समारोहमा संगठनका अध्यक्ष तथा एमाले नेता ओलीले उमेर पुगेर पनि बूढो नहुने चरित्र र गतिशील अध्ययन क्षमताका कारण उपाध्यायलाई सम्झिइरहनु पर्ने बताए ।
कार्यक्रममा उपाध्यायका भाइ महेश उपाध्याय, अफ्रो एसियाली जनसम्पर्क संगठनका महासचिव शंकर श्रेष्ठ, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलगायतले उपाध्यायको योगदानमाथि चर्चा गरेका थिए ।

प्रतिक्रिया